घरजग्गा कारोबारमा फेरि रातो झण्डा, किनबेच र राजस्व दुवैमा गिरावट, व्यवसायी भन्छन्- माग छैन

उन्नत सापकोटा
२०८१ फागुन १ गते १२:५२ | Feb 13, 2025
घरजग्गा कारोबारमा फेरि रातो झण्डा, किनबेच र राजस्व दुवैमा गिरावट, व्यवसायी भन्छन्- माग छैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले घरजग्गा कारोबार सुधारोन्मुख रहेको सार्वजनिक अभिव्यक्ति दिइरहँदा तथ्य भने त्यसविपरीत देखिएको छ।

Tata
GBIME
NLIC

प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको दाबीविपरीतको तथ्यांक आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष माघमा लिखत पारित र राजस्व दुवै घटेको छ।

पुस महिनाको तुलनामा माघमा किनबेच घटेको हो। विभागका अनुसार पुसको तुलनामा माघमा लिखत पारित संख्या २ हजार ९१० ले घटेको छ।

पुसमा चालू वर्षकै सर्वाधिक धेरै घरजग्गा किनबेच भएको थियो। पुसमा ४७ हजार ४७९ लिखत पारित भएकामा माघमा त्यो संख्या ४४ हजार ५६९ मा सीमित भएको छ।

घरजग्गा व्यवसायी तथा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा कारोबारमा शिथिलता कायमै रहेको बताए।

‘पुसमा कर, ब्याज र सावाँ तिर्नुपर्ने दबाबका कारण धेरै व्यवसायीले मूल्य घटाएरै भएपनि सम्पत्ति बेचेका थिए। त्यही कारण अघिल्लो महिना कारोबार केही बढेको देखिएको थियो। कारोबारमा शिथिलता कायमै रहेको माघको तथ्यांकले देखाउँछ। बजारमा घरजग्गाको माग बढेको भए त पुसलाई उछिनिहाल्थ्यो नि!,’ घिमिरेले भने, ‘सरकारी तथ्यांकमा साढे ४४ हजार लिखत पारित भएको देखिए पनि सहरी क्षेत्रमा घरजग्गा बेच्नै सकिएको छैन। व्यवसायी ठूलो पीडामा छन्।’

माघमा पनि इनरुवा मालपोतबाटै सर्वाधिक घरजग्गा किनबेच भएको छ। इनरुवा मालपोतमा १ हजार ७०४ लिखत पारित भएको छ। त्यसपछि भद्रपुरमा १ हजार ५७०, जनकपुरमा १ हजार ५०३, बेलबारीमा १ हजार ५०१, राजविराजमा १ हजार २१८ र सिरहामा १ हजार २८ लिखत पारित भएको छ।

लिखत पारित संख्या पुसको तुलनामा माघमा इनरुवामा १६३, भद्रपुरमा ५३, जनकपुरमा ३१, बेलबारी १३१ ले घटेको छ। यस्तै भक्तपुरमा ३९, लगनखेलमा ६४, कलंकीमा ३, साँखुमा ४६, चाबहिलमा ५० र डिल्लीबजारमा ८ ले घटेको छ।

भक्तपुर मालपोतबाट सर्वाधिक घरजग्गा किनबेच भएको छ। माघमा भक्तपुरमा ९०४ लिखत पास भएको छ। त्यसपछि लगनखेल मालपोतमा ८७८, कलंकीमा ५९७, चाबहिलमा ४८०, साँखुमा ४०३, मनमैजुमा २४२, डिल्लीबजारमा १९२ र टोखामा १८७ लिखत पारित भएको छ।

घरजग्गा किनबेचमा गिरावटका कारण माघमा मालपोत कार्यालयहरुबाट उठ्ने राजस्व पनि ३८ करोड ७० लाख रुपैयाँले घटेको छ।

विभागका अनुसार माघमा ४ अर्ब २५ करोड रुपैयाँ राजस्व उठेको छ। मालपोत कार्यालयहरुले पुसमा यो वर्षकै सर्वाधिक ४ अर्ब ६३ करोड रुपैयाँ राजस्व उठाएका थिए।

माघमा घरजग्गा किनबेचबाट सबैभन्दा धेरै राजस्व उठाउने मालपोत लगनखेल हो। लगनखेलले ३७ करोड १३ लाख रुपैयाँ उठाएको छ। त्यसपछि डिल्लीबजारले २९ करोड १९ लाख, कलंकीले २८ करोड ५१ लाख, भक्तपुरले २६ करोड ८४ लाख, चाबहिलले २३ करोड ३८ लाख रुपैयाँ उठाएको छ।

यस्तै, कास्कीले १६ करोड, चितवनले १४ करोड ६९ लाख, साँखुले ११ करोड २० लाख र रुपन्देहीले १० करोड ८२ लाख रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ।