काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिहीबारदेखि आइपीओ निष्कासन गरेको छ।
इन्स्योरेन्सले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुलाएको हो।
आइपीओमा लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँ दरले न्यूनतम् १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आइपीओ फागुन २६ गतेसम्म बिक्री खुला रहनेछ।
इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति लिएको थियो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल हो। गत असारसम्म कम्पनीको प्रति सेयर आम्दानी २.४१ रुपैयाँ थियो। यस वर्ष ७.७४ रुपैयाँ पुग्ने अनुमान गरेको छ।
त्यस्तै, पोहोर ८८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण पेस गरेको कम्पनीले यस वर्ष २ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने अनुमान गरेको छ।