बुलिस ट्रेन्डपछि सेयर बजारमा देखिएको ‘लोक्याप मुभ’, कसैले चाहँदैमा बजारको लय बदलिन्छ ?

सुनिल कुँवर
२०८१ फागुन २ गते १२:३७ | Feb 14, 2025
बुलिस ट्रेन्डपछि सेयर बजारमा देखिएको ‘लोक्याप मुभ’, कसैले चाहँदैमा बजारको लय बदलिन्छ ?

काठमाडौं। असारमा भएको सत्ता पलटले राजनीतिसँगै सेयर बजारलाई तरंगित बनायो। तीन वर्ष सुस्ताएको नेप्सेमा एकाएक बुलिस ट्रेन्ड आयो। डेढ महिनामै नेप्से सूचकबाहेक कारोबार रकम र बजार पुँजीकरणले कीर्तिमान बनाए।

Tata
GBIME
NLIC

नेप्सेको बुलिस रफ्तार दौडको अग्रपंक्तिमा थिए फाइनान्स कम्पनी। बजारको उकालो गतिमा फाइनान्सको मूल्य अस्वाभाविक रुपमा अकासियो।

फाइनान्सको वित्तीय अवस्था राम्रो छैन। लाभांश वितरण गर्नै नसक्ने कम्पनीको मूल्य वर्ष दिनमै नौ गुणासम्म बढ्यो।

आधारभूत सूचक नै संकटग्रस्त भएपछि केहीलाई मूल्य उचालिएको ६ महिना नहुँदै नेपाल राष्ट्र बैंकले कारबाही गरेर सुधारका लागि मर्जरमा जान दबाब दिइरहेको छ।  

कम्पनीको अवस्था नाजुक छ भन्ने जान्दाजान्दै मूल्य उचालिनुको कारण हो सामाजिक सञ्जालमा चलेको ‘लोक्याप’ ह्विम्।

सामाजिक सञ्जाल क्लब हाउसमा लगानीकर्ता दीपेन्द्र अग्रवाल फाइनान्सको मूल्य बढाउन सक्रिय भएर लागे। उनको लोक्याप फण्डामा लागेर सेयर किनेकाहरुले पछि चाहेर पनि बेच्न पाएनन्।

नेपाल फाइनान्सको मूल्य पछिल्लो एक वर्षमा ३२८ बाट प्रति कित्ता बढेर २६१४ रुपैयाँसम्म पुग्यो। कम्पनीको भाउ अहिले प्रति कित्ता ७३० रुपैयाँमा झरेको छ। बजार बुलिस हुँदा प्रति कित्ता १ हजार रुपैयाँभन्दा बढी पुगेका फाइनान्स कम्पनीको मूल्यमा व्यापक गिरावट आएको छ।

अहिले फाइनान्सबाट ‘लोक्याप’ फण्डा अर्को समूहतिर ‘सिफ्ट’ भएको छ। सामाजिक सञ्जालमा कम्पनीको मूल्य बढाउन सक्रिय त्यही समूहले लगानीकर्तालाई ‘कन्भिन्स’ गराएर अर्को समूहको मूल्य उचाल्ने गरेको छ।

‘बजारमा थोरै कित्ता सेयर भएका कम्पनीमा माग बढाएर मूल्यमा प्रभाव पार्न सक्छन्। तर, लोक्यापले नै बजारको लयलाई चलाउँछ भन्ने हुँदैन,’ एक मर्चेन्ट बैंकरले भने।

साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार हुँदा नेप्से ३००० विन्दुमा पुगेको थियो। त्यसपछि बजार घट्न थाल्यो, फाइनान्समा बियरिस ट्रेन्ड सुरु भयो।

अहिले फाइनान्सको मूल्यमा लोक्यापले काम गर्न छोडेको छ। कम्पनीहरुको सेयर मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन।

पछिल्लो तीन महिनायता नेप्से २७००-२४०० अंकमा घुमिरहेको छ। लोक्याप फर्मुलाले फाइनान्समा काम नगरेपछि अहिले सेयर हिस्सा कम भएका अरु सेक्टर उचाल्ने काम भइरहेको छ।

‘स्वार्थ समूहले बजारमा जहिले पनि कर्नरिङको प्रयास गरिरहेको हुन्छ। गिरोह बनाएरै होस् वा अन्य कारणले माग सिर्जना गरेर कम्पनीको मूल्य बढाउने प्रयास गरिन्छ। तर, त्यही ह्विममा लगानी गर्नेहरु डुब्छन्,’ बजारका एक जानकारले भने।

फाइनान्स कम्पनीपछि अहिले विकास बैंक र हाइड्रोपावर क्षेत्रका कम्पनीमा लोक्याप गिरोह मूल्य बढाउन सक्रिय भएर लागेको छ। वित्तीय सूचकका आधारमा नाजुक विकास बैंककै सेयर मूल्य लगातार सर्किट लगाएर बढाइएको छ। वित्तीय सूचक अब्बल र पुँजी धेरै भएका विकास बैंकको मल्यमा भने उलटफेर आएको छैन।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य लगातार उकालो लागेर अहिले प्रति कित्ता २,००० रुपैयाँ छ। जबकि उसको वित्तीय अवस्था नाजुक छ। बैंकको खराब कर्जा नै ८ प्रतिशत नजिक छ। पछिल्लो एक वर्षमा यसको सेयर भाउ प्रति कित्ता ३९३ रुपैयाँबाट २८४२ रुपैयाँसम्म पुग्यो।

गत मंसिरमा नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको कर्णाली डेभलपमेन्ट बैैंकको सेयर मूल्यमा उल्टै सकारात्मक सर्किट लागेको थियो। यस्तै अवस्था हाइड्रोपावर कम्पनीमा पनि छ।

लकइन अवधि सकेर सञ्चालक निस्किने बेला कम्पनीको मूल्य उचाल्ने गरिएको बजारका जानकारहरु बताउँछन्। कारोबारमा आउने सेयर संख्या थोरै भएका कम्पनीहरुमा लोक्याप गिरोहले समेत माग बढाएर मूल्यमा प्रभाव पार्ने गरेको देखिन्छ।

‘मनीले इजी ड्राइभ खोज्छ। जुन सेक्टरमा सप्लाई कम छ, त्यही चल्ने गरेको छ। केहीअघि फाइनान्स कम्पनी, त्यसपछि डेभलपमेन्ट बैंक र अहिले हाडड्रोपावरमा लोक्याप गिरोहले खेलिरहेको छ,’ भृकुटी सेक्युरिटीजका विजय रानाभाटले भने, ‘कम पब्लिक सेयर भएका कम्पनीको सेयर होल्ड गरेर मूल्य बढाउने र आफूले चाहेको बेला बेच्ने हुँदा कमजोर तर धेरै लगानीकर्ताले गुमाउने गरेका छन्। शक्तिशालीहरु नाफा कमाएर निस्किन्छन्। यही कारण लोक्याप सेक्टर मुभ भइरहेको हो। तर, बजारको गति नै बिगार्न सक्छन् भन्ने छैन। किनकि ठूला कम्पनीहरुको सेयर नचलेसम्म खासै असर गर्दैन।’