यती एयरलाइन्स दुई वर्षभित्र क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने योजनामा, विकल्पमा क्यू-४०० जहाज   

बिजमाण्डू
२०८२ बैशाख १५ गते १२:५७ | Apr 28, 2025
यती एयरलाइन्स दुई वर्षभित्र क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने योजनामा, विकल्पमा क्यू-४०० जहाज   


काठमाडौं। यती एयरलाइन्‍सले आउँदो दुई वर्षभित्र क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने योजना अगाडि बढाएको छ। यतीले भारतका कोलकाता, लखनाउ, बोधगया लगायत गन्तव्यमा उडान गर्ने योजना अगाडि बढाएको हो।

Tata
GBIME
NLIC

यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले क्षेत्रीय आइपीओ जारी गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको जानकारी दिए।

‘हामीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति पाइसकेका छौं। केही गन्तव्यमा उडान पनि गरिसकेका छौं,’ अध्यक्ष शेर्पाले बिजमाण्डूसँग भने, ‘अब हामी क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको योजनामा छौं। आइपीओ जारीपछि क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्नेछौं।’

शेर्पाका अनुसार यती एयरलाइन्सलाई असोजभित्र पब्लिक कम्पनीमा लाने तयारी छ। ‘हामी झण्डै ३ दशकदेखि निरन्तर यात्रुको सेवामा छौं। सर्वसाधारणको साथले गर्दा यहाँ आइपुगेका हौं,’ उनले भने, ‘अब सर्वसाधरणलाई जोडेर सेवा विस्तार गर्ने उद्देश्य छ। त्यही कारण आइपीओ जारी गर्ने तयारीमा छौं।’

क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि कम्पनीले जहाज संख्या थप्नेछ। जहाज संख्या १२ वटा पुर्‍याउने कम्पनीको योजना छ।

एटीआर ७२-६०० महँगो भएका कारण कम्पनीले बम्बार्डियरको क्यू-४०० सिरिजको जहाजलाई विकल्पमा राखेको छ। एटीआर ७२-६०० सिरिजको जहाजलाई अहिले करिब पौने २ अर्ब रुपैयाँ पर्छ।

सिट क्षमता र पावरको हिसाबले उत्कृष्ट रहेका कारण कम्पनीले आन्तरिक र क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि टर्बोप्रोपलाई विकल्पमा राखेको शेर्पाले बताए। बम्बार्डियरको क्यू-४०० सिरिजको जहाजमार्फत अहिले श्री एयरलाइन्सले उडान गर्दै आएको छ।

यतीसँग हाल एटीआर ७२-५०० सिरिजका ७ वटा जहाज छन्। तीमध्ये दुई वटा जहाज कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको प्रवेशपछि किनिएका हुन्। कम्पनीमा डेढ वर्षअघि यतीमा ४९ प्रतिशत स्वामित्वसहित एसियन लाइफ इन्स्योरेन्सको प्रवेश भएको थियो।