
नेपाल प्रहरीले सोमबार राति काठमाडौंको टोखाबाट ट्रकमा राखिएको २५ करोड १९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गर्यो। ट्रक चालक पनि समातिए। तर, ट्रकमा भएको विदेशी मुद्रा कसको हो? यतिको ठूलो परिमाणमा विदेशी मुद्रा कसरी आयो? बैंक तथा वित्तीय संस्थामा समेत सटहीका लागि पर्याप्त मात्रामा डलर नभइरहेको अवस्थामा तस्करको हातमा कसरी पुग्यो? कतै हाम्रो प्रणालीको कमजोर छिद्रबाट त बाहिरिएको होइन? यस विषयमा बिजमाण्डूका सविन ढकालले नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेललाई सोधे- यति ठूलो परिमाणमा विदेशी मुद्रा बरामद् हुनुलाई नेपाल राष्ट्र बैंकले कसरी लिएको छ?
हामीले समाचारमा पढ्यौं २५ करोड बराबरको विदेशी मुद्रा बरामद भन्ने। त्यो पैसा बैंकिङ च्यानल अथवा फर्मल च्यानलबाट गएको होइन जस्तो लाग्छ हामीलाई। किनभने बैंक तथा वित्तीय संस्थाबाट अथवा इजाजतप्राप्त विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरुलाई त्यति धेरै मात्रामा विदेशी मुद्रा उपलब्ध गराउने व्यवस्था नै छैन। जस्तो विदेश घुम्न जानेहरूले हवाई टिकट देखाएपछि पाउने सुविधा धेरै कम छ। त्यसबाहेक इम्पोर्ट गर्नेहरुले बैंकबाट नै विदेशी मुद्रा पठाउने हो। उनीहरुले क्यास पाउँदैनन्। डलरका एकाउन्ट भएका व्यक्ति तथा संस्थाहरुले कार्डबाट मात्र खर्च गर्न पाउँछन्। केही निश्चित विदेशी कूटनीतिज्ञबाहेकले नगद झिक्न सक्ने व्यवस्था छैन।
त्यसो भए यत्रो पैसा कसरी जम्मा भयो भन्ने लाग्छ?
रेमिटेन्सको रुपमा विदेशी मुद्रा आउँछ। तर, त्यो नेपालीमा कन्भर्ट हुन्छ। पैसा जसको हो उसले नेपाली मुद्रा लिन्छ। डलर चाहिँ बैंकहरुले सेन्ट्रल बैंकलाई बेच्छन्। त्यो बराबरको मुद्रा चाहिँ बैकसँग नेपाली मुद्राको लिक्विडिटी हुन्छ। यस्तो पैसा चाहिँ सामान्यतया पर्यटकहरूले खर्च गर्ने हुन्छ। विदेशीहरूले नेपाल आउँदा ५ हजारसम्म विदेशी मुद्रा ल्याउन पाउँछन्। तर अनिवार्यरुपमा भन्सारमा खुलाउनुपर्छ। स्रोत पनि खुलाउनुपर्छ। ५ हजारभन्दा बढी डलर विदेशबाट ल्याउनै पाइँदैन। यसरी हेर्दा बरामद रकम फर्मल च्यानलबाट झिकिएको पक्कै पनि होइन। इन्फर्मल माध्यमबाट नै ल्याइएको हो।
फर्मल च्यानलबाट होइन भन्नुभयो। तर, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र मनिचेन्जरबाट जान सक्ने सम्भावना कतिको हुन्छ ?
मनिचेन्जरहरुले पनि आज कलेक्सन गरेको पैसा (डलरमा) भोलिपल्ट बैंकमा लगेर जम्मा गर्नै पर्छ। त्यसको हरेक बिल र रसिद काट्नुपर्छ। राष्ट्र बैंकको सिस्टममा इन्ट्री गर्नैपर्छ। त्यसैले फर्मल च्यानलबाट सम्भव नै छैन।
कतै मनिचेन्जरमा राष्ट्र बैंकको सुपरभिजन घटेको त होइन?
त्यति धेरै ठूलो एमाउन्ट मनिचेन्जरमा हुँदैन। त्यहाँ सानो परिमाणमा सटही हुने गर्छ। अहिले गलत नियतका व्यक्ति बैंक तथा मनिचेन्जरमा पुग्न सक्दैन। किनभने अहिले मनिचेन्जरलाई निरीक्षण गर्न हाम्रो छुट्टै विभाग छ। उसले समय समयमा निरीक्षण र प्रत्येक दिनको खरिद बिक्रीको विवरण पनि लिन्छ। त्यसैले मनिचेन्जर र बैंकबाट यो सम्भव नै हुँदैन। त्यसबाहेक होटल, ट्राभल एजेन्सीले पनि केही निश्चित मनिचेन्जर एसेप्ट गर्छन्।
त्यसो भए यत्रो पैसा कसरी जम्मा भयो होला त?
हामीकहाँ ओपन बोर्डर छ। यत्रो यत्रो सुन आउँछ भने मुद्रा नआउला भन्न सकिन्न। इन्फर्मल मार्केटमा कुनै कमीकमजोरी भए त्यसलाई हामी सुधार गरेर जानुपर्छ। अवैध बाटोबाट नै आएको हुनसक्छ। नत्र टुरिस्टहरू बढी रहेको बेला मनिचेन्जरमा नै नगई कसैले कलेक्सन गरेको हुनसक्छ। होटलमा विदेशीले नगदमा पनि भुक्तानी गर्न पाउँछ। होटल होटलमा गएर कसैले ब्ल्याकमा किन्न पनि सक्छ। कुनै विदेशीले नेपालबाट वस्तु तथा सेवा किनेर नगदमा भुक्तानी गर्ने सम्भावना त रह्यो। तर इन्फर्मल तरिकाबाट पेमेन्ट हुनसक्छ।
तपाइँहरूले प्रहरीसँग केही बुझ्नु भयो त?
हामीले त समाचारबाट नै सुनेको हो। थप केही सूचना सेयर भयो भने हामी बैंक तथा मनिचेन्जरलाई हेर्नुपर्ने भयो भने हेर्छौं।
भर्खर हामी ग्रे लिस्टमा परेका छौं। यस्ता घटना आइरहँदा हामीलाई ग्रे लिस्टबाट बाहिर निस्कन गाह्रो हुँदैन?
यो प्रकरणमा अनुसन्धान भइरहेको छ। यसको डिटेल खुल्दै जाला। के को लागि हो? कहाँबाट ल्याइएको हो? कसको संलग्नता छ? नेपाल प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइसकेको छ। यतिले नै हाम्रो सम्पत्ति शुद्धीकरण र ग्रे लिस्टलाई त्यति धेरै प्रभाव पार्ने होइन। यदि त्यो विषयको कसुर रहेछ भने हामीले त्यस अनुसारको सजाय गर्न सकेनौं, कारबाही गर्न सकेनौं भने त्यो चाहिँ गम्भीर कुरा हो।
कतै एफआइयूको निगरानी शून्य भएको सोमबारको घटनाले देखाउँदैन?
एफआइयूले यसरी निगरानी प्रत्यक्ष हुँदैन। कुनै पनि बैंक तथा वित्तीय संस्था, डीएनएफपीपीहरु (मनिचेन्जर, सुनचाँदी पसल आदि)ले आफूकहाँ कुनै ग्राहक आउँदा कारोबारमा शंका लागेमा रिपोर्टिङ चाहिँ एफआइयूमा गर्नुपर्छ।