
काठमाडौं। ‘एउटा ब्राण्डको एक बोरा चामल लग्यो, सकिएपछि लिन गयो, त्यही ब्राण्ड भेटिँदैन। पसलेले त्यो हिजोआज आएको छैन यो लानुस् राम्रो र स्वादिलो छ भनेर अर्कै भिडाउँछन्,’ बजारमा एक जना गृहिणीले गरेको गुनासो हो यो।
उपभोक्ताका लागि सबै चामल उस्तै होइनन्। जिब्रोमा जसको स्वाद बस्यो त्यो खोजी गरिएकै हुन्छ। चामलका ब्रान्डमा किन थरी थरी छ, एउटै ब्राण्डको आपूर्ति नियमित नहुने पनि हुन्छ?
उपभोक्ताहरू पसलेसँग सवालजवाफ गरिरहेका भेटिन्छन्। रंगीचंगी बोरामा बजारमा दुई थरीका चामल छन्, भारतीय कम्पनी र नेपाली कम्पनीका।
उर्जा, गुडलक, नेवारी, थकाली, पर्ल, अमृतभोग, आरजु, रोयल लगायत तीन दर्जनभन्दा बढी ब्राण्डका चामल बजारमा पाइन्छन्। बजारमा घरेलु उद्योगका प्याकेजिङमा आएका र खुद्रा बिक्रीका लागि धेरै थरी चामल छन्।
अत्यधिक खपत मन्सुली चामलको छ। आयातित तथा विभिन्न थरीका रंगीन प्याकेजिङमा जिरा मसिनो, बासमती र लङ ग्रेन चामल खरिदबिक्री हुने गरेको छ।
सधैं एउटै ब्राण्डको चामल खाने गरेका उपभोक्तालाई अर्को पटक जाँदा नपाएर नयाँ ब्राण्डको खरिद गर्नुपर्ने बाध्यता नै पर्ने गरेको छ।

किन हुन्छ यस्तो ?
व्यवसायीहरू भने बजारका ठूला सुपरमार्केटदेखि खुद्रा पसलसम्म खाद्यान्नको खरिदबिक्री यस्तै हुने बताउँछन्। प्याकेजिङ भएर आउने चामल मात्र नभइ तेल, दाल, मरमसला लगायत धेरै थोकमा आपूर्तिकर्ता र बिक्रीको दरभाउका कारण ब्राण्ड फरक परिरहने तर्क उनीहरूको छ।
व्यवसायीहरू कुनै एउटा खास ब्रान्डमात्रै बेचिरहनुभन्दा केमा आफ्ना लागि बढी नाफा हुन्छ त्यही राख्न प्राथमिकता दिन्छन्।उनीहरूका अनुसार ब्राण्डिङ राम्रो भएर उल्लेख्य कारोबार गरिरहेका कम्पनीहरू बजारमा थोक मूल्य घटाएर आपूर्ति गर्दैनन्।
नयाँ आएका कम्पनीहरू व्यापारीलाई थोक मूल्यमा छुट दिन्छन् र उधारोमा धेरै लामो समय कडाइ गर्दैनन्। त्यसले गर्दा उपभोक्ताले एक पटक खरिद गरेकै ब्राण्डका चामल अर्को पटक बजारमा सजिलै पाउँदैनन्।
बोहोरा खाद्य इन्डस्ट्रिजका संचालक अविनास बोहरा प्याकेजिङ युनिटहरू धेरै खुलेका कारण बजारमा फरक-फरक ब्राण्डका चामल हुनु स्वाभाविक भएको बताउँछन्।
‘प्याकेजिङ युनिटहरू धेरै खुल्दा उपभोक्ताका लागि मूल्य सस्तो पर्न सक्छ, त्यो त राम्रो हो,’ उनले भने, ‘तर सधैं एउटै ब्राण्डको चामल वा अन्य खाद्य पदार्थ नपाइने हुन सक्छ।’
उद्योगहरूले पनि बेला-बेलामा प्याकेजिङको डिजाइन फरक पार्ने गरेको उनले बताए।
‘ब्राण्ड भनेको उद्योगको सम्पत्ति हो। अझ चामलमा कुनै पनि उद्योगको आफ्नो ब्राण्ड सधैं हुन्छ र पछिसम्मको लागि त्यही रहन्छ,’ उनले भने, ‘एक पटक बजारमा पठाएपछि फेरि-फेरि नपठाउने भन्ने हुँदैन। बजारमा प्रतिस्पर्धा धेरै छ। कुन कम्पनीको चामलमा आफूलाई नाफा राम्रो हुन्छ व्यापारीले त्यही बेच्छन्।’
