
काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म भैरहवा भन्सार कार्यलयबाट १९ अर्ब १७ करोड रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ।
भन्सार कार्यलयका अनुसार साना ठुला सबै किसिमका गरि कुल ९८ हजार २२९ युनिट सवारीसाधन आयात भएका छन्। यसबाट सरकारले कूल २१ अर्ब ९५ करोड रुपैयाँको राजश्व संकलन गरेको छ।
गत वर्ष सोही अविधिमा १४ अर्ब ४२ करोड रुपैयाँ बराबरको ६२ हजार ५६८ युनिट सवारीसाधन आयात भएको थियो। यो वर्ष सो संख्या ३६ प्रतिशतले बढेको हो।
भैरहवा भन्सार कार्यालयबाट विद्युतीय मोटरसाइकलको आयात भने घटेको छ। जसमा गत वर्षको साउनदेखि फागुनसम्म ९७८ युनिट आयात भएकोमा यो वर्ष सोही अवधिमा ५९४ युनिट मात्रै आयात गरिएको छ।
गत वर्ष पेट्रोल दुई पांग्रे ५५ हजार ३३ युनिट आयात भएको थियो। तर, यो वर्ष सोही अवधिमा ९० हजार २३५ युनिट आयात भएका छन्। यो संख्या ३९ प्रतिशतले बढेको हो।
विद्युतीय चार पांग्रे कार, जीप र भ्यानहरु यो वर्ष १ हजार ६५६ युनिट आयात भएका छन् भने गत वर्ष सोही अवधिमा २ हजार ६५ युनिट आयात भएको थियो। इन्धन चारपांग्रे कार, जीप र भ्यान गत वर्ष १ हजार ७१२ युनिट आयात भएकामा यो वर्ष साउनदेखि फागुनसम्म २ हजार १०० युनिट आयात भएको कार्यालयले जनाएको छ।
यस्तै, विद्युतीय तीनपाङ्ग्रे मा चालु आवको साउनदेखि फागुनसम्म ६७१ युनिट आयात भएका छन्। गत वर्ष सोही अवधिमा ६३८ युनिट आयात भएको थियो।