१७ वर्षमा जंगल छिरेर करोडौं जोडेका बमजन, जग्गादेखि विलासी गाडीको खुलाउन सकेनन् स्रोत

बिजमाण्डू
२०८१ फागुन २९ गते २०:५१ | Mar 13, 2025
१७ वर्षमा जंगल छिरेर करोडौं जोडेका बमजन, जग्गादेखि विलासी गाडीको खुलाउन सकेनन् स्रोत


काठमाडौँ। आफूलाई लिटिल बुद्ध बताउने रामबहादुर बमजन सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन्। सर्लाही जिल्ला अदालतमा उनीविरुद्ध केही साताअघि मुद्दा दर्ता भइसकेको छ। उनको सम्पत्तिमध्ये ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँको स्रोत भेटिएको छैन। भक्तहरूले दिएको दान भने पनि जुन कानुन अनुसार वैध देखिँदैन। बमजनको नाममा चितवनमा जग्गा, विदेशी मुद्रा र महंगा सवारीसाधन भेटिएका छन्।

Tata
GBIME
NLIC

उनका नाममा चितवनमा २०७४ साल असार एकै समयमा जग्गा लिएको देखिन्छ। चितवनको कल्याणपुर, शारदानगर, मङ्गलपुर, पार्वतीपुर र गुञ्जननगरमा विभिन्न कित्तामा जग्गा रहेको भेटिएको छ। चितवनको कल्याणपुर ८ वडा मा २०७४ असार १९ गते ५ लाख ३० हजारमा जग्गा खरिद गरेको देखिएको छ। त्यस्तै सोही मितिमा गुञ्जननगरमा ४ लाखमा, शारदानगरमा ५ लाख ३५ हजारमा, मङ्गलपुरमा दुई ठाउँमा गरेर ४ लाख २० हजारमा खरिद गरेका थिए।

त्यसपछि असार २२ मा नै शारदानगरमा ३ लाख ५० हजारमा अर्को जग्गा खरिद गरेका थिए। त्योभन्दा दुई दिनअघि सोही नगरपालिकामा ३ लाख ५० हजारमा अर्को जग्गा जोडेका हुन्। अनुसन्धानपछि यी जग्गाहरू रोक्का राखिएको छ।

अनुसन्धानमा बमजनले गैरकानुनी रूपमा प्राप्त रकम र स्रोत नखुलेको रकमबाट आफ्नो नाममा मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास गरेको देखिएको छ। तर उनले जग्गा आफूलाई भक्तहरूले दानमा दिएको दाबी गरेका छन्। तर अनुसन्धानकर्ताले दान तथा चन्दाको रूपमा लिँदा पनि कानुनी प्रक्रिया पुरा नगरेको देखाएको छ।

त्यस्तै बमजनले महंगो गाडी तथा सावारीसाधन लिएको समेत देखिएको छ। १ करोड ६ लाखमा टोयटाको हाइलक्स खरिद गरेको देखिएको हो। जसको स्रोत खुलेको छैन। बा प्रदेश ०१-०२५ च ३६४० नम्बरको गाडी किनेका थिए। २ करोड मूल्यमा टोयटाको फर्चुनर समेत रहेको छ। त्यस्तै बाँकी ४ वटा मोटरसाइकलको खरिद गरेका थिए। यसरी सवारीसाधनमा ४ करोड ८९ लाख ८३ हजार ९८१ रुपैयाँ खर्च गरेका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले काठमाडौँको बुढानीलकण्ठ-६ टन गाउँमा लुकीछिपी बस्दै आएका बमजनलाई पक्राउ गरेपछि उनले आश्रय लिएको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ नगद बरामद गरेको थियो।

त्यहीँबाट १७ मुलुकका मुद्रा ३० लाख ९२ हजार ४ सय ६.७ रुपैयाँ बराबरको भेटियो। घरको दोस्रो तलामा रहेको सेफभित्र रकम मिलाएर राखेको अवस्था भेटिएको हो। बरामद रकममा विभिन्न बैंकबाट झिकेको ट्याग समेत थियो।