५ व्यापारिक घरानालाई उछिन्दै पारामाउन्टले पायो नियो गाडीको ब्राण्ड, ‘ब्याट्री स्वापिङ’मा धेरैको चासो

बिजमाण्डू
२०८१ फागुन ३ गते १७:२० | Feb 15, 2025
५ व्यापारिक घरानालाई उछिन्दै पारामाउन्टले पायो नियो गाडीको ब्राण्ड, ‘ब्याट्री स्वापिङ’मा धेरैको चासो
नियो ईएस ८। तस्बिर : एएफपी।

काठमाडौं। चिनियाँ गाडी नियो नेपाल ल्याउन भएको प्रतिस्पर्धामा मोरङ अटो वर्क्स (एमएडब्लू)लाई पछि पार्दै पारामाउन्टले बाजी मारेको छ।

Tata
GBIME
NLIC

नेपाली बजारमा नियो ल्याउन ५ व्यापारिक घराना प्रतिस्पर्धामा रहेकामा अन्तिममा एमएडब्लू र पारामाउन्ट सर्टलिस्टेड भएका थिए। तर एमएडब्लुलाई पछि पार्दै पारामाउन्ट नियोको नेपालका लागि आधिकारिक विक्रेता बनेको हो।

शंकर ग्रुप, त्रिवेणी ग्रुप, शारडा ग्रुप र लक्ष्मी ग्रुप पनि प्रयासमा रहेकामा नियोले गरेको व्यावसायिक योजना मूल्यांकनमा ती ४ वटा घराना प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

‘नियो ब्रान्ड यसै पनि महँगो मानिन्छ। यसको ब्याट्री स्वापिङ स्टेसनसहितका प्रविधि एडप्ट गर्न धेरै खर्च लाग्छ। त्यसैले यसलाई बजारमा टिकाउन सजिलो छैन,’ स्रोतले भन्यो, ‘त्यसैले नियोले पाँच प्रतिस्पर्धीमध्येबाट पारामाउन्टलाई आधिकारिक विक्रेतामा छनोट गरेको हो।’

स्रोतका अनुसार नियोको आधिकारिक विक्रेताका लागि एमएडब्लूलाई बलियो मानिएको थियो।

‘पछिल्लो समय इभी बजारमा नियोलाई राम्रो ब्रान्डका रुपमा लिइएको छ। त्यसैले एमएडब्लूले नियोको विक्रेता बन्न चाहेको थियो। तर एमएडब्लू अहिले भइरहेको ब्रान्डमा ध्यान केन्द्रित गर्ने टुंगोमा पुग्यो,’ स्रोतले भन्यो, ‘एमएडब्लू पछि हटेका कारण पारामाउन्टले पाएको हो।’

कस्तो छ नियो ब्रान्ड?

नियो विद्युतीय सवारीसाधन (इभी) उत्पादन गर्ने चिनियाँ कम्पनी हो। यो कम्पनीले अत्याधुनिक प्रविधि र डिजाइन भएका इभी उत्पादन गर्दछ। नियोले विशेषगरी स्मार्ट र प्रिमियम इभीमा ध्यान केन्द्रित गरेको छ।

यसको हेडक्वार्टर, रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर, मास प्रोडक्सन प्लान्ट सांघाईमा छ। आरएण्डी सेन्टर भने विश्वभरी छरिएका छन्। सन् २०१४ मा स्थापना भएको कम्पनीसँग नियोका साथै अन्भो र फायरफ्लाई ब्रान्ड पनि छन्।

ब्याट्री स्वापिङ स्टेसन। तस्बिर : नियो

यो कम्पनीले २०१८ मा न्यूयोर्क स्टक एक्सचेन्जमा १.८ अर्ब डलर बराबरको आइपीओ निकालेको थियो। २०२० मा कम्पनी बैंक्रप्सी भएको थियो। जसले गर्दा स्टक एक्सचेन्जमा कम्पनीको सेयर मूल्य ६२ प्रतिशतले घटेको थियो। त्यसपछि चीनको सिटी सरकार हेफेईले नियोको २५ प्रतिशत सेयर किन्यो।

लगत्तै नियोले १ अर्ब डलर लगानी गर्ने घोषणा पनि गर्‍यो। साथै हेफेई सरकारले स्थानीय बैंकहरूबाट नियोलाई ऋण दिने व्यवस्था मिलायो। जसले गर्दा कम्पनीको गाडी उत्पादनमा कुनै समस्या भएन। गाडी उत्पादन ८१ प्रतिशतसम्म बढ्यो। अहिले यो कम्पनीको भ्यालुएसन १०० अर्ब डलर पुगेको छ।

कम्पनीको पहिलो कार नियो ईपी ९ हाइपर थियो। २०१८ सम्म दुई वटा एसयूभी बजारमा आए। कम्पनीले २०२४ मा आफ्नो नयाँ सब-ब्रान्ड फायरफ्लाई जन्मायो। यो कम्पनीले साना कार उत्पादन गर्छ। यो ब्रान्डको साना ह्याचब्याक कारले मर्सिडिज स्मार्ट र बीएमडब्लू मिनीसँग प्रतिस्पर्धा गर्ने बुझिएको छ।

ब्याट्री स्वापिङ स्टेसन

नियोको सबैभन्दा बढी रुचाइएको ब्याट्री स्वापिङ प्रविधि हो। ब्याट्री स्वापिङ प्रविधिका इभी चालकहरूले आफ्नो गाडीको ब्याट्री छिट्टै बदलेर यात्रालाई निरन्तरता दिन सक्छन्। यो सुविधाले ब्याट्री चार्जिङको समय हटाउँछ। ब्याट्री स्वाप गर्न ५ देखि ७ मिनेट लाग्छ।

कम्पनीले २०१८ मा स्वापिङ सेन्टरको अवधारणा ल्याएकामा चीनमा अहिले १३०० वटाभन्दा बढी ब्याट्री स्वापिङ स्टेसन संचालनमा छन्।

यस्तै नियोका गाडीमा अत्याधुनिक प्रविधि जस्तै अटोमेटिक ड्राइभिङ प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र हाइ कनेक्टिभिटी फिचर छन्।

नियोले आफ्ना ग्राहकलाई ब्याट्री निःशुल्क अपग्रेडसहित उच्चस्तरको सेवा प्रदान गर्दछ। नियोले हालसम्म विभिन्न मोडलका इभी बजारमा ल्याएको छ जसमध्ये नियो ईएस ८, नियो ईएस ६, नियो ईटी ५, नियो ईएल ७ जस्ता मोडल प्रमुख हुन्। यी गाडीले विश्वभरि नै राम्रो प्रतिक्रिया पाएका छन्।