
काठमाडौं। अमेरिकास्थित हेडअफिसले नेपालमा खुल्न लागेको तारे होटल र्याडिसनका लागि खटाउँदा समीर थापाले स्विट्जरल्याण्डबाट होटल म्यानेजमेन्टमा मास्टर्स सकिसकेका थिए। सन् १९९७ मा होटल म्यानेजमेन्टमा मास्टर्स गर्ने पहिलो नेपालीका रुपमा यता फर्किएका उनले त्यसयता आफ्नो खातामा धेरै ‘पहिलो’ उपलब्धीहरु दर्ज गरिसकेका छन्।
‘नेपालकै पहिलो’ फ्रेन्च रेष्टुरेन्टमा बसेर गफिइरहँदा समीर त्यस्ता उपलब्धीहरु हामीसँग सेयर गर्न संकोच मानिरहेका थिए, किनकी चुपचाप काममा रमाउने उनको स्वभाव हो।
‘१० वर्षपछि म कसैसँग यसरी बोलिरहेको छु!’- उनको बोलीमा अचम्मको मिठास र नरमपन थियो। हस्पिटालिटी पढेका र यही क्षेत्रमा उद्यम थालेर जमेका हुन् नि त समीर। यो लवज, मिजास र मृदुपन त्यही क्षेत्रको देन हो भनिरहनै नपर्ने गरीको व्यक्तित्व छ उनको।

तीन दशकदेखि हस्पिटालिटीसँग जोडिएका समीर निजी तवरबाट विदेशी सम्बन्धन लिएर खोलिएको ‘पहिलो’ होटलका संस्थापक हुन्। लैनचौरमा उनले स्थापना गरेको सिल्भर माउन्टेन कलेज अफ होटल म्यानेजमेन्टले यसै वर्ष जेठमा २४ वर्ष पार गर्छ।
पोहोरदेखि कलेजले नेपालमै पहिलो पटक गत वर्षदेखि एमबीए इन हस्पिटालिटी पनि सुरु गरेको छ। सुरुवातदेखि नै ब्याचलर इन होटल म्यानेजमेन्ट कोर्स पढाइ हुने कलेजमा पोहोरदेखि नै ब्याचलर इन इन्टरनेशनल कलिनरी आर्टस् कै पढाइ थालिएको छ।
हालसम्म नेपालमा पढाइ हुने कलिनरी कोर्समा डिप्लोमा भनेर छोटो अवधिको सिकाइ हुन्थ्यो। तर, कलिनरी नै प्रमुख कोर्सका रुपमा चार वर्ष पढाएर ब्याचलर डिग्री नै दिने सिल्भर माउन्टेन पहिलो कलेज पनि बनेको छ। यही विषय पढ्नकै लागि भनेर कलेजले आफ्नै हाताभित्र पहिलो फ्रेन्च रेष्टुरेन्ट ‘पापियो रोज’ खोलेको हो, जसलाई कलेजकै विद्यार्थीहरुले संचालन गर्छन्।
‘कलिनरीमा ब्याचलर कोर्सका लागि हामीलाई पाहुनासहितको फाइन डाइन रेष्टुरेन्ट हरेक दिन चाहिने। नेपालमा हालसम्म संचालनमा रहेका भने फ्रेन्च रेष्टुरेन्ट नभइ बिस्ट्रो र क्याफे मात्र थिए। त्यसैले हामीले आफ्नै फ्रेन्च रेष्टुरेन्ट खोलेर विद्यार्थीहरुलाई दैनिक सिकाइका लागि उपयुक्त थलो बनाइदिएका हौं,’ समीरले जानकारी दिए।
यही रेष्टुरेन्टमा विद्यार्थीहरुले फ्रेन्चका मलिकुलर कुकिङ, फ्युजन कुकिङ जस्ता टेक्निक सिक्छन्।
