
काठमाडौं । भारतीय मोबाइल सेवा प्रदायकहरुको मोबाइल सिग्नल बुस्ट गरि स्वदेशी मोबाइल सेवा प्रदायक कम्पनीहरुको नेटवर्क गुणस्तरमा बाधा पुर्याउने अवैध रेडियो फ्रिक्वेन्सी सिग्नल (मोबाइल सिग्नल) बुस्टर प्रहरीले जफत गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरण र निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको आदर्शनगरमा हालैमात्र ४ वटा मोबाइल सिग्नल बुस्टर जफत गरेको हो।
नेटवर्क बुस्टरको प्रयोगले नेपालका टेलिकम अपरेटरहरुको नेटवर्क गुणस्तरमा बाधा पुर्याउनुका साथै उनीहरुको आम्दानीसँगै सरकारको राजस्वमा पनि धक्का पुग्छ।
बुस्टरको प्रयोगले भारतसँग जोडिएका नेपालका सीमावर्ती क्षेत्रहरुमा फ्रिक्वेन्सी इन्टरफेरेन्स भएर नेपाली मोबाइल सेवा प्रदायकहरुको भ्वाइस सेवाको गुणस्तर खराब हुनुका साथै डेटाको गति कम भइरहेको छ।
सीमावर्ती क्षेत्रहरुमा विदेशी दूरसञ्चार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग भइरहेको सूचना पाएपछि पर्सा प्रहरीले ती बुस्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यी बुस्टरले भारतीय मोबाइल सेवा प्रदायक एयरटेल, रिलायन्स जिओलगायतका कम्पनीका सिमकार्ड स्थानीयरूपमा सजिलै चलाउन सिग्नल स्ट्रेन्थ बढाउने काम गर्थ्यो।
प्रचलित रेडियो ऐन, २०१४ तथा दूसंचार ऐन, २०५३ अनुसार अनुमति बिना यस्ता उपकरणहरु प्रयोग गर्नु गैरकानुनी हो। प्राधिकरणले गत महिना मात्रै रेडियो फ्रिक्वेन्सी सिग्नल (मोबाइल सिग्नल) बुस्टर तथा एमप्लिफायरको अवैध रुपमा प्रयोग भइरहेको सूचना पाइएको भन्दै त्यस्तो कार्य नगर्न/नगराउन चेतावनी दिएको थियो।
प्राधिकरणका अनुसार नेपालका बारा र पर्सा जिल्लाका केही सीमावर्ती क्षेत्रहरुमा विदेशी दूरसंचार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न सिग्नल स्ट्रेन्थ बढाउने गरि मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग भइरहेको जनाएको छ।


पर्साका सीमावर्ती स्थानहरुमा अझै तीन दर्जन बढी त्यस्ता बुस्टर प्रयोगमा रहेको नेपाली मोबाइल सेवा प्रदायकहरुको आंकलन छ। यस्ता बुस्टरको संचालनले देशभित्रै भारतीय मोबाइल सेवा प्रदायकको सेवा उपलब्ध गराउँछ, जुन कानुन विपरीत हो। प्राधिकरणका साथै प्रहरीकाअनुसार पनि बुस्टरको प्रयोगले शान्ति सुरक्षामा बाधा पुर्याउनुका साथै आपराधिक क्रियाकलापलाई सहयोग पुर्याउने भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ।
अनुमतिबिना कुनै पनि संघ, संस्था वा व्यक्तिले रेडियो फ्रिक्वेन्सी सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गर्नु रेडियो ऐन, २०१४ को दफा ३ तथा दूसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीत हो। नेपाली टेलिकम अपरेटरहरुले मोबाइल टावर राख्न नमिल्ने र ग्राहकहरुको धेरै चहलपहल हुने स्थानहरु जस्तै अस्पताल, मलमा प्राधिकरणको अनुमति बमोजिम यस्ता बुस्टर राख्न मिल्छ।
मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत नियामकले दिँदै आएको छ। अनुमति नलिइ अवैध ढंगले बुस्टर प्रयोग गरे प्राधिकरणले ५ लाखसम्म जरिवाना गर्दै त्यस्तो सेवा बन्द गराउन सक्छ।
त्यसैगरी, रेडियो ऐन, २०१४ ले लाइसेन्स नलिइ रेडियो यन्त्र राख्न, बनाउन र प्रयोग गर्न रोक लगाएको छ। यस्तो कसुर गरेमा नेपाल सरकार वा सरकारले तोकिदिएको अधिकारीले त्यस्तो रेडियो यन्त्र जफत गरि रेडियो यन्त्र राख्ने, बनाउने वा प्रयोग गर्ने व्यक्तिलाई रेडियो यन्त्रको बिगो कायम गरि बिगो बमोजिम जरिवाना गराउन सक्छ।