कर्पोरेट शैलीमा ह्याम्स हाँकिरहेका भण्डारी, अबको पाँच वर्षमा ‘दोस्रो ह्याम्स’ बनाउँछु

भावना शर्मा
२०८१ फागुन २५ गते १२:१८ | Mar 9, 2025
कर्पोरेट शैलीमा ह्याम्स हाँकिरहेका भण्डारी, अबको पाँच वर्षमा ‘दोस्रो ह्याम्स’ बनाउँछु


काठमाडौं। केहीअघि विदेशबाट आएको नेपाली परिवार घुम्नका लागि बच्चाहरुसहित सिन्धुपाल्चोकको सुकुटे पुगेको थियो। खेल्दाखेल्दै तीनै मध्ये एक बालक स्विमिङ पुलमा डुबेर अचेत बने। उनलाई तत्काल खाडीचौरको सिन्धु सदाबहार अस्पताल पुर्‍याइयो। डाक्टरको भनाइ अनुसार बच्चाको अवस्था ‘क्रिटिकल’ रहेछ। ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीलाई तत्काल ती बच्चाको अवस्था ‘ब्रिफ’ गर्दै कल आयो।

Tata
GBIME
NLIC

कल आएको २० मिनेटमै उनले पठाएको हेलिकोप्टर त्यहाँ पुग्यो र बच्चालाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल ल्याइयो। जटिल अवस्थामा ल्याइएका बच्चा ह्याम्समा केही दिनको उपचारपछि सकुशल घर फर्किए।

यो केसका लागि आफूले गरेको समय व्यवस्थापन र ह्याम्सको उपचार प्रक्रियाबाट बच्चाको ज्यान जोगाउन सकेकोमा उनी हर्षविभोर छन्। किनभने यसलाई उनी ‘बेसिक टाइम म्यानेजमेन्ट’ र ‘अन टाइम सर्भिस’को नमुना भन्छन्।

लामो समयदेखि निरन्तर स्वास्थ्य क्षेत्रसँग जोडिएका भण्डारीकै भिजनअनुसार ह्याम्स अस्पताल पहिलो आइपीओ जारी गर्ने कम्पनी बन्दैछ।

ह्याम्स अस्पतालको हेलिप्याडमा अध्यक्ष आरएस भण्डारी

खासमा भण्डारी जुन तहसम्म सोचेर अस्पतालहरुको व्यवस्थापन गरिरहेका छन् त्यसमा ज्यान जोगिनुको खुशी जस्तो अरु के नै छ र!

आर एस भण्डारी भन्छन्, ‘अस्पताल चलाउनु कुनै ठूलो कुरा होइन। समयमा अस्पताल पुर्‍याएर त्यहाँ सही उपचार दिन सक्नु चाहिँ महत्त्वपूर्ण हो। किनभने २ मिनेटअघि मात्र अस्पताल पुर्‍याउन सकेको भए ज्यान बाँच्थ्यो भन्ने हामीले सुन्दै आएका छौं। त्यसैले हामीले दिने सेवा भनेकै समयमै सही उपचार हो।’

दैनिक १५ सयको ‘फुटफल’ रहेको ह्याम्स अस्पतालका अध्यक्षमा मात्र सीमित छैन आर एस भण्डारीको परिचय।अस्पतालसँगको साइनो त उनको निकै पुरानो हो। विसं २०६५ सालमा खाडीचौरमा सिन्धु सदाबहार अस्पताल उनकै नेतृत्वमा खुलेको थियो। १६ वर्षअघि नै जोडिएको भक्तपुरस्थित नागरिक कम्युनिटी अस्पतालमा ठूलो लगानीका साथ ६ महिनाअघि भण्डारीकै टिम भित्रिएको छ।

‘आर्थिक रुपमा कठिनाइ भइरहेको रहेछ। मेरो टिमलाई विश्वास गरेर उहाँहरुले आग्रह गर्नुभयो। हामीले लगानी गर्‍यौं। अब ‘दोस्रो ह्याम्स’को रुपमा नागरिक अस्पताललाई अत्याधुनिक कर्पोरेट अस्पतालका रुपमा स्थापित गर्न लागिपरेका छौं,’ उनले भने।

भण्डारीकै भनाई सापटी लिएर भन्दा अबको पाँच वर्ष उनी एकोहोरो नागरिक अस्पतालकै रुपान्तरणमा जुट्नेछन्।

