
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने नाडा अटो शोपछिको दोस्रो ठूलो वाडा अटो शो आज पोखरामा सुरु भएको छ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)ले आयोजना गरेको उक्त अटो शो बिहीबारदेखि आगामी १७ गतेसम्म अमरसिंह मैदानमा हुनेछ।
शोलाई नाडाले प्रायोजन गरेको छ। यसमा ३० वटाभन्दा धेरै सवारी साधनका ब्रान्डहरू सहभागी छन्। नाडा अटो शोपछि उपत्यका बाहिर ठूला ब्रान्डहरूले पहिलो पटक सहभागिता जनाएका छन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त अटो शोको उद्घाटन गरेका छन्। सो क्रममा मेयर आचार्यले केन्द्र भन्दा बाहिर पनि अटो शो हुने छाप यसले छोड्ने बताए।
‘अटो शो भन्नेबितिकै दशैँअगाडि नाडाको क्यालेन्डरमा सेट गरिएको हुने थियो। तर अब त्यसलाई चिर्दै उपत्यका बाहिर पनि ठूलो अटो शो गर्न सकिएको छ,’ उनले भने।
कोभिडदेखि सुस्त रहेको आर्थिक मन्दीलाई अटो क्षेत्रले केही मात्रामा रिभाइभ गर्न मद्दत गरेको उनको भनाइ थियो। यसैगरी पोखरालाई स्पोर्ट्स हब बनाउने काम पनि अगाडि बढ्ने उनले बताए।
उनले भने, ‘ग्लोबल भिलेज संसारभर भइसकेको छ। त्यसबाट हामी अछुतो छैनौँ। त्यही प्रविधि भएको सवारी साधनहरू यो अटो शोमा देख्न सकिन्छ।’
वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले यो अटो शोले आर्थिक रुपमा पोखरालाई धेरै सहयोग गर्ने बताए। अहिले अर्थिक सङ्कटको चपेटामा परिरहेको अटो क्षेत्रमा यो अटो शोले केही हदसम्म सहज बनाउने अपेक्षा लिएको उनको भनाइ छ।
यसले पोखरा भिजिट २०२५ लाई पनि अगाडि बढाउन धेरै मद्दत गर्ने उनको भनाइ छ।
नाडाका अध्यक्ष करण चौधरीले केन्द्रभन्दा बाहिर गएर यति ठूलो अटो शो गर्ने अवसर मिलेको बताए। अटो व्यवसायीका लागि अटो शो चाडबाड जस्तो भइरहेको उनले बताए।
उनले भने, ‘देशलाई आर्थिक रुपमा चलायमन बनाउन पर्नेछ। त्यसका लागि यस्ता अटो शोहरू आयोजना भइरहनु पर्छ।’
यस्ता अटो शोहरूले अर्थतन्त्रलाई भाइब्रेन्ट बनाउने उनको भनाइ छ। अटो क्षेत्रले देशको आर्थिक विकासमा ठूलो योगदान गरेको उनले बताए।
अटो शोमा प्यासेन्जर सवारीमा लिपमोटर, डिपल, ओमोडा, बीवाइडी, नामी, एमजी, टाटा, किया, टोयोटा, स्काइवेल, जिकर, निसान, इसुजु, सुजुकी, महिन्द्रा, रिडारा, एक्सपेङ, कायी र सेरेस सहभागी छन्।
यस्तै, लाइट कमर्सियलमा कामा, यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ ब्रान्ड सहभागी छन्। दुई पाङ्ग्रेतर्फ बजाज, एथर, टीभीएस, यामाहा, ट्राइम्फ र रोयल इन्फिल्डले स्टल राखेका छन्।
यी सबै ब्रान्डले अटो शोमा भिजिट गर्ने र सवारी साधन बुकिङ तथा खरिद गर्दा छुट र अफरहरू राखेका छन्।