खाद्यान्नको बिक्री घट्दा सस्तिन थाल्यो दाल र गेडागुडी, तेल र मैदाको भाउ भने बढ्यो

बिजमाण्डू
२०८१ चैत्र ६ गते ११:५४ | Mar 19, 2025
खाद्यान्नको बिक्री घट्दा सस्तिन थाल्यो दाल र गेडागुडी, तेल र मैदाको भाउ भने बढ्यो


काठमाडौं। बजारमा केही दैनिक उपभोग्य बस्तुको मागमा कमी आएपछि भाउ सस्तिन थालेको छ। यतिबेला चामल, दाल र गेडागुडीको भाउ घटेको हो।

Tata
GBIME
NLIC

तेल, आटा र मैदाको भाउ भने बढेको व्यवसायीले बताएका छन्। खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले खाद्यान्नको भाउमा सामान्य घटबढ भएको बताए।

‘दालको भाउ घटिरहेको छ, चामलको भाउ कम्पनी अनुसार बोरामा ५० रुपैयाँसम्म फरक पर्ने छ,’ उनले भने।

पहिले प्रति केजी १४५ रुपै‌याँ पर्ने मसुरको दाल घटेर प्रति केजी १३२ देखि १३५ रुपैयाँमा आइपुगेको छ। मासको दालको १८० रुपैयाँ छ। अन्य प्रकारका दालको भाउ केजीमा १० देखि १५ रुपैयाँ घटेको छ।

चामलको भाउ प्रति बोरा १८०० रुपैयाँदेखि २१०० रुपैयाँ थोक मूल्य रहेको उनले जानकारी दिए। चामलको भाउ धेरै नघटेको र अब नयाँ धानको सिजन सकिएपछि भाउ बढ्दै जाने उनको भनाइ छ।

यतिबेला खाद्यान्नको बिक्री निकै कम छ। खाद्यान्नको मागमा कमी आएपछि कम्पनीहरूले मूल्य घटबढ गर्दा ठाउँअनुसार खाद्यान्नको मूल्य फरक पर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

सामाखुसीस्थित गोर्खाली खाद्य स्टोरका संचालक कृष्ण भट्टका अनुसार मैदा आटा र तेलको भाउ उकालो लागेको छ। खाने तेलको निर्यात बढेपछि बजारमा भाउ बढ्दै गएको उनले बताए।

यतिबेला सूर्यमुखी तेलको उपभोक्ता मूल्य प्रति लिटर २५० रुपैयाँ छ। कार्टुनको २४०० रुपैयाँ पर्छ। भटमासको तेल प्रति कार्टुन २४५० रुपैयाँ छ।

मैदा बोराको ४ हजार रुपैयाँ छ। उपभोक्ता मूल्य प्रति केजी ९० रुपैयाँ छ। पहिले मैदाको उपभोक्ता मूल्य प्रति केजी ८० रुपैयाँ थियो।

आटाको मूल्य सोही हाराहारीमा छ। उनका अनुसार चामलको मूल्य कम्पनी अनुसार बोरामा ५० रुपैयाँ फरक रहेको छ।

बानेश्वरको सुनादेवी किराना स्टोरका संचालक समर कठायतका अनुसार तेल, मैदा र आटाको मूल्य धेरै बढेको छ। अहिले गहुँको सिजन नभएकोले बजारमा मैदा र आटाको भाउ बढिरहेको उनको भनाइ छ।

‘पहिले ५ केजीको ४५० रुपैयाँमा आउने आटा अहिले बढेर ४८० देखि ४९० रुपैयाँ पर्न थालेको छ। ८० रुपैयाँदेखि ८५ रुपैयाँ पर्ने मैदा बढेर ९५ देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ। तेलको भाउ कार्टुनमा ५० रुपैयाँसम्म बढेको छ,’ उनले भने।

उनका अनुसार सूर्यमुखी तेल कार्टुनको २४५० रुपैयाँ पुगेको छ। भटमास तेल प्रति कार्टुन २५०० रुपैयाँ छ। यसअघि तेलको भाउ सूर्यमुखीको २३५० रुपैयाँ र भटमासको कार्टुनमा २४०० रुपैयाँ थियो।

त्यस्तै, राम्रो चामलको भाउ खुद्रा बजारमा बोरामा २० देखि ३० रुपैयाँ बढेको संचालक कठायत बताउँछन्। सामान्य खालका चामलको भाउ यथावत रहेको उनले बताए।

बजारमा चनाको भाउ पनि घटेको छ। प्रति केजी १७० रुपैयाँ रहेको चना अहिले प्रति केजी १५० रुपैयाँमा आइपुगेको छ।

सेतो केराउ पनि केजीमा १० रुपैयाँ घटेर १६० रुपैयाँमा झरेको छ। खुद्रा बजारमा पनि दालको भाउ केजीमा २० रुपैयाँसम्म घटेको उनले जानकारी दिए।

किराना व्यवसायीका अनुसार जिराको मूल्य पनि घटेको छ। यतिबेला जिरा प्रति केजी ५५० रुपैयाँदेखि ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। चिनीको मूल्य बढेर खुद्रा बजारमा प्रति केजी १०० रुपैयाँ पर्न थालेको छ।

बजारमा खाद्यान्नको बिक्री घट्दा कम्पनीहरूबीच मूल्यमा प्रतिस्पर्धा चलिरहेको छ। जसले गर्दा भाउ तलमाथि भइरहेको हो।