विसं २०७३ सालदेखि ह्याम्स अस्पतालको व्यवस्थापन नेतृत्वमा लिँदा अस्पताल झण्डै कोल्याप्स को हालतमा थियो। तर, उनको नयाँ टिम र नवीन व्यवस्थापन शैलीका कारण अस्पतालले रुप फेर्‍यो।

लामो समयदेखि निरन्तर स्वास्थ्य क्षेत्रसँग जोडिएका भण्डारीकै भिजनअनुसार ह्याम्स अस्पताल पहिलो आइपीओ जारी गर्ने कम्पनी बन्दैछ। ११ करोडको आइपीओ सर्वसाधारणलाई जारी गरेपछि ह्याम्सको पुँजी पौने १ अर्ब रुपैयाँको पुग्नेछ। नागरिक अस्पतालको स्तरोन्नति र रुपान्तरणका लागि पनि उनले अर्बमाथिकै पुँजी लगानी हुने बताए।

उनी आफ्नो भिजनमा प्रष्ट छन्, ‘प्रोफेसन र करियर सुरु गर्दाको अनुभव मेहनत र दैनिक देखेभोगेका कुराबाट म नतिजा दिन सक्छु भन्ने कन्फिडेन्स मलाई छ। कुशल व्यवस्थापकले सिस्टममा बसेर काम गर्छ। अस्पताल जस्तो सेवा क्षेत्रमा व्यवस्थापनले गर्ने हरेक निर्णयले सकारात्मक प्रभाव पार्नुपर्छ। म हेल्थ सेक्टरलाई कर्पोरेट कल्चरमा लैजानुपर्छ भनेर नै यस क्षेत्रमा आएको हुँ।’

‌‌‌+++

विसं २०७३ सालदेखि ह्याम्स अस्पतालको व्यवस्थापन नेतृत्वमा लिँदा अस्पताल झण्डै कोल्याप्स को हालतमा थियो। तर, उनको नयाँ टिम र नवीन व्यवस्थापन शैलीका कारण अस्पतालले रुप फेर्‍यो। बुद्धनगरको एक भवनमा जेनतेन चलिरहेको अस्पताल धुम्बाराहीमा आफ्नै ११ तले भवनमा फैलिनु अनि अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुसहित अत्याधुनिक बन्दै जानुको श्रेय भण्डारी टिमकै उत्कृष्ट व्यवस्थापनलाई जान्छ।

यतिबेला ह्याम्स अस्पताल छिर्दा जो कोहीलाई पनि अस्पताल नभई कुनै कर्पोरेट हाउसमा छिरेजस्तो लाग्छ। हस्पिटल सम्झिँदा आउने गन्ध वा अव्यवस्थित भीडभाड यहाँ छैन। भित्र पस्यो, इन्क्वायरी गर्‍यो, टोकन लियो। बिरामी र कुरुवाका लागि कति सहज! अनि कुनै दुविधा वा प्रश्नमा तत्काल रेस्पोन्स गर्ने अस्पतालका स्टाफहरु।

ह्याम्समा डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. भोला रिजाल, डा. ज्योतिन्द्र शर्माजस्ता नाम चलेका डाक्टरहरुको टिम छ, जसको विज्ञता अस्पतालमा मात्र सीमित नभई देशकै स्वास्थ्य सेवाका लागि महत्त्वपूर्ण नीतिहरु बनाउँदाका बखत पनि काम लागिरहेको छ।

ह्याम्समा उपलब्ध विज्ञ डाक्टरहरुको टिमका कारण यो अझ विश्वासिलो अस्पताल बनेको भण्डारीले बताए।

गत सातादेखि मात्र ह्याम्स अस्पतालमा सानो क्याप्सुल जस्तो निलेर इन्डेस्कोपी गर्न मिल्ने जाँच प्रविधिको पनि सुरुवात भएको छ। उनले हामीसँग बिरामीलाई सहज बनाउन सकिने गरिएका नयाँ प्रविधिहरु भित्र्याइरहेको खुशी पनि बाँडे।

गुणस्तरीय सेवा, सुविधा र अत्याधुनिक प्रविधिका हिसाबले उनी ह्याम्सलाई भारतको म्याक्स र मेदान्तसँग तुलना गर्छन्।

