नेपाली अटो बजारमा इभी एसयूभी प्रतिस्पर्धी ५ ब्रान्ड, जसले यही महिना ल्याउँदैछन् नयाँ मोडल

शुक्र गिरी
२०८१ फागुन ६ गते ०७:०६ | Feb 18, 2025
नेपाली अटो बजारमा इभी एसयूभी प्रतिस्पर्धी ५ ब्रान्ड, जसले यही महिना ल्याउँदैछन् नयाँ मोडल

काठमाडौं। विद्युतीय गाडी (इभी)को ह्वात्तै बढेको लोकप्रियताले नेपाली अटो बजारमा हलचल ल्याएको छ। नयाँ ब्रान्ड आउने क्रम जारी रहँदा स्थापित ब्रान्डहरुमा नयाँ मोडलका गाडी कसले पहिला बजारमा ल्याउने भन्ने होड चल्न थालेको छ।

Tata
GBIME
NLIC

टाटा र प्रोटोनले नयाँ इभी एसयूभी नेपाली बजारमा भित्र्याइसकेका छन् भने हुन्डाई, चांगन डिपल र एमजीले फागुन महिनाभित्र नयाँ इभी एसयूभी बजारमा ल्याउन लागेका छन्। यी पाँच ब्रान्डबीच थप प्रतिस्पर्धा हुने देखिएको छ। सबै गाडी एउटै सेगमेन्टका भएकाले बेच्नका लागि कडा टक्कर पर्ने देखिन्छ।

वातावरणमैत्री, पेट्रोल इन्जिन गाडीको तुलनामा सञ्चालन खर्च कम, बैंकले ८० प्रतिशतसम्म ऋण लगानी गर्ने, नयाँ प्रविधि र सरकारी प्रोत्साहनले गर्दा इभीको बढ्दो मागले बजारमा प्रतिस्पर्धा बढाएको छ।

विभिन्न ब्रान्डले नयाँ-नयाँ मोडलका गाडी ल्याइरहेका छन्, जसले निजी सवारी प्रयोगकर्तालाई धेरै विकल्प दिएको छ।

बजारमा विकल्प धेरै हुँदा ग्राहकले फिचर लोडेड, व्यवहारिकता र सर्भिसदेखि स्पेयर पार्ट्सको उपलब्धता लगायत इभीको इकोसिस्टमलाई पनि हेर्ने गरेका छन्।

ग्राहकले गाडी किनेपछिको सेवा र स्पेयर पार्ट्सका सुविधालाई प्राथमिकतामा राख्ने गरेका कारण बिक्रेताहरु गाडीको मोडल आकर्षक हुँदैमा मात्रै बिक्री बढ्छ भन्नेमा ढुक्क छैनन्। बिक्रेताहरुले ग्राहकको चासोलाई ध्यानमा राख्दै इभीका लागि आवश्यक इकोसिस्टममा लगानी बढाइरहेका छन्।

बिक्रेताहरुले यी ५ ब्रान्डका नयाँ गाडीको मूल्य ५० लाखदेखि ६० लाखबीचमा राख्ने तयारी गरेका छन्।

टाटा मोटर्सको कर्भ इभी

टाटा मोटर्सले आफ्नो लोकप्रिय कुपे डिजाइनमा तयार पारेको कर्भ इभी नेपाली बजारमा सिप्रदी ट्रेडिङले ल्याइसकेको छ। यो नयाँ इभीमा आकर्षक डिजाइनका साथै थप फिचर राखिएका छन्।

कर्भ इभी नेपालका लागि बहुप्रतीक्षित र गेम चेन्जर विद्युतीय एसयूभी हो। यो गाडी टाटा मोटर्सले आफ्नो नयाँ ‘जेन २’ प्लेटफर्ममा आधारित भएर तयार पारेको हो। कर्भ इभी ‘क्रिएटिभ’, ‘इम्पावर्ड’ र ‘फियरलेस’ गरी तीन भेरियन्टमा उपलब्ध छ।

स्लिक कुप डिजाइनमा तयार पारिएको एसयूभी गाडीलाई टाटाले यसअघि आफूले उत्पादन गरेका इभीमा भन्दा फरक रुप दिएको छ।

कर्भ इभीको डिजाइन आकर्षक र आधुनिक छ। यसमा स्लोपिङ रुफलाइन छ, जसले कुपे एसयूभीको लुक्स दिन्छ। गाडीमा नयाँ डिजाइनको हेडल्याम्प र टेलल्याम्प, नयाँ बम्पर र नयाँ एलोय ह्विल छन्।

यो सेगमेन्टमा कुप डिजाइन भएको एसयूभी नेपाली बजारमा पहिलो पटक आएको हो। यसअघि कुप डिजाइन भएका महँगा एसयूभी मात्र नेपाल भित्रिएका थिए।

कर्भ इभीमा दुईवटा ब्याट्री विकल्प छ। एउटा ४५ किलोवाट आवरको जसले लगभग ४०० किलोमिटरको रेन्ज दिन्छ। अर्को ५५ किलोवाट आवरको ब्याट्री जसले करिब ५०० किलोमिटरको रेन्ज प्रदान गर्छ।

५५ किलोवाट आवर क्षमताको ब्याट्री डीसी फाष्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज गर्न ४० मिनेट लाग्छ। यसमा मोटर पावर ९८ किलोवाट क्षमताको छ।

एमजी मोटर्सको एमजी एस ५

एमजी मोटर्सको नयाँ इभी एसयूभी एस ५ पारामाउन्ट मोटर्सले यही साता नेपाल ल्याउँदैछ। आधुनिक प्रविधि र फिचरसहितको यो इलेक्ट्रिक कम्प्याक्ट क्रसओभर एसयूभी हो।

