शुक्रबारको प्रदर्शनलाई लिएर कस्तो छ सुरक्षा रणनीति? विदेशी दूतावासले पनि जारी गर्‍यो अलर्ट

सविन ढकाल
२०८१ चैत्र १४ गते १४:२९ | Mar 27, 2025
शुक्रबारको प्रदर्शनलाई लिएर कस्तो छ सुरक्षा रणनीति? विदेशी दूतावासले पनि जारी गर्‍यो अलर्ट
फाइल तस्वीर


काठमाडौं । शुक्रबार गणतन्त्रको पक्षमा रहेका दलहरु र केही राजावादी समूहहरुले राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको समाजवादी मोर्चा र विवादित दुर्गा प्रसाईं समूहले शुक्रबार गर्न लागेको प्रदर्शनलाई ध्यानमा राखेर प्रहरीले सुरक्षा रणनीति बनाएको छ।

Tata
GBIME
NLIC

दुई फरक समूहले एकैदिन एकअर्कोलाई आरोप प्रत्यारोप गर्दै गर्न लागेको प्रदर्शनमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको हो।

अवस्था प्रतिकूल बन्न नदिन प्रशासनले दुवै समूहको प्रर्दशन स्थान केही दुरीको फरकमा तोकेको छ।

समाजवादी मोर्चाले काठमाडौं भृकुटीमण्डपमा कार्यक्रम गर्दैछ। त्यस्तै दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छ।

दुवै समूहको कार्यक्रम जुलससहित बिहान ११ बजेबाटै सुरु हुने भनिएको छ। जसकारण सो समयभन्दा केही अघिदेखि नै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखिन्छ।

त्यसैले प्रहरीले शुक्रबार काठमाडौंमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाउन लागेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले १ हजारभन्दा बढी थप सुरक्षाकर्मी प्रहरी प्रधान नक्सालसँग माग गरेको छ। यसअघि फागुन २५ गते राप्रपा र दुर्गा प्रसाईंले पूर्वराजाको स्वागतमा भएको कार्यक्रममा हेडक्वाटरबाट १ हजार १०० थप प्रहरी माग गरेको थियो।

‘हामीले पर्याप्त सुरक्षाकर्मी खटाउने छौं। केही सुरक्षाकर्मी हेडक्वाटरसँग माग गरेका छौं। उहाँहरुको कार्यक्रम अनुसार सुरक्षा रणनीति बनाएका छौं,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी टेकबहादुर तामाङले भने।

प्रहरीले शुक्रबार निषेधित क्षेत्र, सरकारी भवन, नारायणहिति दरबारलाई विशेष ध्यान दिएर सुरक्षा रणनीति बनाएको छ। केही दिनअघि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा बैठक बसेको थियो। जसमा दुई समूहको प्रदर्शनको विषयमा छलफल भएको थियो। पछिल्लो समय राजतन्त्रसँग जोडिएर भएका कार्यक्रम कतिको चुनौती बन्न सक्छ भन्ने बारेमा पनि छलफल भएको थियो।

राजतन्त्र र गणतन्त्र पक्षधर सडकमा ओर्लिरहँदा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले जिम्मेवारीबाट हटाएको घटनालाई लिएर पनि केही समूह विरोध प्रदर्शनमा छन्। घिसिङलाई पुन:स्थापना गर्नुपर्ने भन्दै सदनदेखि सडक तातेको अवस्था छ।

शुक्रबार दुवै समूहसँगै घिसिङलाई हटाएको विरोधमा रहेका समूह पनि सडकमा उत्रिन सक्ने सुरक्षा निकायको विश्लेषण छ।

‘थोरै भए पनि यो समूह थपिने छ। त्यसैले हामीले यसलाई पनि हेरिरहेका छौं,’ एक सुरक्षा अधिकृतले भने।

राजधानीमा स्वर्गद्वारी गुठी, पाथीभारी लगायतको मुद्दामा पनि पछिल्लो समय दैनिकजसो केही न केही विरोध कार्यक्रम भइरहेका छन्। त्यसैले शुक्रबार सबै पक्षलाई गहन ढंगले विश्लेषण गरेर सुरक्षा रणनीति तयार गरिएको जनाइएको छ।

शुक्रबारको कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रुपमा खटिनेछन्। त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पनि बाक्लो संख्यामा ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ। तर, दुई समूहको प्रदर्शन भएकाले शुक्रबार राजधानीको सवारी आवागमन प्रभावित हुने देखिएको छ।

दुई समूहले हजारौं मानिस सडकमा आउने दाबी गरिरहेका छन्। तर, सुरक्षा निकायले उनीहरुले दाबी गरेको संख्यामा प्रदर्शनकारी नआउने सूचना लिएको छ। दाबी गरेको भन्दा निकै कम प्रदर्शनकारी आउने आकलनअनुसार नै सुरक्षा रणनीति बनाइएको छ। यसअघि फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा १५ हजारसम्म मानिस सहभागी भएको सुरक्षा निकायको रिपोर्टिङ थियो। उक्त दिन तीनकुनेदेखि निर्मल निवाससम्म ४०० जना ट्राफिक प्रहरी खटाइएको थियो।

‘कति मानिस आउँछन् त्यसले ट्राफिक व्यवस्थापनमा असर गर्ने हो। केही असर त पर्ने देखिन्छ,’ एआइजी तामाङले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोली १०/१५ हजार मानिस आउने दाबी गरेका छन्। जुन यसअघिको जस्तै सामान्य प्रर्दशन हुने उनको बुझाई थियो।

यता सुरक्षा व्यवस्था मिलाउन प्रशासन लागिरहँदा केही कूटनीतिक नियोगले शुक्रबारको प्रदर्शनलाई लिएर अलर्ट जारी गरेका छन्। सामाजिक संजालमा काठमाडौंस्थित अष्ट्रेलियाको दूतावासले शुक्रबार ठूलो राजनीतिक प्रदर्शन हुने भन्दै आवश्यकता भएमा मात्रै निस्किन भनेको छ।

दूतावासले सानो समयमा नै कर्फ्यू जारी हुन सक्ने भन्दै अलर्ट रहन सूचनामा उल्लेख गरेको छ।

पछिल्लोपटक अष्ट्रेलियन दूतावासले सत्तामै रहेको एमालेले दरबारमार्गमा आयोजना गरेको प्रदर्शनको बेला पनि अलर्ट रहन भन्दै सूचना निकालेको थियो।