
कामाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरस एशोसिएसन (नाइमा) बीच दुवै संस्थाको अस्तित्व स्वीकार्नेबारे सहमति भएको छ।
नाडाबाट टुक्रिएर नाइमा बनेको सन्दर्भमा दुवै संस्थाका अध्यक्षले संयुक्त विज्ञप्ति निकाल्दै दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बन्ने बताएका हुन्।
दुवै संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।
नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले जारी गरेको विज्ञप्तिमा अटो व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्यका साथै समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा दुवै संस्था प्रतिबद्ध रहने उल्लेख छ।
विज्ञप्तिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल,अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था भएको उल्लेख गर्दै नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

नयाँ गठन भएको नाइमा मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था रहेको र त्यसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व रहेको जनाइएको छ।
दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवै संघको भाग बन्ने छनौट गर्न सक्ने उल्लेख गरिएको छ।।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ दुवै संस्था अग्रसर हुने जनाइएको छ। ।
नाइमाको शुभारम्भ वैशाख ४ गते देखि औपचारिक रुपमा हुने र सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू पनि सार्वजनिक गर्ने जनाइएको छ।