
काठमाडौं। कोइरालोको अचार मन पराउनेका लागि खुसीको खबर छ। उपत्यकाको बजारमा आपूर्ति बढ्न थालेपछि कोइरालो सस्तिएको छ। यसपटक फागुनको तेस्रो सातादेखि यो कृषि उपज बजारमा आउन सुरु भएको हो।
भाउ क्रमिक घटेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ। थोक बजारमा मंगलबार प्रति किलो १६६ रुपैयाँ ६७ पैसाले किनबेच भइरहेको छ।
फागुनको अन्तिम दिन कालिमाटीमा प्रति केजी ३७६ रुपैयाँ रहेको कोइरालो गत आइतबार प्रतिकेजी न्युनतम १८० देखि २०० रुपैयाँमा आइपुगेको थियो। गत शुक्रबार एकैदिन ११५५ केजी कोइरालो थोक बजारमा आएपछि भाउ ५० प्रतिशतसम्म घटेको समितिले जनाएको छ।
समितिका अनुसार हरेक दिन कालीमाटी बजारमा १२५ केजी देखि ३५० केजीसम्म कोइरालो आइरहेको छ। यसको मुख्य सिजन चैत महिना हो। फागुनको अन्तिमदेखि नै बजारमा आउने गर्छ। कोइरालोलाइ अचार बनाउन प्रयोग गरिन्छ। यसको अचार खान हुने अन्त कृषिउपजका तुलनामा यसको उत्पादनसँगै र खपत पनि कम हुने गरेको छ।
नेपाल फलफूल तथा तरकारी महासंघका निवर्तमान अध्यक्ष खेमप्रसाद घिमिरेले कोइरालोको मध्य सिजन भएकाले भाउ घट्न थालेको बताए। ‘१५ दिन अघिबाट कोइरालो बजारमा आउन थालेको हो। सुरुवातमा किलोको ६ सय रुपैयाँभन्दा बढीमा किनबेच भएको थियो,’ उनले भने।
दैनिक आपूर्ति बढेसँगै भाउ ओरालो लागेको उनले बताए। ‘अबको केही समय भाउ घट्छ। उपभोक्ताले प्रति केजी १०० देखि १५० रुपैयाँमा खरिद गर्न पाउने दिन पनि आउँछ,’ उनले भने। चैतको तेस्रो सातासम्म कोइरालोको सिजन सकिने उनले बताए।
उनका अनुसार सिजन सिजनमा बजारमा दैनिक २ सय देखि ३ सय केजी आपूर्ति हुने गरेको छ। यसको व्यवसायिक रुपमा खेती नहुने भएकोले उत्पादन उल्लेख्य परिमाणमा हुँदैन।
‘बजारमा एकैपटक ठूलो परिमाणमा आयो भने बिक्री गर्न समस्या हुन्छ। फूल त हो, छिटै बिकेन भने ओइलाउँछ,’ उनले भने, ‘उपभोक्ताले फ्रेस खोज्छन्।’ रुखबाट टिपेर धेरै दिन त्यसै राख्न नमिल्ने र छिटै बिग्रने भएकाले हरेक दिन थोरै थोरै परिमानमा बजारमा आउने उनको भनाइ छ।
कोइरालोको उत्पादन धादिङ, नुवाकोट, मकवानपुर,काठमाडौं र काभ्रे लगायतका जिल्लामा हुने गरेको छ।