
विराटनगर। मधेश प्रदेशमा अवैध आयातको समस्या विकराल भइरहेका बेला राजस्व अनुसन्धान कार्यालयले कपडाको गैरकानुनी आयात गर्ने एक व्यवसायीविरुद्ध २१ करोडको मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धानको इटहरीस्थित कार्यालयले सिरहाको लहान बजारमा रहेको श्याम वस्त्रालयका सञ्चालक श्यामप्रसाद गुप्तालाई शतप्रतिशत जरिवानासहित २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ बिगोको मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
कार्यालयले उच्च अदालत जनकपुरको राजविराज इजलासमा व्यवसायी गुप्ताविरूद्ध मुद्दा दायर गरेको छ। राजस्वको टोलीले गुप्ताका पसलमा गत मंसिर २१ मा छापा मारेर खानतलासी गरेको थियो। खानतलासीबाट १० करोड ६८ लाख ५५ हजार ७९५ मूल्य बराबरका कपडा भन्सार छलेर ल्याएका अवैध ठहरिएका थिए।
यस्ता कपडामा तयारी सर्ट, पाइन्ट, टी सर्ट, ज्याकेट, ट्रयाक सुट लगायतका तयारी गार्मेन्ट भएको कार्यालयले जनाएको छ।
कार्यालयले सोही मूल्यबमोजिमको जरिवाना जोडेर २१ करोड ३७ लाखभन्दा बढीको बिगो कायम गरेको प्रमुख उत्तमकुमार घिमिरेले बताए।
प्रमुख घिमिरेका अनुसार मधेस प्रदेशमा अवैध आयातको समस्या ठूलो भएको कार्यालयलाई जानकारी छ र यस क्षेत्रमा गस्तीको निरन्तरता बढाइएको छ। तर गस्तीमा जाने अनुसन्धानका कर्मचारी र सुरक्षाकर्मीलाई सुरक्षा चुनौती पनि उत्तिकै भयावह छ।
कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी विनिमय अपचलनतर्फ २ करोड बिगोका २७ वटा मुद्दा दायर गरेको छ। साथै २१ करोड ३७ लाखको गुप्ताको मुद्दाबाहेक शतप्रतिशत जरिवानासहित ४० करोड बिगोका अन्य ३ मुद्दा पनि दायर गरिएको छ।
प्रमुख घिमिरेले चैत मसान्तसम्ममा भीसीटीएसतर्फको जरिवानाबाट ९३ करोड ४५ लाख असुली भइसकेको जानकारी दिए।