
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले कतारलाई भैरहवा र पोखरा विमानस्थलमा उडान गर्न आग्रह गरेका छन्।
उनले कतारको नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक मोहमद विन फलेह अल हजारीसँगको भेटवार्तामा कतार एयरवेजलाई दुई विमानस्थलमा उडानका लागि मनाइदिन आग्रह गरेका हुन्।
अधिकारी र हजारीबीच कतारमा भएको फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा मंगलबार भेटवार्ता भएको थियो।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय हुन सकेको छैन। कतार एयरवेजले भैरहवामा केही समय पहिले एक महिना हप अन हप उडान गरेको थियो।
हजारीले भने कतार एयरवेजको उडान संख्या २८ पुर्याइदिन आग्रह गरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। कतार एयरवेजले दोहाबाट काठमाडौंमा साताको २१ उडान गर्ने अनुमति पाएकामा हाल १४ उडान गर्दै आएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरले चार्टर्ड र हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान गर्दै आएका छन्।