रमाइलो त के छ भने कलेजमा विद्यार्थीलाई सिकाउने उद्देश्यका साथ खोलिएको रेष्टुरेन्ट सिकाइको रेष्टुरेन्ट मात्र नभइ सर्वसाधारणका लागि पनि खुला छ।
६ कोर्स डिनरसहितको सेट मेनु भएको उक्त रेष्टुरेन्टमा खान चाहनेले बिहान १२ बजेभित्रै बुक गरिसक्नुपर्छ। समीरका अनुसार खुलेको एक वर्षमा रेष्टुरेन्टमा बुकिङ नभएको दिन छैन। सीएसआर कन्सेप्टमा खुलेको रेष्टुरेन्टको आम्दानी यसको खर्च कटाएर कलिनरीकै विद्यार्थीको स्टाइपेनमा जान्छ।
आफ्नै वाइन ल्याब भएको सिल्भर माउन्टेन पहिलो कलेज पनि हो। यसले आफ्नै कफी एकेडेमी पनि संचालन गरिरहेको छ।



हाल रेष्टुरेन्टमा २ जना सेफ र २ रेष्टुरेन्ट म्यानेजर छन्। बाँकी सबै भूमिका विद्यार्थीले नै निर्वाह गर्छन्। हरेक महिना उनीहरुको रोटेसन हुन्छ ८ जना सर्भिसमा, १० जना किचेनमा दैनिक।
८ सेट मेनु तयार पारेर चलाइएको यो रेष्टुरेन्टमा हरेक २ सातामा मेनु चेन्ज हुन्छ। यो रेष्टुरेन्ट विद्यार्थीको सिकाइका लागि मात्र नभई विश्वमा सबैभन्दा उत्कृष्ट भनिने फ्रेन्च कुजिनबारे जिज्ञासा राख्ने जो कोहीका लागि उपयुक्त ठाउँ हो। आफ्नै वाइन ल्याब भएको सिल्भर माउन्टेन पहिलो कलेज पनि हो। यसले आफ्नै कफी एकेडेमी पनि संचालन गरिरहेको छ।
अनि खुल्यो सिल्भर माउन्टेन
र्याडिसन होटल खुल्ने चरणमा थियो। स्विट्जरल्याण्डबाट हस्पिटालिटी सिकेका समीरको टिम होटलका लागि थप कर्मचारी जोहो गर्न खटियो। चाहिने कर्मचारी संख्या थियो ४२१। टिमले विज्ञापन गर्यो। जागिरका लागि आवेदन दिनेहरुको भीड थियो। तर, अन्तर्वार्ताका क्रममा उनले १० जना पनि होटल म्यानेजमेन्टका ग्रयाजुएट फेला पारेनन्। समीर छक्क परे। उनी होटल म्यानेजमेन्टका ग्रयाजुएट खोज्न त्रिभुवन विश्वविद्यालयसमेत गएँ, जहाँ त्यस विषयको डिग्री प्रोग्राम नै थिएन।
सरकारी पहलमा एचएमटीटीसीका नामले त्यो भन्दा धेरै अघि नेपाल एकेडेमी अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट (नाथम) खुलिसकेको त थियो तर त्यसले पनि ब्याचलर डिग्री कोर्स थालिसकेको थिएन। कलेजले ६ महिने, ९ महिने छोटा कोर्सहरु गराउँथ्यो। त्यसबेला र्याडिसनले होटलले त्यस्तै छोटा तालिमहरु लिएका व्यवस्थापनका विद्यार्थीहरुबाट काम थाल्यो। तीन वर्ष र्याडिसनमा काम गर्दा समीरलाई त्यहो समयमा होटल म्यानेजमेन्टका डिग्री होल्डर फेला नपरेको चिन्ता भइराख्यो।
