
पछिल्लो हप्ता क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूका लागि निकै नै दुखःद् रह्यो। विशेषगरी करोडौँ डलर बराबरको क्रिप्टो गुमाएको कम्पनी बाइबिटका लागि त इतिहासमै बिर्सन लायक क्षण बन्यो।
करोडौँ डलर बराबरको क्रिप्टो चोरी भएको यो घटनाले डिजिटल मुद्रा बजारको सुरक्षा चुनौतीलाई पुनः उजागर गरेको छ। यसले क्रिप्टोकरेन्सी लगानीकर्ताहरूको विश्वासमै आँच पुर्याएको छ।
क्रिप्टोकरेन्सी फर्म बाइबिटमा भएको साइबार आक्रमणको घटना इतिहासकै ठूलो चोरी हो। कम्पनीका अनुसार ह्याकरहरूले १.५ अर्ब डलर बराबरको डिजिटल मुद्रा चोरी गरेका छन्।
दुबईमा आधारित यो कम्पनीका संस्थापक बेन झाउले प्रयोगकर्ताहरूलाई चिन्ता नलिन आग्रह गरेका छन्। उनले सबै प्रभावितहरूलाई क्षतिपूर्ति दिइने बताएका छन्। चोरी भएको रकम बाइबिट स्वयंले वा साझेदारहरूबाट लिएको ऋणबाट ब्यहोर्ने उनको भनाइ छ।
चोरी मुख्य रूपमा बाइबिटको इथेरियम डिजिटल वालेटबाट भएको छ। इथेरियम बिटक्वाइनपछि विश्वकै दोस्रो ठूलो क्रिप्टोकरेन्सी हो। बाइबिटले करिब २० अर्ब डलर बराबरको सम्पत्ति ‘होल्ड’ गरेको बताउँदै आएको छ।
कम्पनीका अनुसार ह्याकरहरूले सुरक्षामा रहेको कमजोरीको फाइदा उठाउँदै रकमलाई अज्ञात ‘ब्लकचेन एड्रेस’मा स्थानान्तरण गरेका थिए। यो घटनापछि इथेरियमको मूल्य करिब ४ प्रतिशतले घट्यो। शुक्रबार यसको मूल्य प्रति इकाइ २ हजार ६४१.४१ डलरमा झरेको थियो। सोमबार भने यसको मूल्य २ हजार ८४१.४१ डलर उक्लिएको छ।
यस चोरीले सन् २०२२ मा भएको रोनिन नेटवर्क ह्याक आक्रमणलाई उछिनेको छ। त्यसबेला ह्याकरहरूले ६२ करोड डलर बराबरको इथेरियम र यूएसडी कोइन चोरी गरेका थिए।
बाइबिट सन् २०१८ मा स्थापना भएको कम्पनी हो। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पेपालका पूर्व प्रमुख पिटर थिएल यसको प्रारम्भिक लगानीकर्ताहरू भएको बताइन्छ।
बाइबिटका अनुसार यसका ६ करोडभन्दा बढी प्रयोगकर्ता छन्। यो एपले विभिन्न क्रिप्टोकरेन्सीहरूमा पहुँच प्रदान गर्छ।
झाउले एक विज्ञप्तिमा भनेका छन्, ‘बाइबिट आर्थिक रूपमा मजबुत छ। यदि यो ह्याक आक्रमणको नोक्सान फिर्ता लिन सकिएन भने पनि, ग्राहकहरूको सम्पत्ति १:१ अनुपातमा सुरक्षित छ। हामी यस नोक्सानलाई सम्हाल्न सक्छौं।’
कम्पनीले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर)मा ह्याकर पहिचान गर्न तीव्र रूपमा अनुसन्धान गरिरहेको बताएको छ। साथै, यस घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाएको छ।
क्रिप्टोकरेन्सी लगानीकर्ताहरूबीच लोकप्रिय भए पनि यसको विश्वसनीयता विषयमा विभाजित धारणा छ। धेरै आलोचकहरूले यसको मूल्य शुद्ध अड्कलबाजीमा आधारित रहेको बताउँछन्। जसका कारण यसको मूल्य सजिलै हेरफेर गर्न सकिन्छ।
डोनाल्ड ट्रम्पले हालै मात्र आफ्नो डिजिटल मुद्रा लन्च गरेपछि यसको सुरक्षामा थप प्रश्न उठेका छन्। उनले आफ्नै क्रिप्टोकरेन्सी ‘ट्रम्प कोइन’ सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यद्यपि, यसको मूल्य सुरुवाती वृद्धिपछि तीव्र रूपमा घटेको छ।
क्रिप्टोकरेन्सी सुरक्षाका विषयमा अन्य घटनाहरू पनि इतिहासमा भए। सन् २०१४ मा, क्रिप्टो एक्सचेन्ज माउंट गोक्सले ३५ करोड बराबरको बिटक्वाइन चोरी भएपछि आफू टाट पल्टिएको घोषणा गरेको थियो।
त्यस्तै, सन् २०१९ मा ह्याकरहरूले बाइनान्स एक्सचेन्जबाट ४.१ करोड डलर बराबरको बिटक्वाइन चोरी गरेका थिए।