उनी भन्छन्, ‘हामीकहाँ अझै पनि यो केस जटिल छ बरु थप उपचारका लागि भारत लैजाऔं भन्नेहरुको जमात ठूलो छ। तर, म के दाबी गर्छु भने भारतका कुनै पनि नाम चलेका ठूला अस्पतालमा भन्दा सस्तो र उस्तै किसिमको गुणस्तरीय सेवा यही दिइरहेका छौं।’

उनका अनुसार उपचारका लागि भारतमा जाँदा जति खर्च लाग्छ त्यसको एक तिहाइ दाममै ह्याम्समा गुणस्तरीय र अत्याधुनिक सेवा सुविधा उपलब्ध हुन्छ।

आर्थिक कठिनाइसँग जुधिरहेको १ सय बेड रहेको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालको ४३ प्रतिशत सेयर भण्डारी समूहले किनेपछि त्यहाँ पनि देखिने गरि परिवर्तन सुरु भइसकेको छ। गत भदौदेखि भण्डारी टिमले नागरिक सम्हालेको हो।

हाल त्यहाँ २४ घण्टा एमडीजीपी विशेषज्ञसहितको इमर्जेन्सी सेवा संचालनमा छ। यो सेवा अहिलेसम्म भक्तपुरका कुनै पनि अस्पतालको इमर्जेन्सीमा संचालनमा आएको थिएन। नागरिक अस्पतालका लागि अत्याधुनिक भवन निर्माणको काम समेत सुरु भइसकेको छ। हाइवेमा पर्ने भएकाले नागरिक अस्पतालले दुर्घटना तथा ट्रमालक्षित बिरामीहरुका लागि विशेष सेवा संचालनमा ल्याउने समेत उनी बताउँछन्।

ह्याम्समा जस्तै नागरिकमा पनि हेलिप्याड सहितकै भवन बन्ने उनले जानकारी दिए। अबको २ वर्षभित्र भवन निर्माणको सबै काम सकिने उनको आकलन छ।

कर्पोरेट शैलीको अस्पतालका रुपमा स्थापित भैसकेको ह्याम्सको स्ट्रेन्थलाई नागरिक अस्पतालसँग जोडेर भण्डारी अर्को नमुना अस्पताल बनाउने बाटोमा छन्।

नागरिक कम्युनिटी टिचिङ अस्पताल
ह्याम्स अस्पतालको हेलिप्याड

‌‌+++

स्वास्थ्य क्षेत्रसँग उनको साइनो जोडिएको विसं २०५१ सालदेखि नै हो।

सिन्धुपाल्चोकको खाडीचौरस्थित ११ किलोमिटर भन्ने ठाउँमा जन्मिएका भण्डारी गाउँबाटै एसएलसी सकेपछि कलेज पढ्न काठमाडौं आएका थिए। पशुपति क्याम्पसमा बिहानी कक्षा भर्ना भएपछि उनले दिउँसो त्रिपुरेश्वरमा मेडिकल उपकरण निर्यात गर्ने कम्पनीमा काम गर्न थाले। त्यसैबेलादेखि उनको प्रवेश स्वास्थ्य सेवा क्षेत्रमा भयो।

दैनिकी व्यवस्थापनका लागि जोडिएको जागिर नै अन्तत: उनका लागि व्यवस्थापन र स्वास्थ्य सेवा क्षेत्रमा अब्बल बनेर उभ्याइदियो, माध्यम बनिदियो।

भण्डारी पढाइ र अनुभव दुवैले स्वास्थ्य सेवा क्षेत्रको व्यवस्थापनमा कुशल बन्दै गए। विसं २०५८ सालमा उनले भण्डारी सर्जिकल हाउस र ओम सर्जिकल हाउस भनेर आफ्नै व्यवसाय सुरु गरे। विस्तारै उनी देशभरका स्वास्थ्य सेवा सम्बद्ध व्यक्तिहरुसँग जोडिँदै गए। पहिलोपटक उनले २०६५ सालमा आफ्नै ठाउँमा साथीभाईसँग मिलेर ५५ बेडको सिन्धु सदाबहार अस्पताल खोलेका हुन्, जसले सिन्धुपाल्चोको ग्रामीण भेगका सर्वसाधारणले सहज उपचार पाइरहेका छन्।