नेपालमै बस्ने र विदेश नफर्किने मन बनाइसकेपछि समीरले र्याडिसन छाडेर सन् १९९९ मा आफ्नै होटलहरु व्यवस्थापन गर्ने कन्सल्टेन्सी खोले। यो कन्सल्टेन्सीले ५ वटा २ र ३ तारे होटलहरुको व्यवस्थापन गर्यो। त्योसँगै उनले दरबारमार्गमा पहिलोपटक ब्रिटिस फास्टफुड चेन विम्पी पनि खोले। २ वर्ष चलाएपछि उनले विम्पी बेचे। दुवै प्रोजेक्टबाट बाहिरिएर उनले हस्पिटालिटीको डिग्री दिनेगरी कलेज सिल्भर माउन्टेन खोलेका हुन्।
हुन त उद्यम समीरको रगतमै थिएन। उनीहरुको परिवारमा छोराहरुलाई सानैदेखि सेनामा जानका लागि कडा अनुशासनका साथ मानसिक रुपमा तयार पारिन्थ्यो। ४४ जनाको संयुक्त परिवारमा हुर्किएका समीरको सुत्ने-उठ्ने खाने-लगाउने सबैमा कडा अनुशासन थियो। परिवारका सबै छोराहरुलाई होस्टल राखेर पढाइयो।
हजुरबुवा सेनामा भएकाले छोरा नातिहरु त्यही हुनुपर्ने हजुरबुवाको सपना। तर, उनका बुवाले हजुरबुवालाई अटेर गरेर इन्जिनियर बनेजस्तै उनी पनि ‘विद्रोही’ भएर निस्किए। राम्रो पढ्नेहरु डाक्टर इन्जिनियर बन्ने जमानामा उनी होटल म्यानेजमेन्ट पढ्ने परिवारकै पहिलो बने।

उनको मन सेनामा पनि जान मानिरहेको थिएन। सिद्धार्थ वनस्थलीबाट २०४६ सालमा एसएलसी सकेपछि उनी साइन्समा प्लस टु गर्न बेंगलोर हान्निए। १२ पछि के पढ्ने उनले निर्क्यौल गर्न सकिरहेका थिएनन्। एकपटक बेंगलोरबाट घर फर्किएको बेला उनी पारिवारिक समारोहमा भाग लिन याक एण्ड एति होटल पुगेका थिए। होस्टलाई भेट्न आएका होटलका जनरल म्यानेजरमा उनको आँखा अडियो। कडा मिजासको परिवारमा हुर्किएका समीर होटलका म्यानेजरको स्मार्टनेस, नरमपन, मिठो बोली व्यवहारबाट निकै प्रभावित भए।
‘टाइसुट लगाएर चट्ट परेको उनको त्यो व्यक्तित्वको छाप मनमा बसिरह्यो। ओहो! फाइभ स्टार भित्रको त लाइफ स्टाइल नै नेक्स्ट लेभलको होला भन्ने जस्तो मेरो कलिलो दिमागमा पर्यो। त्यही तस्वीरले सायद हस्पिटालिटी म्यानेजमेन्टतर्फ नजानिँदो गरी तानिएको हुनुपर्छ,’ समीर अनुमान गर्छन्।
सपना विपरीतको यात्रा
साइन्स विषय लिएर १२ कक्षा सकेपछि उनी काठमाडौं फर्किएर कहिले न्यूरोडको अमेरिकन लाइब्रेरी त कहिले जमलको सेतो घरमा रहेको ब्रिटिस काउन्सिल गइरहन्थे।
त्यहाँ राखिएका बुकलेटहरु पढ्दै उनले विश्वका टप युनिभर्सिटी र कलेजहरुबारे बुझ्न थाले। र्यांकिङ हेर्दा स्विट्जरल्याण्डका होटल म्यानेजमेन्ट कलेजहरु सधैं टपमा हुने। हजुरबुवाको सपना विपरीत समीर त स्विट्जरल्याण्डमा होटल म्यानेजमेन्ट पढ्ने सपना देखिरहेका थिए।