यो ब्राण्ड ब्रिटिश भए पनि २०२४ को अक्टोबरमा मात्र युरोपमा लन्च गरिएको हो। चिनियाँ कम्पनी सायक मोटरले किनेको ब्राण्डका गाडी चीनमा उत्पादन उत्पादन गरी त्यहींबाट अन्य देशमा निर्यात हुन्छ।

रियल ह्वील ड्राइभ यो गाडीको पछाडि मोटर हुन्छ। मोडुलर स्केबल प्लेटफर्ममा निर्माण गरिएको गाडीमा रियल ह्वील ड्राइभ भएकाले एमजीको जेडएस इभीभन्दा फरक छ।

एमजी एस ५ को मूल्य ५० देखि ६० लाख रुपैयाँसम्म पर्नसक्ने अनुमान गरिएको छ। यसको आधिकारिक मूल्य सार्वजनिक गर्न बाँकी छ।

यो गाडीमा ४९.१ किलोवाट आवर(युनिट) र ६२.२ किलोवाट आवरको ब्याट्री प्याक छ। ४९.१ किलोवाट आवरको ब्याट्रीले ४३५ किलोमिटर र ६२.२ किलोवाट आवरको ब्याट्रीले ५२५ किलोमिटर रेन्ज दिन्छ।

एमजी एस ५ मा १५.६ इन्चको टचस्क्रिन, १०.२५ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता विशेषता छन्।

ह्वीलबेस २७ सय ३० एमएम, लम्बाई ४ हजार ४७६ एमएम, चौडाई १ हजार ८४९ एमएम र १ हजार ६२१ एमएम रहेको यो गाडीमा १७ इन्च एलोय ह्वील विकल्पमा १७६ एमएम ग्राउन्ड क्लियरेन्स र १८ इन्च एलोय ह्वील विकल्पमा १८० एमएम ग्राउन्ड क्लियरेन्स छ।

हुन्डाईको क्रेटा इभी

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटा इभी एसयूभी भित्र्याउने तयारी गरेको छ। हुन्डाईको क्रेटा इभी बहुप्रतीक्षित मोडल हो। यो गाडी भारतीय बजारमा एक महिनाअघि सार्वजनिक गरिएको थियो।

हुन्डाई क्रेटा इभीको डिजाइन पेट्रोल इन्जिन क्रेटासँग मिल्दोजुल्दो छ। यसमा नयाँ ग्रिल, नयाँ हेडलाइट र टेललाइट तथा नयाँ बम्पर राखिएका छन्। गाडीमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ लगायत धेरै सुविधा समावेश छन्।

हुन्डाई क्रेटा इभीमा दुई वटा ब्याट्री विकल्प छन्। एउटा ४२ किलोवाट आवरको ब्याट्री जसले लगभग ३९० किलोमिटरको रेन्ज दिन्छ। अर्को ५१.४ किलोवाट आवरको ब्याट्री जसले करिब ४७० किलोमिटर रेन्ज प्रदान गर्छ।

चांगन डिपलको एस ०५

चांगन डिपल एस ०५ एक कम्प्याक्ट एसयूभी हो। यसको डिजाइन आधुनिक र आकर्षक छ। यसमा स्लिम हेडलाइट, आकर्षक फ्रन्ट ग्रिल र बोल्ड लाइन छन् जसले गाडीलाई स्पोर्टी लुक्स दिएको छ।

गाडीको भित्री भाग पनि आधुनिक र सुविधाजनक छ। यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायत धेरै फिचर छन्। गाडीमा डिपल फोरके इन्टेलिजेन्ट क्यामेरा राखिएको छ जसमा ६४ जीबी स्टोरेज छ।

यस्तै १४ वटा स्पिकर भएको साउन्ड सिस्टम र पानोरमिक रुफ छ।

गाडीमा सिंगल सेन्ट्रल १५.४ इन्चको २.५ के कन्ट्रोल स्क्रिन सेटअप छ। यसमा डी आकारको स्टेरिङ ह्वील छ। तर इन्स्ट्रुमेन्ट डिस्प्ले छैन। चालकका लागि भने हेड-अप- डिस्प्ले छ। यस्तै अटो पार्किङ सुविधा पनि गाडीमा उपलब्ध छ।

लामो दूरीको यात्राको लागि उपयुक्त हुने गरी चांगन डिपल एस ०५ मा ठूलो ब्याट्री राखिएको छ। ५६.१२ किलोवाट आवर(युनिट) क्षमताको लिथियम आयोन फोसफेट ब्याट्रीले एक पटकको फुल चार्जमा ५१० किलोमिटर रेन्ज प्रदान गर्छ

गाडीमा १७५ किलोवाटको मोटर पावर छ जसले ३२० एनएम टर्क उत्पादन गर्न सक्छ।

प्रोटोनको ई म्यास ७

प्रोटोनको ई म्यास ७ एउटा पूर्ण विद्युतीय एसयूभी हो। यो गाडी मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनले उत्पादन गरेको हो। ई म्यास ७ लाई कम्पनीले आफ्नो पहिलो विद्युतीय गाडीको रूपमा प्रस्तुत गरेको छ।

प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गाडी नेपाल ल्याइसकेको छ। केही समयमा गाडीको बिक्री सुरु गर्ने कम्पनीले जनाएको छ।

ई-म्यास ७ म्याक्स भेरियन्टको मूल्य ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ। यसमा १६० किलोवाट क्षमताको मोटर पावर छ। यस्तै ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ।

यसैगरी, ई-म्यास ७ लाइट भेरियन्टको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ। यसमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। मोटर पावर १६० किलोवाट क्षमताको छ।