
काठमाडौं । पछिल्लो तीन वर्षमा स्मार्टफोन आयात ३१ प्रतिशतले बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ९ महिनाको तुलनामा चालू वर्ष २०८१/८२ को सोही अवधिमा स्मार्टफोन आयात ३१ प्रतिशतले बढेको हो। यो अवधिमा मूल्यका हिसाबले ३६ प्रतिशतले स्मार्टफोन आयात बढेको छ।
आर्थिक वर्ष २०७९/८० को ९ महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको १२ लाख ११ हजार ७८५ थान स्मार्टफोन आयात भएको थियो। जबकी चालू वर्ष २०८१/८२ को ९ महिनामा २५ अर्ब ३८ करोड रुपैयाँ बराबरको १५ लाख ८४ हजार ९५५ थान स्मार्टफोन आयात भएको छ।

अघिल्लो वर्ष २०८०/८१ को ९ महिनामा भने २१ अर्ब ७५ करोड रुपैयाँ बराबरको १५ लाख ८४ हजार ९५५ थान स्मार्टफोन आयात भएको थियो।
स्मार्टफोन आयातको संख्या बढ्दा सरकारले उठाउने भन्सार महसुल पनि बढी उठेको छ। आर्थिक वर्ष २०७९/८० को ९ महिनामा सरकारले स्मार्टफोन आयातबाट ३ अर्ब ४८ करोड रुपैयाँ भन्सार संकलन गर्दा चालू वर्षको सोही अवधिमा ४ अर्ब ७३ करोड रुपैयाँ संकलन भएको छ।
स्मार्टफोन बजारमा देखिएको मन्दी बढ्दो आयातले पछिल्लो समय मत्थर हुँदै गएको देखिन्छ। उपभोक्तालाई सरल किस्ताबन्दीमा स्मार्टफोन किन्ने सुविधाले व्यापार बढ्न थालेको व्यवसायीले बताउँदै आएका छन्।