त्यो बेला नेपालमा स्विट्जरल्याण्डको दूतावास थिएन। समीर सल्लाह माग्न तत्कालीन स्विस कन्सुलेट जनरल रोजमेरी पाण्डेकहाँ पुगे। १२ पास गरेको ‘केटो’ समीरलाई रोजमेरीले राम्ररी सम्झाउँदै एउटा कलेजको ब्रोसियर थमाइन्। अनि भनिन् – ‘यसमा पहिले अप्लाइ गर। शिक्षा मन्त्रालय गएर बुझ्नु पनि। स्विट्जरल्याण्डमा होटल म्यानेजमेन्ट पढ्नका लागि छात्रवृत्तिको तीन सिट आउँछ।’
त्यो दिन रोजमेरी पाण्डेसँग भेट नभएको भए असाध्यै महंगो पर्ने स्विट्जरल्याण्डको होटल म्यानेजमेन्टको पढाइ समीरको सपनामै सीमित हुने थियो। तर भाग्यवश त्यसो हुन पाएन।
उनी त्यही ब्रोसर बोकेर सुन्धाराको हुलाक कार्यालय पुगे। खल्तीमा कलेजका लागि लेखिएको चिठी थियो। त्यो पोष्ट गरेपछि ब्रोसर पट्याएर खल्तीमा राख्दै घर फर्किए।
‘जम्मा एउटा ब्रोसर त्यो पनि हराउला भन्ने कत्रो डर!,’ समीर त्यो बेलाको मनोदशा अहिले पनि सम्झन्छन्।
अनकनाउँदै समीरले हात उठाए। सिंगो कन्सर्ट स्थलमा उठेको त्यो एउटामात्र हात समीरको थियो। चर्को प्रकाश समीरको अनुहारतिर सोझियो। सबैले उनलाई हुटिङ गरे।

कलेजले उनलाई एसेप्टेन्स लेटर पठायो। हुलाकबाट त्यो लेटर बोकेर उनी सिधै केशर महल पुगे जहाँ शिक्षा मन्त्रालय बस्थ्यो।
‘जम्मा तीन जनाको लागि छात्रवृत्ति रहेछ। मैले अप्लाइ गरेकै युनिभर्सिटीको लागि पनि रहेछ। कति जनाले भर्लान्। कम्पिटिसनमा म परुँला कि नपरुँला भन्दै सोचिरहेको। तर, तीन जनाको लागि आएको स्वीस छात्रवृत्तिमा भर्ने २ जना मात्र। अहिले जस्तो थिएन। डाक्टर इन्जिनियर पढ्नुपर्छ भन्ने मानसिकता व्याप्त थियो त्यो बेला। त्यसैले होटल म्यानेजमेन्टतर्फ कसैले रुची नभएर पो हो की!,’ समीरले त्यही कोटामा स्विट्जरल्याण्डबाट ब्याचलर डिग्री हासिल गर्दाको फेहरिस्त बताए।
मास्टर्स पढ्दा उनी आफैं कमाउँदै पढ्दै गर्ने भइसकेका थिए।
‘एनी बडी फ्रम नेपाल?’
सन् १९९३ ताकाकै कुरा हो। स्विट्जरल्याण्डमा पढिरहँदा चर्चित अमेरिकन रक ब्याण्ड रेन्बोले त्यहाँ कन्सर्टको आयोजना गर्यो। रक म्युजिकका फ्यान समीरले आफ्नो फेबरेट ब्याण्डको कन्सर्ट मिस कसरी गर्थे र। कलेजका साथीभाईसँगै उनी पनि त्यहाँ पुगे।
सयौं दर्शकले खचाखच भरिएको कन्सर्टस्थल। चारैतिरबाट रंगीबिरंगी बत्तीहरु झिलिमिली पारिएको थियो।
कन्सर्टमा गाइरहेकै बेला गायकले चिच्याए –’एनी बडी फ्रम नेपाल?’
