
काठमाडौं। फागुन लागेपछि तीव्र उचारचढाव देखिएको सेयर बजारमा पछिल्लो केही दिनयता उत्साह देखिएको छ। नेप्से आइतबार २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा पुग्यो। ७ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भयो।
चैत १२ गते २५८२ विन्दुमा ओर्लिएको बजार १३ गते ३९ र १४ गते ४१.४३ अंकले बढेको थियो।
९ दिन लगातार उकालो लागेर नेप्से फागुन १८ गते ६ महिनायताकै उच्च अंकमा पुगेको थियो। त्यसदिन नेप्से २८९० पुगेकामा बजारमा फेरि ‘बियरिस ट्रेन्ड’ सुरु भयो।
दुई साता निरन्तर घटेर चैत १२ गते २५८२ अंकमा आइपुगेको नेप्सेले त्यस विन्दुबाट उचाइ लिन सुरु गरेको छ।
विभिन्न राजनीतिक गतिविधिलाई लिएर विनाकारण एकोहोरो देखिएको बजारले अहिले सकारात्मक प्रतिक्रिया जनाइरहेको जानकारहरु बताउँछन्।
स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट यसअघि विनाकारण घटेको बजार राजावादीको आन्दोलनपछि सकारात्मक देखिएको बताए।
‘बजार यसअघि लगातार घट्नुपर्ने कारण थिएन। राजावादीको आन्दोलनले राजनीतिमा गडबड हुन्छ कि भन्ने त्रासमा बजार ओरालो लागेको थियो,’ उनले भने, ‘राजावादीहरुको आन्दोलनले तत्कालै ठूलो असर देखिएन। त्यसको ह्याङओभरबाट लगानीकर्ता बाहिरिएका छन्। त्यसैले बजारले पोजेटिभ रियाक्ट गरेको हो।’
राजावादीको शुक्रबारको आन्दोलनका अलावा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयलाई लिएर सत्तारुढ दलकै नेताहरुले चर्को विरोध गरेपछि सरकार ढल्ने हल्लाले समेत बजारमा चर्चा पाएको थियो।
गत असारमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन बनाएसँगै नेप्सेले २०७८ पछिकै उचाई लिएको थियो। एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँसहित कारोबार रकम र बजार पुँजीकरणमा रेकर्ड नै बनायो।
त्यसपछि बजारमा मन्त्री फेर्ने हल्ला चल्यो। प्रधानमन्त्रीले नै हरेकजसो सार्वजनिक मञ्चलाई सरकार नढल्ने अभिव्यक्ति दोहोर्याउने थलोको रुपमा उपयोग गरेका कारण पनि लगानीकर्ता ढुक्क हुन सकेनन्। जसले अनुकूल सूचक हुँदा हुँदै पनि बजार माथि जान सकेन।
‘फागुन लागेपछि बजार लयमा आएको अवस्था थियो। तर, राजनीतिक गतिविधिले लगानीकर्ताको कन्फिडेन्स घट्यो। राजावादीको आन्दोलनपछि राजनीतिक गतिविधि नै साइडवेज भएको अवस्था देखिन्छ,’ लगानीकर्ता तुल्सीराम ढकालले भने, ‘अहिले बजार फेरि सम्हालिएको अवस्था छ। त्यसैले अनुकूल सूचकमा नेपाल राष्ट्र बैंकमा कस्ता गभर्नर आउँछन् भन्ने कुरामा बजारको चासो छ।’
यसअघि गभर्नरका कारण बजारमा असर देखिएको थियो। २०७८ पछि मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा प्रवाहमा कडाइ गरेका कारण गभर्नर महाप्रसाद अधिकारीलाई बजारले रुचाएन। कार्यकाल चैत २४ गते सकिन लागेका अधिकारी विदामा बसिसकेका छन्।
सेयर धितो कर्जामा लगाइएको क्याप र जोखिमभार बढाउने राष्ट्र बैंकको नीतिलाई लिएर लगानीकर्ताले असन्तुष्टि जनाउँदै आएका छन्।
यस्तै बेला सरकारले नियुक्त गर्ने नयाँ गभर्नरमा लगानीकर्ताको चासो छ। सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तको प्रक्रिया अघि बढाइसकेको छ।
नेप्से परिसूचक कीर्तिमानी उचाइमा पुगेको समयमा भन्दा अहिले सूचकहरु अनुकूल छन्। २०७८ मा नेप्सेले ३१९८ विन्दुको रेकर्ड बनाउँदा वाणिज्य बैंकको निक्षेपको औसत ब्याजदर ४.९२ प्रतिशत थियो। बैंकको ब्याजदर अहिले अझै न्यून विन्दुमा छ। मुद्दती निक्षेपको ब्याजदर ४.६२ र कर्जाकै ब्याज ८.५५ प्रतिशत छ। बैंकहरुले एकल अंकको ब्याजदरमै ऋण दिइरहेका छन्।
‘२०७२ र २०७८ मा नेप्सेले रेकर्ड बनाएको समयभन्दा अहिले ब्याजदर तल छ। जसले सेयर बजारमा प्रभाव पार्छ,’ रानाभाटले भने, ‘यसबाहेक अहिले सूचकहरु सकारात्मक छन्। व्यापार व्यवसाय गर्नेहरुका लागि पनि उपयुक्त समय हो। त्यसैले बजार बढ्ने देखिन्छ। तर, अब आउने गभर्नरमा पनि बजारको भविष्य निर्भर हुनेछ।’