एप्पलले १२ महिनाको अवधिमा भारतमा उत्पादन गर्‍यो २२ अर्ब डलर बराबरको आइफोन

बिजमाण्डू
२०८२ बैशाख १ गते ०९:०३ | Apr 14, 2025
एप्पलले १२ महिनाको अवधिमा भारतमा उत्पादन गर्‍यो २२ अर्ब डलर बराबरको आइफोन
File Photo: AFP


एप्पलले भारतमा १२ महिनाको अवधिमा २२ अर्ब डलर बराबरको आइफोन उत्पादन गरेको छ। यो गत मार्चसम्मको तथ्यांक हो।

Tata
GBIME
NLIC

अघिल्लो वर्षको तुलनामा यो करिब ६० प्रतिशतले वृद्धि हो। यसले चीनमा निर्भरता घटाउँदै भारतमा उत्पादन बढाउने एप्पलको रणनीतिलाई इंगित गर्छ।

क्यालिफोर्नियामा मुख्यालय रहेको कम्पनीले अहिले आफ्नो कुल आइफोन उत्पादनको २० प्रतिशत अर्थात् पाँचमध्ये एउटा आइफोन भारतमा बनाउने गरेको छ। २२ अर्ब डलर खुद्रा मूल्य नभइ उत्पादन मूल्य भएको एप्पल स्रोतले जनाएको छ

एप्पल र यसको आपूर्तिकर्ताहरूले चीनको साटो भारततर्फ ध्यान केन्द्रित गर्दै गएका छन्। कोभिड महामारीको समयमा चीनमा कडा लकडाउन हुँदा एप्पलको सबैभन्दा ठूलो कारखानामा उत्पादन प्रभावित भएको थियो। त्यसपछि कम्पनीले विकल्पको खोजी सुरु गरेको थियो।

भारतमा उत्पादित अधिकांश आइफोनहरू दक्षिण भारतको फक्सकन टेक्नोलोजी ग्रुपको कारखानामा बन्छन्। टाटा ग्रुपको इलेक्ट्रोनिक्स शाखाले विस्ट्रोन कर्पलाई किनेर पेगाट्रोन कर्पको संचालन समेत नियन्त्रणमा लिएको छ। यो पनि एप्पलको प्रमुख आपूर्तिकर्ता हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले करको योजना सार्वजनिक गरेपछि भारतबाट अमेरिकातर्फ आइफोन निर्यातको गति बढेको हो।

ब्लुमबर्ग न्युजका अनुसार एप्पलले अमेरिकी ग्राहकका लागि भारतमा बनाइएका आइफोनलाई प्राथमिकता दिन थालेको छ।

शुक्रबार साँझ ट्रम्प प्रशासनले स्मार्टफोन र कम्प्युटरजस्ता इलेक्ट्रोनिक वस्तुहरूलाई नयाँ करबाट छुट दिएको छ। एप्पल र एनभिडियाजस्ता कम्पनीका लागि यो सकारात्मक खबर रह्यो।

तर, चीनमाथि लगाइएको २० प्रतिशत अतिरिक्त शुल्क भने कायमै छ। यसको उद्देश्य फेन्टानिल नियन्त्रणमा चीनलाई दबाब दिनु रहेको अमेरिकाको तर्क छ।

यसको अर्थ भारतमा बनेका आइफोनहरूमा हाललाई कुनै अतिरिक्त शुल्क लाग्ने छैन। तर, चीनमाथि लगाइएका कर हाल १४५ प्रतिशत पुगेको छ। यसले एप्पलजस्ता कम्पनीलाई आपूर्ति श्रृंखला अन्य देशतर्फ सार्न थप दबाब दिएको छ।

एप्पलसँग झन्डै २०० आपूर्तिकर्ताहरू छन्। यद्यपि, चीनमा गहिरो निर्भरता रहेको छ। त्यसैले अन्य देशतर्फ उत्पादन सार्न वर्षौं लाग्न सक्छ।

ट्रम्पको चाहना भए पनि एप्पलले निकट भविष्यमै अमेरिकाभित्र उत्पादन केन्द्र सार्ने सम्भावना छैन। अमेरिकाभित्र आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको अभाव छ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले चीनमा अत्यन्त दक्ष जनशक्तिका कारण त्यहाँ उत्पादन सजिलो भएको बताउँदै आएका छन्। ब्लुमबर्ग इन्टेलिजेन्सले सन् २०२२ मा एप्पलले चीनबाट जम्मा १० प्रतिशत उत्पादन क्षमता सार्न पनि ८ वर्ष लाग्ने अनुमान गरेको थियो।

हाल एप्पलले सबै किसिमका आइफोन र महँगो टाइटेनियम प्रो मोडेलसमेत भारतमै बनाउँदै आएको छ।