२५ करोड विदेशी मुद्राका मालिकविरुद्ध रेडकर्नर नोटिस जारी गरिंदै, रकम भारतबाट आएको संकेत

सविन ढकाल
२०८२ बैशाख १५ गते १५:३१ | Apr 28, 2025
२५ करोड विदेशी मुद्राका मालिकविरुद्ध रेडकर्नर नोटिस जारी गरिंदै, रकम भारतबाट आएको संकेत


काठमाडौं। टोखामा ट्रकबाट बरामद २५ करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्राका मालिक भनिएका नारायण पौडेलविरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको छ। राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई रेडकर्नर नोटिस जारी गर्न पत्राचार गरिसकेको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते टोखाबाट ट्रकभित्र लोड गरेर राखेको २५ करोड रुपैयाँ भन्दा बढीको विदेशी मुद्रा बरामद गरेको थियो।

सिन्धुपाल्चोक घर भएका ट्रकका चालक कुसाङ लामालाई नियन्त्रणमा लिइए पनि पौडेल फरार छन्। विभागको टोलीले तीन सातासम्म गरेको अनुसन्धानबाट रकम सिन्धुपाल्चोकका पौडेलको भएको खुलेको थियो।

विभागले जिल्ला अदालत काठमाडौंमा पौडेल र लामाविरुद्ध २५ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेकामा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

लामा यसअघि पनि सुन तस्करीमा ५ वर्ष कारागार बसेर निस्किएका व्यक्ति हुन्। सुनसहित पक्राउ परेका उनलाई २०७४ असार २६ गते जिल्ला अदालत काठमाडौंले चोरी पैठारी मुद्दामा सजाय सुनाएको थियो।

फरार रहेका पौडेलको पासपोर्ट ब्ल्याक लिस्टमा राखिएको छ। उनको सम्पत्ति तथा बैंक खाता यसअघि नै रोक्का गरिएको छ। विभागले जिल्ला अदालतबाट नै म्याद जारी गरी खोजी गरिरहेको छ।

रकम बरामद भएको दिनदेखि नै उनको मोबाइल टोखा क्षेत्रबाट बन्द भएको खुलेको छ। पौडेलसँगै अन्य मानिसको संलग्नताबारे विभागले अनुसन्धान गरिरहेको छ।

राजस्व छलीको अनुसन्धान जारी

विदेशी मुद्रा सम्बन्धी अनुसन्धान गर्न विभागले ३० दिन समय पाउँछ। सीमित समय र संगठितरूपमा जोडिएको अपराध भएकाले यसमा संलग्न अरूको भूमिका खुल्न सकेको छैन।

विभागले अहिले पौडेलमा केन्द्रित भएर राजस्व छली सम्बन्धी अनुसन्धान गरिरहेको छ। जसका लागि ९ महिनाको समय हुनेछ। पौडेल सञ्चालक रहेका दुईवटा फर्ममाथि पनि अनुसन्धान भइरहेको छ।

विदेशी मुद्रा टोखा नगरपालिका-१० मा रहेको सिन्धु मेटेरियल नाम गरेको गोदाममा लोड गरेको देखिएको छ। सिन्धु रङको कारोबार गर्ने गोदाम हो। जसको स्वामित्व पौडेलमा नै रहेको देखिन्छ।

‘अहिलेसम्म दुई वटा फर्म देखिएका छन्। यस्ता व्यक्तिले आफ्नोमा भन्दा अरूको नाममा फर्म दर्ता गरेर कारोबार गरेका हुन्छन्,’ अनुसन्धानमा खटिएका एक कर्मचारीले भने।

अहिलेसम्मको अनुसन्धानमा केरुङबाट रकम पठाएर सुन ल्याउने योजना बनाएको देखिएको छ।

रकम भारतबाट आएको आशंका

नेपाली बैंकहरुमा सर्वसाधारणलाई सटहीका लागि डलर अभाव भइरहेका बेला तस्करसँग २५ करोड रुपैयाँ बराबरका डलर र युरो भेटिएपछि रकम कहाँबाट आयो भन्ने मुख्य चासोको विषय छ। बरामद रकम बैंकिङ च्यानलबाट आएको नदेखिएको नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।

विभागले बुझाएको अभियोग पत्रमा रकम कहाँबाट आयो भन्ने खुलाइएको छैन। तर, विभागले गरेको प्रारम्भिक अनुसन्धानमा रकम भारतबाट स्थलमार्ग हुँदै आएको शंकालाई बल दिने केही प्रमाण भेटिएका छन्। त्यसलाई स्वतन्त्र पुष्टि गर्न सकिएको छैन।

रकम पौडेलको भएको खुलेपछि विभागले उनका गतिविधि अनुसन्धान गरेको थियो। रकम बरामद हुनु केही समय अगाडि उनी पटक पटक भारत गएको देखिएको छ। उनी सुर्खेतमा गएर बसेको पनि विभागको अनुसन्धानमा देखिएको छ।

‘अरू देशसँगै भारतमा आवतजावत राम्रै देखिन्छ। केही संकेत मिलेको हो, त्यसलाई अरू माध्यमबाट पुष्टि गरिँदैछ,’ ती अनुसन्धान अधिकृतले सुनाए।