‘ओइ तेरो देशको नाम लियो।’- सँगै गएका साथीले उनलाई घचघच्याए। अनकनाउँदै समीरले हात उठाए। सिंगो कन्सर्ट स्थलमा उठेको त्यो एउटामात्र हात समीरको थियो। चर्को प्रकाश समीरको अनुहारतिर सोझियो। सबैले उनलाई हुटिङ गरे।
‘त्यसो भए आज यो गीत तिमीलाई डेडिकेट गर्छु,’- भनेलगत्तै मेटल ट्र्याकमा ब्याण्ड गुञ्जियो।
आइ एम द नाइट एण्ड द लाइट
आइ एम द ब्ल्याक एण्ड द ह्वाइट
द म्यान अन द सिल्भर माउन्टेन
आइ एम द म्यान अन द सिल्भर माउन्टेन
फेबरेट गीत आफैंलाई डेडिकेट गरेर गाइएपछि समीरको खुशीको कुनै सीमा नै रहेन।
‘हिप्पी युग‘मा नेपाल घुम्न आउँदा यहाँको सेतो हिमालबाट प्रभावित भएरै ब्याण्डका सदस्य रिची ब्ल्याकमोरले यो गीत लेखेका रहेछन्।
समीरको मुटुको कुनामा त्यो क्षण उसैगरी प्रिय बनेर बसिरहेको थियो। कलेज खोल्दा नाम के राख्ने दुविधा भइरहँदा ‘सिल्भर माउन्टेन’ उनले त्यही भावका साथ विश्वभर नेपाल चिनाउने हिमाललाई नै समर्पित गरेर राखेका हुन्।
कलेज सुरु गर्दाका दिनहरुमा समीरले निकै समस्या भोग्नुपर्यो। चन्दा माग्न आउनेहरुले कलेज तोडफोड समेत गर्थे। कक्षा कोठामा पसेर ढोका थुनेर पनि पैसा उठाए।



२००१ मा विधिवत रुपमा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट सुरु भयो । दुर्भाग्य भनौं सिल्भर माउन्टेन लन्च भएको एक हप्तामै दरबार हत्याकाण्ड भयो। त्यो वर्ष स्थापना भए पनि भर्ना लिने अवस्था बनेन। कलेजले सन् २००२ देखि मात्र औपचारिक रुपमा कक्षा थालनी गर्यो। त्यसबेलै शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर कलेज चलेको हो।
‘म स्विट्जरल्याण्डमै ब्याचलर र मास्टर्स पढेको मान्छे। नेपालमा हस्पिटालिटी क्षेत्रमा जनशक्तिको यस्तो अभाव मलाई खड्कियो। सरकारी एकमात्र कलेज जसमा डिग्री प्रोग्राम सुरु नहुनु अनि निजी कलेजहरु खुल्दै नखुलेका कारण ए यो क्षेत्रमा त ठूलो भ्याकुम रहेछ भन्ने लागेरै होटल म्यानेजमेन्ट कलेज सुरु गरेँ। त्यो बेला अहिले जस्तो ट्रान्स नेशनल एजुकेसन चलेको थिएन। मैले हिम्मत गरेर अमेरिकी युनिभर्सिटीसँग टाइअप गरेर कलेज खोलेको हुँ,’ सन् २००१ मा सिल्भर माउन्टेन कलेज खोल्दाको भित्री कथा उनले खोले।
‘त्यसबेला विदेशी सम्बन्धन भएका जम्मा तीन वटा कलेज मन्त्रालय गएको थियो स्वीकृति लिन। दुई कलेज आइटी र व्यवस्थापनका थिए। होटल म्यानेजमेन्टको हामी नै पहिलो थियौं,’ उनले सम्झिए।

शिक्षा मन्त्रालयलले सन् २००३ मा विदेशी शिक्षा सम्बन्धन लिएर पढाउन निर्देशिका जारी गर्यो। स्थापनाताका अमेरिकी होटल एण्ड लजिङ एजुकेसन इन्स्टिच्युटबाट सम्बन्धन लिएर चलेको कलेज हाल भने ब्रिटिस क्विन मारग्रेट युनिभर्सिटीसँग सम्बन्धन लिएर संचालन भइरहेको छ।
