
काठमाडौं। साताको पहिलो दिन फेरि सेयर बजारमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा आएको छ। कारोबार रकम गत साताको अन्तिम दिनका तुलनामा घटेको छ।
उत्पादन तथा प्रशोधन र व्यापार बाहेकका सबै समूहका सूचक घट्दा बजार नबढेको हो। व्यापार १.०२ र उत्पादन तथा प्रशोधन ०.५२ प्रतिशतले बढेको छ।
होटल तथा पर्यटन समूहको सूचक १.३६, फाइनान्स १.२७ र जलविद्युत समूहको सूचक १.२२ प्रतिशतले घटेको छ। १९२ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। हिमालयन पावर पार्टनरको सर्वाधिक ७.३३ र बलेफी हाइड्रोपावरको सेयर मूल्य ७.२७ प्रतिशतले घटेको छ।
५३ कम्पनीको मूल्य बढेको छ भने एउटा कम्पनी इमर्जिङ नेपालको सेयरमूल्य स्थिर रह्यो। दोस्रो बजार कारोबारमा आएयता लगातार बढिरहेको नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा आइतबार पनि सर्किटस्तरको वृद्धि रह्यो। नेपाल माइक्रो प्रति कित्ता ६४७ रुपैयाँ ५० पैसा र क्रेस्टको ५३५ रुपैयाँ ४० पैसा पुगेको छ।
८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक राधि विद्युत कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै, ङादी ग्रुप पावरको ५७ करोड २७ लाख, बलेफी हाइड्रोपावरको ५६ करोड करोड ६७ लाख र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ३८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघि गत बिहीबार २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुग्दा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।