भण्डारी सर्जिकल हाउस र ओम सर्जिकल हाउसको अनुभव र सिन्धु सदाबहारको अनुभवले उनमा स्वास्थ्य सेवा क्षेत्रप्रतिको लगाव र काम गर्न सकिन्छ भन्ने आत्मविश्वास दह्रो थियो। 

साथीभाईकै एक टिमले २०७३ सालमा उनलाई ह्याम्सको नेतृत्वको प्रस्ताव गर्‍यो। निकै अप्ठ्यारो अवस्थामा रहेको अस्पतालमा लगानी गर्दै २०७३ साल साउन १ गतेदेखि उनले ह्याम्सको जिम्मा लिए।

ह्याम्समा जस्तै नागरिकमा पनि हेलिप्याड सहितकै भवन बन्ने भण्डारी बताउँछन्। अबको २ वर्षभित्र भवन निर्माणको सबै काम सकिने उनको आकलन छ।

‘जतिबेला टेकओभर गर्‍यौं अस्पताल लिजको बिल्डिङमा बुद्धनगरमै थियो। पुरानै साथीहरुले सारेर यहाँ २ तला ढलान गरेर ४ वर्ष निर्माण बन्द गरेर राखेको रहेछ। हामीले ह्याम्स टेकओभर गरेको ५ महिनापछि पुनर्निर्माण सुरु गर्‍यौं। कोभिड-१९ महामारी सुरु हुने बेलामा त हामीले हेलिप्याड सहितको सेवा यहाँ सुरु गरिसकेका थियौं,’ ११ ‍औं तलाको हेलिप्याडबाट उनले काठमाडौं उपत्यकाको एरियल भ्यू नियाल्दै भने।   

ह्याम्सले कोभिड-१९ महामारीमा पहिलो केस देखि नै उपचार सुरु गर्‍यो। त्यसपछि कहिल्यै पछाडि फर्किनु परेन। बिरामी निको भएर जाने दर उच्च थियो। अस्पतालको सेवा र गुणस्तरमा क्रमश: स्तरोन्नति हुँदै जाँदा यसप्रतिको विश्वास पनि बढ्दै गयो।

ह्याम्सलाई उसको क्रिटिकल केयर सेवाले पनि उत्कृष्ट बनाएको भण्डारी बताउँछन्।

‘क्रिटिकल केयरतर्फ रिकभरी संख्यामा हाम्रो असाध्यै राम्रो रेटिङ छ। हामीले गरेको काम नै हाम्रो विश्वासको आधार हो,’ उनी भन्छन्, ‘मैले सधैं दीर्घकाल हेरेर काम गरेको छु। हेल्थ सेक्टरमा यसको धेरै नै महत्त्व पनि छ। पैसाका लागि बिरामीमाथि नचाहिँदो प्रोसिज्योरहरु थोपर्ने र अनावश्यक जाँच गर्ने गरिदियो भने त बिरामीको स्वास्थ्य पनि बिग्रिन्छ पैसा पनि धेरै खर्च हुन्छ। म यसमा सचेत रहन सधैं निर्देशन दिइरहेको हुन्छु।’  

ह्याम्सको स्तरोन्नतिको काम पनि निरन्तर अघि बढिरहेको छ। हाल अस्पतालमा बेडहरुको संख्या थपिँदैछ। ह्याम्सकै लागि ४० हजार स्क्वायर फीटको नयाँ भवन पनि बनिरहेको छ। उनी समयअनुसार सेवा अपग्रेड गर्दै जानुपर्छ मत राख्छन्। अस्पताल भनेको भवनमात्र नभइ डाक्टर, व्यवस्थापन, प्रविधि, उपकरण, नर्सिङ सुविधा सँग जोडिएको कुरा भएकाले चौतर्फी गुणस्तर कायम गर्नमा आफू लागिपरेको उनले बताए।

ह्याम्स अस्पताललाई स्वास्थ्य क्षेत्रमै पहिलो आइपीओ जारी गर्ने अस्पताल बन्ने प्रक्रियामा लैजानुको पनि उनीसँग कारण छ।

उनले भने,’ सर्वसाधारणलाई जोडेर पुँजी थप्न सहयोग मिल्ने त छँदैछ। यसबाट मैले दिन खोजेको म्यासेज के हो भने सरकारको नीतिबाट चलिरहेको स्वास्थ्य सेवा अनि सरकारकै अर्को निकायले हामीलाई गर्ने नियमनले अझ बढी कर्पोरेट कल्चरमा जान मद्दत गर्छ। सेवा गुणस्तरीय बनाउनका लागि पनि आइपीओ कोसेढुंगा साबित हुन्छ।’

