मर्चेन्ट बैंकरको व्यवसाय बढ्ने गरी नियमावली संशोधन, अन्डरराइटिङमा लचकता

बिजमाण्डू
२०८१ चैत्र ११ गते १८:४४ | Mar 24, 2025
मर्चेन्ट बैंकरको व्यवसाय बढ्ने गरी नियमावली संशोधन, अन्डरराइटिङमा लचकता


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मर्चेन्ट बैंकरहरुका लागि धितोपत्र प्रत्याभूति(अन्डरराइटिङ)को सीमा बढाएको छ।

Tata
GBIME
NLIC

सेबोनले धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर) नियमावली, २०६४ को अनुसूचीमा संशोधन गरेर बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीको नेटवर्थसम्म अन्डरराइटिङ गर्न पाउने व्यवस्था गरेको हो।

‘बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीको सहायक कम्पनी र त्यस्तो कम्पनीको मुख्य कम्पनीबीच मुख्य कम्पनीले दायित्व सकार्ने गरी करार सम्झौता भए मुख्य कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिमको नेटवर्थमा नबढ्ने गरी मर्चेन्ट बैंकरले प्रत्याभूति गर्न सक्नेछ,’ संशोधित नियमावलीमा भनिएको छ।

मर्चेन्ट बैंकरले यसअघि कम्पनीको नेटवर्थको तीन गुणासम्म अन्डरराइटिङ गर्न सक्ने व्यवस्था रहेकामा अब मुख्य कम्पनीको नेटवर्थसम्म नै अन्डरराइटिङ गर्न पाउने भएका छन्।

यस्तै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका सहायक कम्पनीले मर्चेन्ट बैंकरको लाइसेन्स लिन चाहेको अवस्थामा केही लचकता अपनाइएको छ।

सेबोनले अन्डरराइटिङ व्यवसाय गर्ने मर्चेन्ट बैंकरका लागि ७ करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ। यसअघि गत माघमा मर्चेन्ट बैंकरले आइपीओ निष्कासन गर्न दिने सक्ने व्यवस्था सेबोनले गरेको थियो।