बजारमा धेरै ब्राण्ड आएकाले व्यवसायीले छनोट गर्न पाउँदा उपभोक्ताले एक पटक लगेको चामल अर्को पटक सजिलै नपाएको हुन सक्ने उनको भनाइ छ।
‘खरिदमै महँगो पर्ने चामल राखेर बिक्री नभइ स्टक राख्न को चाहन्छ र?,’ उनले भने, ‘बजारमा यतिबेला पैसा छैन। व्यापारीले जे सस्तो छ र छिटो बिक्री हुन्छ त्यही बेच्न राखेको हुन्छ।’
उद्योगहरूले भने आफ्नो ब्राण्डमा उत्पादन नियमित राख्ने उनले बताए।
खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ व्यापारीले नाफाका लागि फरक-फरक ब्राण्डका चामल र अन्य खाद्यन्न बिक्री गर्ने गरेको बताउँछन्।
‘एउटा ब्राण्डको एक बोरा चामलमा ५० रुपैयाँ नाफा, अर्को ब्राण्डमा १०० देखि १५० रुपैयाँ फाइदा हुन्छ भने व्यापारीले उपभोक्तालाई आफ्नो फाइदा हेरेरै बेच्छन्,’ उनले भने, ‘अहिले बजारमा यस्तै छ। चामलको धेरै ब्राण्डहरू छन्, आफूलाई फाइदा नहुने ब्राण्ड व्यापारीले कहाँ राखिरहन्छन् र?’

बजारमा प्रतिस्पर्धाका कारण मूल्य तलमाथि पर्ने भए पनि उपभोक्ता गुणस्तरका मामिलामा सचेत हुँदै गएको उनले बताए।
‘कतिपय व्यापारीले कम मूल्यको चामललाई उपभोक्ताले खरिद गरिरहेको मूल्यमा बेच्ने र कतिपयले त्योभन्दा यो राम्रो भनेर बढी पैसा लिएर अर्को ब्राण्डको किन्न लगाउने क्रम चलिरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने।
व्यापारीले नाफाका लागि कम गुणस्तरको खाद्यान्न भने बेच्न नहुने उनी बताउँछन्।
‘आदर्श एकातिर छ अर्कातिर नाफा नै के कस्तो हुन्छ भन्ने हो,’ उनले भने, ‘आफ्नो नाफा मात्रै हेरेर लो क्वालिटीको सामान किन्न बाध्य पारिनु हुँदैन।’
थापाथलीमा रहेको हाम्रो किराना स्टोरका संचालक राजेश साह भने किराना व्यवसायीले सप्लायरलाई पेमेन्ट बेलामा गर्न नसक्दा नयाँ-नयाँ ब्राण्डका चामल राख्ने गरेको देखिएको बताउँछन्।
‘चामलको बिक्री कम हुँदा तोकिएको समयमा भुक्तानी गर्न सकिँदैन। त्यो समयमा अर्को ब्राण्डको चामल ल्याएर बिक्री गर्ने र त्यो चामल बिक्री गरेको पैसाले पुरानो भुक्तानी गरिन्छ,’ उनले भने, ‘यसो गर्दा केही समयपछि पुनः पहिलेको ब्राण्ड बिक्री गर्न पाइन्छ।’
उनका अनुसार बजारमा चलेका ब्राण्डका तुलनामा नयाँ-नयाँ आएका कम्पनीले माल पठाउँदा सुरुसुरुमा भुक्तानीमा कडाइ गर्दैनन्। त्यसैले नयाँ-नयाँ नाम र प्याकेजिङका चामल धेरै देखिएका हुन्।
‘अहिले धेरै खाद्य किराना पसल खुलेका छन्। मार्टहरू आए, व्यापार घटेको छ,’ उनले भने, ‘यसले गर्दा जुन कम्पनीबाट सस्तोमा पाइन्छ र नाफा हुन्छ, त्यही सामान धेरै पाइने गरेको हो। नियमित एउटै ब्राण्ड नै चाहिन्छ भन्ने उपभोक्ता पनि निकै कम छन्।’
