बाइकको बजार बाउन्स ब्याक हुँदै, इभी आयात १९% ले बढ्दा बिक्रेता नयाँ नीतिले भयमा

शुक्र गिरी
२०८१ चैत्र ८ गते ०६:०८ | Mar 21, 2025
बाइकको बजार बाउन्स ब्याक हुँदै, इभी आयात १९% ले बढ्दा बिक्रेता नयाँ नीतिले भयमा


काठमाडौं। दुई पाङ्ग्रे इन्धन सवारीसाधनको बजार बाउन्स ब्याक हुँदै गएको देखिएको छ। चालु आर्थिक वर्ष इन्धक बाइकको आयात ५६ प्रतिशतले उकालो लागेको छ।

Tata
GBIME
NLIC

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार विद्युतीय र इन्धन सवारीसाधन दुवैको आयात बढेको हो।

इन्धन दुई पाङ्ग्रे सवारीसाधनको आयात सबैभन्दा धेरै बढेको छ। दुई पाङ्ग्रे इन्धन सवारीसाधनको आयात पोहोर ८ महिनाको तुलनामा ५६ प्रतिशतले बढेको हो।

यसपालि ८ महिनामा दुई पाङ्ग्रे इन्धन सवारीसाधन १ लाख २७ हजार ६०२ युनिट भित्रिएको तथ्यांक छ। ती सवारीसाधन १५ अर्ब ४० करोड रुपैयाँ बराबरका हुन्।

पोहोर पहिलो ८ महिनामा ९ अर्ब ५४ करोड रुपैयाँ बराबरका ८१ हजार ७१० युनिट दुई पाङ्ग्रे इन्धन सवारीसाधन आयात गरिएको थियो।

यस्तै, चार पाङ्ग्रे इभीको आयात १९ प्रतिशतले बढेको देखिन्छ। चालु आवको ८ महिनामा २१ अर्ब ६२ करोड बराबरका ८ हजार ७७५ युनिट चार पाङ्ग्रे इभी आयात भएको विभागको तथ्यांक छ। ती इभीमध्ये १६ सय ८६ वटा कमर्सियल हुन्। पोहोर ८ महिनामा ७ हजार ५२ युनिट चार पाङ्ग्रे इभी आयात गरिएको थियो।

यसपालि फागुनमा मात्रै ९६९ युनिट चार पाङ्ग्रे इभी आयात भएका छन्। तीमध्ये ८३३ युनिट जीप, कार र भ्यान हुन्।

विभागका अनुसार चार पाङ्ग्रे इभीबाट सरकारले यसपालि ८ महिनामा ११ अर्ब ४३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको हो।

यसैगरी, तीनपाङ्ग्रे इभी १ अर्ब ३४ करोड बराबरका १२ हजार ८९५ युनिट आयात भएका छन्। यसबाट सरकारले ४५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

दुई पाङ्ग्रे इभी ६६ करोड ४६ लाख रुपैयाँ बराबरका ७ हजार १७५ युनिट आयात भएका छन्। यसबाट सरकारले २३ करोड ५८ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

यस्तै, इन्धन प्यासेन्जर सवारीसाधनको आयात २९ प्रतिशतले बढेको छ। गत वर्ष ८ महिनामा ३ अर्ब ९५ करोड रुपैयाँ बराबरका ३ हजार ८९४ युनिट इन्धन प्यासेन्जर सवारीसाधन आयात भएकामा यो वर्ष सोही अवधिमा त्यो संख्या ५ हजार ५१५ युनिट पुगेको छ।

यसपालि ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको इन्धन प्यासेन्जर सवारीसाधन आयातबाट सरकारले १० अर्ब ९८ करोड रुपैयाँ राजस्व पाएको छ। पोहोर यस्ता गाडी आयातबाट ९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

इन्धन कमर्सियल गाडीको आयात भने केही घटेको छ। गत वर्ष ८ महिनामा ४ अर्ब १७ करोड रुपैयाँ बराबरका २ हजार ७३७ युनिट कमर्सियल इन्धन गाडी आयात भएकामा यसपालि सोही अवधिमा ४ अर्ब ४८ करोड रुपैयाँ बराबरका २ हजार ५०२ युनिट भित्रिएका छन्।

इभी चीनका धेरै, इन्धनमा भारतका बढी

आयात गरिएका इभीमा चिनियाँको हिस्सा धेरै छ। चीनबाट मात्रै ६ हजार ८८३ युनिट इभी आयात गरिएको छ। भारतबाट भने १८ सय ५६ युनिट भित्र्याइएको छ।

यस्तै कोरियाबाट ३, इन्डोनेसियाबाट १, जर्मनीबाट २७ र अमेरिकाबाट ५ युनिट चार पाङ्ग्रे इभी आयात गरिएको छ।

तर, इन्धन सवारीसाधन भारतबाट धेरै ल्याइएको छ। इन्धन प्यासेन्जर सवारीसाधन भारतबाट ५ हजार २१०, चीनबाट १२, अमेरिकाबाट ७, कोरियाबाट १०८, थाइल्यान्डबाट २४, जापानबाट ११५ र इन्डोनेसियाबाट १४ युनिट आयात गरिएको हो। मलेसिया, बेलायत र जर्मनीबाट पनि थोरै संख्यामा ल्याइएको छ।

५० किलोवाटसम्म मोटर पावर भएका २५ सय ४०, ५१-१०० किलोवाट मोटर पावरका ३८ सय ९७, १०१-२०० किलोवाट मोटर पावरका ६५४ , २०१-३०० किलोवाट मोटर पावरका १४ र ३०० किलोवाट मोटर पावरमाथिका २ युनिट छन्।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले खुम्चिने भय

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत लोन टु भ्यालु रेसियोमा गरेको परिवर्तनले खासगरी इभीको आयात घट्ने व्यवसायीहरुको अनुमान छ।

राष्ट्र बैंकले फागुनको मध्यमा इभीका लागि बैंकहरुले प्रवाह गर्ने ऋणको दायरा ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेको छ भने इन्धन सवारीका लागि ५० बाट ६० पुर्‍याएको छ। इभी खरिद गर्ने ग्राहकले यसअघि मूल्यको ८० प्रतिशत ऋण पाइरहेका थिए। अबदेखि इन्धन गाडिमा जस्तै ६० प्रतिशत मात्रै ऋण पाउनेछन्।

यो व्यवस्थाले इभीको बिक्री २० प्रतिशतले घट्ने व्यवसायीहरुको अनुमान छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजनबाबु श्रेष्ठले ग्राहकहरुले इभी खरिद गर्दा पाउने ऋणमा गरिएको नयाँ व्यवस्थाले आगामी दिनमा आयात घट्ने बताए।

‘धेरै पछि अटो बजार विस्तारै लय समात्ने अवस्थामा थियो। राष्ट्र बैंकले एकाएक नयाँ व्यवस्था गरिदियो। जसले इभीको आयात आगामी दिनमा खुम्चिने देखिन्छ,’ उनले भने, ‘फागुनसम्मको तथ्यांक नयाँ व्यवस्था आउनुभन्दा अगाडिको हो। हामीलाई नयाँ व्यवस्थाले इन्धन गाडीको बिक्री बढ्ने विश्वास पनि छैन।’