
काठमाडौं। पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेसले तीन दशकअघि अंगिकार गरेको उदार अर्थनीतिको वकालत गरेका छन्।
पुनले प्रतिनिधि सभाको अर्थ समितिको बुधबार बसेको बैठकमा अबको बजेटमा २०५० को दशकमा अंगिकार गरिएको नीति लिइ निजी क्षेत्रसँग सहकार्य बढाउनुपर्नेमा जोड दिए।
‘अबको बजेटले ५० को दशकमा राज्यले लिएको नीति पकड्नुपर्छ। यसमा निजी क्षेत्रले लिड गर्छ, राज्यले सहजीकरण गर्छ,’ उनले भने, ‘राज्य र निजी क्षेत्रको सहकार्यबिना आर्थिक विकास सम्भव छैन। उद्योग जति सबै निजी क्षेत्रलाई दिऔं।’
पुनले बजेटमा उत्पादन वृद्धि र रोजगारीलाई ध्यान दिइ पर्यटन, ऊर्जा, आईटीजस्ता क्षेत्रलाई प्राथमिकता दिन अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिए।
‘पर्यटन, ऊर्जा, आईटीजस्ता क्षेत्रमा बजेट केन्द्रित गरौँ। यो बजेटमा आईटी दशक घोषणा भएको छ। त्यसमा कुनै स्थानलाई हब बनाएर जाऔँ। उत्पादन वृद्धि र रोजगारीमूलक कार्यक्रममा ध्यान दिऔं,’ उनले भने।