व्यवसायीहरूका अनुसार यतिबेला उपत्यकाको चामलमा जिरा मसिनो २५ केजी बोराको १८ सयदेखि २१०० रुपैयाँ छ। सोना मन्सुली १६५० देखि १८०० रुपैयाँसम्म छ। ब्राण्ड र ठाउँअनुसार भाउ तलमाथि पर्ने गरेको छ।
ब्राण्ड बिगार्न चलखेल
उद्योगहरूले आफ्नो बजार पकडलाई स्थिर राख्न गुणस्तरमा अत्यधिक ध्यान दिनुपर्छ। बजारमा चलेका कुनै ब्राण्डका चामल स्वादिलो मानेका उपभोक्ताले दोस्रो पटक त्यही ब्राण्डमा उस्तै स्वाद नभएको गुनासो सुनिने गरेको छ।
यो असत्य पनि होइन। बजारमा चलेका ब्राण्डको जस्तै प्याकिङमा अन्य ल्याउने र उस्तै बोरामा प्याकिङ गरेर बजार पठाउनेहरू पनि सक्रिय रहेका विभिन्न घटनाले देखाएका छन्।
गत फागुन अन्तिम साता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र सम्बन्धित पालिकाका प्रतिनिधिसहितको टोलीले काठमाडौंका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दै तीन वटा गोदाममा सिलबन्दी गरेको थियो।
तारकेश्वर-९ को देवकोटा चिउरा तथा चामल मिल, नागार्जुन-७ को हलेसी फुड खाद्य उद्योग र नागार्जुन-४ को गढीमाई प्याकेजिङ उद्योगका गोदाममा सिलबन्दी गरिएको थियो। अनुगमनका क्रममा यी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट आवश्यक अनुमति नलिएको पाइएको र विभिन्न फर्म तथा कम्पनीहरूको ब्रान्ड र ट्रेडमार्क प्रयोग गरी बोरामा प्याकेजिङ गर्नुका साथै खाद्य सामग्री उचित तरिकाले भण्डारण नगरेको टोलीले जनाएको थियो।
नागार्जुन-४ को गढीमाई प्याकेजिङ उद्योगले चर्चित चामलका ब्रान्डहरू थकाली, नेवारी लगायतका बोरामा खुला चामल भरेर बेचेको पनि टोलीले जनाएको थियो।

पुग्दैन स्वदेशी उत्पादनले
चामलको मागलाई स्वदेशी उत्पादनले धान्दैन। त्यसैले मुलुकमा बर्सेनि भारतबाट उल्लेख्य परिमाणमा धान-चामल आयात हुँदै आएको छ। नेपालका राइस मिलहरूले स्थानीयस्तरको खरिदले नपुगेर आयातित धान प्रशोधन गरेर चामल बजारमा पठाउने गरेका छन्।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा करिब १२ अर्ब ५ करोड रुपैयाँको ३१ करोड ९० लाख ११ हजार केजी धान र ९ अर्ब २८ करोड रुपैयाँको ३ करोड ९७ लाख ७ हजार केजी चामल आयात भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ८ महिनामा १६अर्ब ६३ करोड ६२ लाख रुपैयाँको ४३ करोड ६१ लाख २६ हजार केजी धान आयात भइसकेको छ। सोही अवधिमा १२ अर्ब ३२ करोड रुपैयाँको १५ करोड ४० लाख ५९ हजार केजी चामल आयात भएको छ।
मुलुकमा गत आव धान उत्पादन बढेको थियो। आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २५ हजार मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर ५९ लाख ५५ हजार केजी धान उत्पादन भएको तथ्यांक छ।