दुई दशकमा हस्पिटालिटी क्षेत्रले जति फड्को मार्यो त्यति नै विद्यार्थीहरु पनि उत्पादन भइरहेका छन्। दुई दशकअघि आफूले खोज्दा नपाएका होटल म्यानेजमेन्टमा ब्याचलर गरेका विद्यार्थी अहिले अन्य विषयहरुसँग दाँजेर हेर्दा २६/२७ प्रतिशतको हाराहारीमा पुगिसकेको उनले बताए।
अबको जंगलको यात्रा
कलेज सुरु गर्दाका दिनहरुमा समीरले निकै समस्या भोग्नुपर्यो। चन्दा माग्न आउनेहरुले कलेज तोडफोड समेत गर्थे। कक्षा कोठामा पसेर ढोका थुनेर पनि पैसा उठाए।
‘त्यो गर्दा न राज्यले हामीलाई सपोर्ट गर्यो न कसैले साहारा दियो। त्यो द्वन्द्वकाल थियो। को कसका लागि बोल्ने? कसैको संरक्षण नभएको महसुस भएपछि हामी ८ जना उद्यमीहरु मिलेर युवा उद्यमीहरुको संस्था एनवाइइएफ खोल्यौं,’ एनवाइइएफका पाँचौ प्रेसिडेन्टका रुपमा काम गरेका समीरले युवा उद्यमीहरुको आवाजका रुपमा एनवाइइएफ खोलिएको कथा सुनाए।
सुरुमा एफएनसीसीआईको भ्रातृसंस्थाको रुपमा खुलेको एनवाइइएफ समीरकै लिडरसीपमा स्वायत्त बनेको थियो।
उनी संसारकै हस्पिटालिटी र टुरिजम् एजुकेटरको ठूलो छाता संगठन मानिने काउन्सिल अफ होटल रेष्टुरेन्ट एण्ड इन्स्टिच्युसनल एजुकेसन स्क्रीको अध्यक्ष समेत भइसकेका छन्।
भर्जिनियामा हेडअफिस, विभिन्न देशमा रिजनल अफिस रहेको स्क्रीमा ८ हजार कलेज र युनिभर्सिटी सदस्य छन्। सन् २००५ देखि संस्थामा आबद्ध भएका समीरले सन् २०१७/१८ मा स्क्रीको केन्द्रीय कमिटी नै लिड गरे। उनले संसारकै प्रतिष्ठित संस्थालाई लिड गर्दा त्यो बेलासम्म दक्षिण एसियाबाट अरु कोही पनि थिएनन्।
विदेशी कोर्स लिएर पढाउने शैक्षिक संस्थाहरुको छाता संगठन इन्टरनेशनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल आइप्यानका निवर्तमान अध्यक्ष पनि हुन् समीर।
विदेशी सम्बन्धन लिएका कलेजहरुको समकक्षतालाई लिएर बारम्बार अन्योल हुने गर्छ। त्यसैले अभिभावकहरु तर्सिनु स्वाभाविक पनि हो। नेपालमा विदेशी कलेजहरुलाई सम्बन्धन दिँदा गरिने र्यांकिङको तरिका अब फेर्नुपर्ने तर्क उनी गर्छन्।
‘म प्रोफेसनालिज्ममा विश्वास गर्छु। नयाँ पुस्तामा हस्तान्तरण भनेको मेरै सन्तानमा जानुपर्छ लिडरसिप भन्ने होइन। जो दक्ष छ र रिजल्ट ओरिएन्टेड हुन्छ उसले चलाउनुपर्छ’

समीर भन्छन्, ‘सन् २००३ मा जतिबेला विदेशी सम्बन्धनको मान्यता प्राप्त भयो त्यो बेला मन्त्रालयले टाइम्स हायर एजुकेसन र्यांकिङ र जाइटुङ भन्ने चिनियाँ र्यांकिङलाई मान्यता दिने भन्नुभयो। तर अब यसले मात्र चल्दैन अब क्युएस र्यांकिङ चाहिन्छ भन्ने हाम्रो माग हो। सन् २०१४ मा आइप्यानको स्थापना भएदेखि नै हामीले निर्देशिकामा क्युएस र्यांकिङको माग गर्दै आएका छौं।’
नेपालमा सिल्भर माउन्टेन लगायत ५६ वटा कलेजहरु विदेशी सम्बन्धनबाट संचालनमा रहेको उनले बताए।
