शानदार म:म ग्यास सिलिण्डर विस्फोट : उद्योगलाई गुणस्तर विभागका डीजीबाटै क्लिन चिट

सविन ढकाल
२०८१ माघ ३० गते १५:४० | Feb 12, 2025
शानदार म:म ग्यास सिलिण्डर विस्फोट : उद्योगलाई गुणस्तर विभागका डीजीबाटै क्लिन चिट

काठमाडौं। शानदार म:म सेन्टरमा ग्यास विस्फोटको घट्नामा नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास उद्योगलाई ‘भर्बल्ली क्लिन’ चिट दिएको पाइएको छ।

Tata
GBIME
NLIC

ग्यास विस्फोटमा परेकामध्ये दुई जनाको सोमबार मृत्यु भएकामा विभागकी महानिर्देशक कुमारी ज्योति जोशी(भट्ट)ले उद्योगीलाई भर्बल्ली क्लिन चिट दिएको पाइएको हो।

‘हामीले विभागका महानिर्देशकसँग कुराकानी गरेका थियौं। उहाँले तपाईंहरुको केही समस्या रहेनछ भन्नुभएको छ। सबै मापदण्डभित्र छ भन्नुभएको छ,’ सीता श्रीका संचालक राजेन्द्र दंगालले बिजमाण्डूसँग भने, ‘हाम्रो समस्याले त्यो दुर्घटना भएको होइन।’

महानिर्देशक जोशीले मंगलबार सिलिण्डर विस्फोटको घटनाको छानबिन विभागका निर्देशक प्रभात सिंहले हेरिरहेको जानकारी दिएकी थिइन्। सिंहले भने आफूले त्यो घटनामा कुनै छानबिन नगरेको जवाफ दिँदै विस्फोट भएका सिलिण्डर कहाँ छ भनी प्रश्न गरेका थिए।

उनले बुधबार दुर्घटनापछि छानबिन लगायत विषयमा आफ्नो कुनै भूमिका नहुने बताए। ‘हामीले उपभोक्ताको घर र पसलमा पुगेर अनुगमन गर्दैनौं,’ उनले भने, ‘दुर्घटनापछि पनि हामीले छानविन गर्ने होइन। कुनै समिति बनाए हेर्छौं।’

दुईजनाको मृत्यु र समाचारपछि बल्ल पत्र

माघ २४ गते भएको ग्यास विस्फोटमा परी १४ जना घाइते भएकामा दुई जनाको २८ गते मृत्यु भयो। यति संवेदनशील घटनामा नेपाल आयल निगमले बल्ल छानबिन अघि बढाएको छ।

नेपाल आयल निगमले मःम सेन्टरमा विस्फोट भएको ग्यास उत्पादक कम्पनीलाई बुधबार पत्राचार गरेको छ। निगमले ग्यास सिलिण्डरको गुणस्तरको अवस्था लगायत विषयमा जानकारी दिन पत्राचार गरेको छ।

‘हामीले पत्र पठाएर सकभर आज नै भएको जानकारी गराउन भनेका छौं। जवाफ पछि कसरी अगाडि बढ्ने भन्ने तय हुन्छ,’ निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले बिजमाण्डूसँग भने।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको मृत्यु हुँदा पनि छानबिनमा बेवास्ता गरेको भन्दै बिजमाण्डूले समाचार प्रकाशित गरेपछि हतारहतार पत्र पठाएको हो।

‘ग्यास उद्योगीको मागका बारेमा छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार साढे ११ बजे छलफल बोलाइएको थियो। त्यो छलफलमा दुई जनाको मृत्युसँगै संचारमाध्यममा समाचार आउन थाल्यो,’ बैठकमा सहभागी एक कर्मचारीले भने, ‘त्यसपछि तत्कालै पत्र पठाउन आयल निगमलाई भनिएको थियो। बैठकमा निगमका कार्यकारी निर्देशक भट्ट पनि सहभागी थिए।’

सीता श्री उद्योगका संचालक दंगालले पनि निगमको पत्र आएको पुष्टि गरे। बुधबार साँझ वा बिहीबारसम्म पत्रको जवाफ पठाउने उनले जानकारी दिए। उनले सिलिण्डरको अवस्था राम्रो रहेको बताउँदै उपभोक्ताले ग्यास चलाउँदा भएको कमजोरीले दुर्घटना भएको बताए।

‘त्यो घट्ना हुनेबित्तिकै हामीले डिलरलाई सोधेका थियौं। डिलरबाट ग्यास सिलिण्डर जोखेर र म्याद लगायत हेरेर १३ वटा सिलिण्डर दिएको भन्ने जवाफ पायौं,’ उनले भने, ‘हामी यी सबै हेरेर निगमलाई जवाफ पठाउँछौं।’

घटना भएको केही घण्टामा नै निगमका कर्मचारी अनुगमनका लागि घटनास्थल पुगेका थिए। तर प्रहरीले घटनास्थलमा प्रवेश गर्ने रोकेको र सञ्चालकले कुराकानी गर्न नमानेको भन्दै फर्किएका थिए।

त्यसपछि निगमले घटनामा कुनै चासो देखाएको थिएन।

प्रहरीले ग्यास लिक भएर घटना भएको अनुमान गरेको छ। ‘ग्यास लिक भएर नै विस्फोट भएको भन्ने देखिन्छ। कसैको लापरबाहीले नै ज्यान गएको हो भने त्यो अनुसन्धान हुनुपर्छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी टेकबहादुर तामाङले भने।

घटनालगत्तै शानदार म:म सेन्टर पुगेर मुचुल्का उठाएको प्रहरीले पनि अहिलेसम्म घटनाको कारण सार्वजनिक गरेको छैन।

ग्यास उद्योगको अनुगमनको जिम्मेवारी निगमको हो। त्यस्तै ग्यास सिलिन्डर, रेगुलेटर, पाइप लगायतको गुणस्तरबारे जाँच गरेर अनुमति दिने काम नापतौल तथा गुणस्तर विभागले गर्छ।