
काठमाडौं। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा जलविद्युत् कम्पनीको वित्तीय अवस्थामा सुुधार आएको छ। ब्याजदरमा आएको गिरावटले लागत घटेपछि त्यसको प्रभाव जलविद्युत् कम्पनीको ब्यालेन्स सिटमा परेको हो।
चालु आर्थिक वर्ष ६ महिनामा करिब ७५ प्रतिशत कम्पनीले नाफा कमाएका छन् भने करिब आधाको नाफा बढेको छ।
आयोजनाको विद्युत् बिक्रीबापतको आम्दानी बढेको छ। चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण निकालेका ८४ मध्ये ६१ कम्पनी नाफामा छन्। गत वर्ष दोस्रो त्रैमासमा ४६ वटा हाइड्रोपावर नाफामा थिए। यस वर्ष २३ कम्पनी मात्रै नोक्सानीमा छन्।
गत वर्षको तुलनामा कम्पनीहरूले खुद नाफा औसतमा १४०.७६ प्रतिशतले वृद्धि गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीले यो वर्ष ६ महिनामा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत वर्ष ६ महिनामा जलविद्युत् कम्पनीहरूले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ३७ वटा कम्पनीले नाफा बढाएका छन्।
सबैभन्दा धेरै खुद नाफा कमाउनेमा साहस ऊर्जा कम्पनी छ। यो कम्पनीले ६ महिनामा ७२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर ६ महिनामा ४६ करोड ७९ लाख रुपैयाँ नाफा गरेको साहस ऊर्जाले यसपालि ५५.८४ प्रतिशतले खुद नाफा बढाएको हो।
खुद नाफा धेरै कमाउने आधारमा शीर्ष ५ कम्पनीको सूचीमा साउस ऊर्जापछि माउन्टेन इनर्जी, चिलिमे हाइड्रोपावर, ग्रिन भेन्चर्स र अपि पावर कम्पनी छन्।

गत असारमा आएको बाढीपहिरोका कारण तीन दर्जन आयोजना प्रभावित भएका थिए। बाढिपहिरोका कारण क्षति पुगेका केही आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन्।
बाढी पहिरोले तीन महिना बन्द हुन पुगेको देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको ब्यालेन्स सिट भने बिग्रिएको छ। यो कम्पनी पोहोर पहिलो ६ महिनामा २५ करोड ७६ लाख रुपैयाँ घाटामा रहेकामा यसपालि सोहो अवधिमा घाटा रकम बढेर ८२ करोड ११ लाख रुपैयाँ पुगेको छ।
उर्जा उत्पादकहरूका अनुसार विद्युत् बिक्रीमा भएको वृद्धि र खर्च घट्दा नाफामा सुधार आएको हो। हाइड्रोपावर कम्पनी निर्माणाधीन अवस्थामा घाटामा हुन्छन्।
विद्युत् उत्पादन गरेपछि नाफा कमाउन थाल्छन्। पछिल्लो समय विद्युत् प्रसारण लाइनको पहुँच बढ्दै गएका कारण उत्पादन थालेका आयोजालाई बिक्री गर्न सहज भएको छ।
बैंकको ब्याजदर घट्दा हाइड्रोपावर कम्पनीको दायित्व घटेको छ। ‘कम्पनीको ६० प्रतिशतसम्म रकम बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नमै खर्च हुने गरेको छ,’ एक उर्जा उत्पादक भन्छन्, ‘अहिले ब्याजदर घट्दा दायित्व कम भएको छ। त्यसैले नाफा वृद्धि भएको हो।’
बैंकको ब्याजदर साढे तीन वर्षयताकै तल्लो विन्दुमा छ। बैंकहरूको ब्याजदर एकल विन्दुमा आउँदा हाइड्रोपावरको दायित्व घटेको छ। यसले गर्दा वित्तीय विवरणमा सुधार देखिएको हो।