अझै पनि राज्यले स्वास्थ्य क्षेत्रमा गरेको खर्चको लाभ सर्वसाधारणले लिन सकेका छैनन्।

कर्पोरेट शैलीको अस्पतालका रुपमा स्थापित भइसकेको ह्याम्सको स्ट्रेन्थलाई नागरिक अस्पतालसँग जोडेर उनी अर्को नमुना अस्पताल बनाउने बाटोमा छन्।

‘पाटन र काठमाडौं दुवैमा सरकारी र निजी अस्पतालहरुको राम्रो उपस्थिति छ। तर, भक्तपुरमा कोटेश्वर कटेर उता लाग्दा काठमाडौं र पाटनमा भएजस्ता सरकारी र निजी दुवै अस्पताल र राम्रो डाक्टरको टिम पाउन सकिएन। सरकारी अस्पतालले दिने सेवा सुविधामा पनि त्यहाँ ग्याप छ। फेरि जनघनत्व र बस्ती विकास हेर्ने हो भने त्यहाँ तीव्र छ। त्यसैले चीनको बोर्डरसम्म जाने र पूर्वबाट आउने प्रमुख राजमार्गमा पर्ने भएकाले पनि सुविधासम्पन्न अस्पतालको खाँचो मैले देखें,’ उनी भन्छन्।

यसका लागि आफ्नो टिमले म्यापिङ गरेरै कन्भिन्स भएपछि मात्र दोस्रो ह्याम्सको रुपमा त्यही स्तरको सेवा दिने निर्णय गरेको उनले सुनाए। यसका लागि अस्पतालको रिमोडलिङ र रिस्ट्रक्चरिङको थालनी भइसकेको छ।

ह्याम्सलाई कर्पोरेट अस्पतालका रुपमा स्थापित गरिसकेका र अर्कोको रुपान्तरणमा लागेका भण्डारी नेपालको स्वास्थ्य सेवा क्षेत्रको अवस्था कस्तो देख्छन् त?

उनको अनुभवले भन्छ : अझै पनि राज्यले स्वास्थ्य क्षेत्रमा गरेको खर्चको लाभ सर्वसाधारणले लिन सकेका छैनन्।

नागरिक अस्पतालमा निर्माणधीन क्षेत्र
नागरिक अस्पतालको डेस्क

‘स्वास्थ्य बीमाकै कुरा गरौं न! यो पोलिसी अन्तर्गत राज्यले बहन गर्ने दायित्व ठूलो छ। तर, निकै कम रकम मात्र छुट्याइएको छ। फेरि राज्यले वर्षभरि स्वास्थ्य क्षेत्रमा गरिरहेको खर्चको २५ प्रतिशतजति मात्र सदुपयोग भएको देखिन्छ। राज्यले गर्ने खर्च ७० प्रतिशत त बालुवामा पानी हालेको बराबर छ। सरकारले स्वास्थ्य क्षेत्रका पनि कुन शीर्षकमा कति बजेट छुट्याउने र प्राथमिकतामा के राख्ने भन्नेमा गम्भीर हुनै पर्छ,’- उनी गम्भीर सुनिए।    

उनलाई अब अस्पतालहरुको वर्गीकरण बेडका आधारमा नभई ग्रेडिङका आधारमा हुनुपर्छ भन्ने लाग्छ। निजी भवनमा ट्रस राखेर चलाइएका अस्पतालहरु र २४ घण्टा विशेषज्ञसहितको सेवा दिने अत्याधुनिक अस्पतालहरु दुवैका मापदण्ड फरक छन्। यहाँ अस्पतालका पनि तह छन्। भवन, प्रविधि र मेडिकल टिमका आधारमा ग्रेडिङ हुनुपर्छ उनी भनिरहेका छन्।  

‘अस्पतालको आफ्नो बिल्डिङ हुँदा सेवामै कति फरक पर्छ। अपरेसन थिएटरमा न्यूनतम १३ फीट उचाइ हुनुपर्छ। आइसीयू १४ फीट मिनिमम हाइट हुनुपर्छ के सबै अस्पतालमा त्यो छ त ?,’ उनले प्रश्न गरे।

अस्पतालहरुको तुलना कसरी गर्ने त?

