ट्रम्पको व्यापार युद्धले एशियाली सेयर बजारमा भूकम्प, जापानको निक्केई ८% भन्दा बढीले घट्यो

बिजमाण्डू
२०८१ चैत्र २५ गते ०७:५३ | Apr 7, 2025
ट्रम्पको व्यापार युद्धले एशियाली सेयर बजारमा भूकम्प, जापानको निक्केई ८% भन्दा बढीले घट्यो
तस्बिर : एपी।


सोमबार एशियाली सेयर बजारहरूमा पहिरो गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सुरु गरेको विश्वव्यापी आर्थिक अस्थिरता विश्वभरका सेयर बजारहरूमा देखिएको हो।

Tata
GBIME
NLIC

जापानको प्रमुख सेयर सूचक निक्केई सोमबार बिहान बजार खुल्नासाथ ८ प्रतिशतभन्दा बढीले घटेको सीएनएनले उल्लेख गरेको छ। यो सूचकले जापानका सबैभन्दा मूल्यवान २२५ कम्पनीहरूको कारोबारलाई ट्र्याक गर्छ।

निक्केई घटेर अगस्ट २०२४ यताकै पहिलो पटक ३३ हजार अंकभन्दा तल झरेको छ। रोयटर्सका अनुसार टोपिक्स नामक अर्को व्यापक सूचक पनि ७.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको थियो। यद्यपि, त्यसपछि केही हदसम्म पुन: माथि उक्लिएको थियो।

जापानी प्रधानमन्त्री शिगेरु इसिबाले सोमबार संसद्‍मा सम्बोधन गर्दै ट्रम्प प्रशासनसँग जापानमाथि लगाइएको भन्सार घटाउन आग्रह जारी राख्ने बताए।

उनले भने, ‘नतिजा तुरुन्त देखिने छैन। त्यसैले सरकारले आर्थिक प्रभाव कम गर्न सबै उपायहरू अपनाउनेछ।’

करको असर कम गर्न सरकारले घरेलु कम्पनीहरूलाई वित्तीय सहयोग दिने र रोजगारी जोगाउने कदम चाल्ने उनले स्पष्ट पारे। गत बुधबार ट्रम्पले जापानमाथि २४ प्रतिशत कर लगाउने घोषणा गरे, जुन केही दिनभित्रै लागू हुँदैछ।

जापान अमेरिकासँग रक्षात्मक सन्धि भएका मुलुकहरूमध्ये एक हो। तर, यस्तो सन्धिबीचमै लगाइएको करले सम्बन्धलाई थप तनावग्रस्त बनाएको देखिन्छ।

एशियाली बजारहरू अहिले विगत पाँच वर्षमा वाल स्ट्रिटमा देखिएको सबैभन्दा खराब दुई-दिने कारोबारको साक्षी बनेका छन्। आइतबार बेलुकादेखि अमेरिकी सेयरहरू एक्कासी ओरालो लागेका थिए। दुई दिनको कारोबारमा मात्रै ५.४ ट्रिलियन अमेरिकी डलर बराबरको बजार मूल्य गुमेको छ।

ट्रम्पले लागू गरेको ठूलो भन्सार कर नीतिले विश्वभरिका लगानीकर्ताहरू निराश भएका छन्। शनिबार बिहान केही करहरू लागू भइसकेका छन् भने बुधबारदेखि अझै ठूलो मात्रामा कर लागू हुने तयारीमा छ।

चीनले पनि शुक्रबार प्रतिउत्तरमा अमेरिकामा उत्पादित सम्पूर्ण सामानमा ३४ प्रतिशतको भन्सार कर लगाएको छ। यसले व्यापार युद्ध झन् चर्किने डर बढाएको छ।

ट्रम्पले आइतबार बेलुका एयर फोर्स वनमा पत्रकारहरूसँग बजार ध्वस्त पार्ने नियत नभएको बताए।

उनले भने, ‘बजारमा के हुनेछ म भन्न सक्दिनँ। तर म यति भन्न सक्छु कि हाम्रो देश अझै बलियो बनेको छ, र एक दिन यो अरु भन्दा अझै बलियो बन्नेछ।’

अमेरिकी सेयर बजार सोमबार खुलेपछि तीव्र गिरावटमा जान सक्ने अनुमान गरिएको छ। यसले एसएन्डपी ५०० सूचकलाई ‘बियर मार्केट’मा लैजानै निश्चित छ।

‘बियर मार्केट’ त्यो अवस्था हो, जब बजार २० प्रतिशतले ओरालो लाग्छ। यस्तो अवस्था लगानीकर्ताहरूका लागि चिन्ताजनक संकेत हो।

दक्षिण कोरियाको कोस्पी पनि सोमबार बिहान ४.८ प्रतिशतभन्दा बढीले घटेर ‘सर्किट ब्रेक’ लागेपछि ५ मिनेटका लागि कारोबार रोकिएको थियो। बजारमा एकैपटक ‘प्यानिक सेलिङ’ नहोस् भनेर ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ।

त्यस्तै, ताइवानको ताइएक्स सूचक पनि ९.७ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। टीएसएमसी र फक्सकोनजस्ता प्रमुख निर्यात कम्पनीहरूको सेयर मूल्य एकैपटक करिब १० प्रतिशतले तल झरेपछि ती कम्पनीहरूमाथि पनि सर्किट ब्रेक लागेको छ।

अस्ट्रेलियाको एएसएक्स २०० सूचक बिहानको कारोबारमा ६.३ प्रतिशतले ओरालो लाग्यो। यता, न्युजिल्यान्डको एनजेडएक्स ५० सूचक पनि ३.५ प्रतिशतभन्दा बढीले तल झरेको छ।