हाल सिल्भर माउन्टेनबाट चार वर्षे ब्याचलर डिग्री लिनेको संख्या २ हजार नाघिसकेको छ। वाइनको ४/ ५ घण्टाको कोर्स र कफीको सात दिने साना कोर्सलाई समेत गन्ने हो भने विद्यार्थी संख्या ४ हजार नै नाघिसक्यो।
‘हामीले १७ देशका ३५ फाइभस्टार होटलहरुमा इन्टर्नशीपका लागि विद्यार्थी पठाइरहेका छौं। बर्सेनि ३ सय विद्यार्थी त्यहाँ जान्छन्। कलेजका विद्यार्थीहरुलाई ११ होटलले इन हाउस प्लेसमेन्ट लिन्छ। हाल कलेजको ९२.३ प्रतिशत प्लेसमेन्ट छ।’- उनले दाबी गरे।
स्थापनाकालमा ४ वर्षको कोर्सको ५ लाख ६५ हजार रुपैयाँ लिने गरेको कलेजको फी आज दोब्बर पुगेको छ।
कलेजले सन् २०१८ देखि पोखरामा पनि शाखा खोलेर कलेज संचालन गरिरहेको छ। नेपालगञ्जमा खोलेको हस्पिटालिटी भोकेसनल ट्रेनिङ सेन्टर भने हाल बन्द छ।



‘अब हामी भोकेसनल स्कुलको फ्रेन्चाइजी प्रोग्राम ल्याउँदैछौं। त्यसका लागि नेपालगञ्जको सेन्टर बन्द गरेका हौं,’ उनले भने।
उनको करिब तीन दशक यही लाइनमा बित्यो। उनले भनेजस्तै समयभन्दा पहिले दौडिने बानी छ समीरको। उनलाई अरुले लिन नसकेको रिस्क लिइरहन मन लाग्छ। त्यसैको आउटकम हो कलेजभित्रको कफी एकेडेमी, वाइन ल्याब अनि फ्रेन्च रेष्टुरेन्ट।
दैनिक १८ घण्टासम्म पनि खटेका समीर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने मुडमा छन्।
‘म प्रोफेसनालिज्ममा विश्वास गर्छु। नयाँ पुस्तामा हस्तान्तरण भनेको मेरै सन्तानमा जानुपर्छ लिडरसिप भन्ने होइन। जो दक्ष छ र रिजल्ट ओरिएन्टेड हुन्छ उसले चलाउनुपर्छ,’ उनले भने।
समीर कामका दौरान विश्वका ६० देश घुमेका छन्। तर जहाँ पुगेपनि उनी नेपाल फर्कनै आतुर हुन्छन्। सौराहा र बर्दियाको जंगलभित्र जाँदा पाउने आनन्द अरु कतै नपाएको उनले सुनाए। जापानमा मुख्यालय रहेको एसियन इको टुरिजम नेटवर्कको बोर्डमा रहेका समीर विगत १२ वर्षदेखि वाइल्ड लाइफ कन्जर्भेसनमा पनि काम गरिरहेका छन्।

‘होटलबाट निस्केर अब मैले जाने जंगलतर्फको यात्रामा हो’
सिनेमापछि दोस्रो ग्ल्यामरस क्षेत्र हस्पिटालिटी क्षेत्र नै हो भन्छन् समीर। यहाँको चमकधमक, थरीथरीका मानिसहरुसँगको भेट, डिसिप्लिन्ड लाइफस्टाइल, टेबल म्यानर अनि कर्टेसीका उम्दा टेक्निकहरु सबैमा आफूलाई भिजाएर काम गर्नुपर्छ। हरदम उज्यालो अनुहार र मुस्कानका साथ एटेन्टिभ रहनुपर्ने क्षेत्र हो हस्पिटालिटी।
‘तर त्यही ग्ल्यामरको पनि अवधि हुन्छ। कहिलेसम्म यो प्यासन रहिरहन्छ भन्ने हो। जुन दिन त्यो प्यासन सकियो यो क्षेत्रबाट निस्किहाल्नुपर्छ मान्छेले। मेरो पनि जर्नी सिल्भर माउन्टेन वा हस्पिटालिटीमा सकिन्न।’ उनले आफ्नो उत्तरार्ध नेपालकै बन जंगलमै बिताउने मनस्थिति बनाएका छन्।
आफैंले सिर्जेको फ्रेन्च रेष्टुरेन्टमा उस्तै भद्र शैलीमा उनले कुराकानीको बिट मारे- ‘होटलबाट निस्केर अब मैले जाने जंगलतर्फको यात्रामा हो।’