मेरो इथिक्सले के भन्छ भने बिरामीमाथि अनावश्यक खर्च हुने गरीका जाँचहरु गर्ने दबाब हुनु भएन। अत्यावश्यक नभइ भर्ना हुनु भएन। उनीहरुमाथि कुनै पनि नाममा ह्याङ्की प्याङ्की हुनुभएन।

‘हामी एप्पल टु एप्पल कम्पेयर गरौं। पाँचतारे होटलमा कफी खाँदा साढे ५ सय तिर्नुपर्छ सामान्यमा ५० रुपैयाँमा पनि पाइएला। तर पाँचतारे होटलमा गिलास धोएकै कस्ट ५०/६० पर्ला  त्यस्तै हो स्तर अनुसारको पैसा हुन्छ अस्पतालमा पनि त्यस्तै हो। जस्तो स्तरको सेवा दिइन्छ र संचालन खर्च जुन लेभलको छ त्यसैका आधारमा सेवा शुल्क लिने हो,’ उनले भने।

उनी यही आधारमा नेपालमा मात्र होइन विश्वभरकै अस्पतालहरु संचालन बताउँछन्। अचेल विदेशमा रहेका नेपालीहरु पनि विभिन्न केसका सर्जरीका लागि छुट्टी लिएर नेपालमै आएर उपचार गरेर फर्किनुलाई नयाँ ट्रेन्डका रुपमा उनले सुनाए। विदेशमा उपचार खर्च निकै महँगो र बीमाका अनेक जटिलता हुने भएकाले बिदा लिएर नेपाल आउने र यतै उपचार गरेर फर्किने केसहरु बढिरहेको अनुभव उनले गरेका छन्। नेपालमा उपचार सस्तो र गुणस्तरीय बनिसकेकोमा ढुक्क हुनुपर्ने उनको भनाइ छ।  

‘औसत अस्पतालमा ५०० बिरामी आउँदा भर्ना हुँदा कति जना भर्ना हुन्छन् भन्ने थम्बरुल हुन्छ। ५ सय बिरामी छ भने १० प्रतिशत भर्ना हुनुपर्छ भन्ने हुन्छ। तर म सधैं मेडिकल इथिक्स भित्र बसेर बिरामीलाई फेयर ट्रिटमेन्ट गर्नुस् है भन्छु,’ उनी भन्छन्, ‘मेरो इथिक्सले के भन्छ भने बिरामीमाथि अनावश्यक खर्च हुने गरीका जाँचहरु गर्ने दबाब हुनु भएन। अत्यावश्यक नभई भर्ना हुनु भएन। उनीहरुमाथि कुनै पनि नाममा ह्याङ्की प्याङ्की हुनुभएन।’

भण्डारी पैसामा भन्दा पनि गुणस्तरीय सेवाका लागि आफ्नो अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा के अर्थ राख्छ भन्नेमा केन्द्रित भएर काम गरिरहेको बताउँछन्।

हेल्थ केयर बिजनेसमा मेडिकल इथिक्समा बसेर काम गर्दा मात्र ग्रो गर्न सकिन्छ भन्ने उनी विश्वास गर्छन्। सेवा क्षेत्रमा लगानी गर्दाको पनि उनको आफ्नै मन्त्र छ।

उनी भन्छन्,’सेवा क्षेत्रमा पहिले नै कति कमाइन्छ भन्ने हिसाब गरेर आउने होइन। यसमा गरेको लगानी फिजिबल छ छैन र सस्टेनेबल भएर चल्छ कि चल्दैन, पहिले म त्यो हेर्छु। काम गर्दै जाँदा लगानी थपिँदै जाने र प्रतिफल आउने त्यसपछिको कुरा हो। मैले ह्याम्स लिँदा पनि सोचेको त्यही थिएँ। नागरिक अस्पतालमा पनि अब गर्ने त्यही हो।’

कर्ममा विश्वास गर्ने भण्डारीको हरेक बिहान प्रार्थनाबाट सुरु हुन्छ। प्रार्थनामा पनि उनी सधैं एउटै कुरा दोहोर्‍याइरहन्छन्– सद्बुद्धि, सत्मार्ग अनि सबैको सुस्वास्थ्य!