मर्चेन्ट बैंकरको लाइसेन्स खुलाउने सेबोनको निर्णय, आइपीओ निष्कासन गर्ने बाटो खुल्यो

सुनिल कुँवर
२०८१ माघ २३ गते २०:५६ | Feb 5, 2025
मर्चेन्ट बैंकरको लाइसेन्स खुलाउने सेबोनको निर्णय, आइपीओ निष्कासन गर्ने बाटो खुल्यो


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन) ले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को लाइसेन्स वितरण प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

Tata
GBIME
NLIC

सेबोनले मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र खुला गर्ने निर्णय गरेको हो।

मर्चेन्ट बैंकरको संख्या धेरै भएको भन्दै सेबोनले २०७५ साउनमा निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकरको लाइसेन्स वितरण स्थगित गर्ने निर्णय गरेको थियो। तर, अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लाइसेन्स वितरणको बाटो खुला गरिदिएका हुन।

मर्चेन्ट बैंकर नियमावली,२०६७ ले चुक्ता पुँजी र व्यवसायको आधारमा ५ प्रकारका मर्चेन्ट बैंकरलाई व्यवसाय गर्न लाइसेन्स दिएको छ। नियमावलीले व्यवस्था गरे अनुसार ७ करोड चुक्ता पुँजी भएका मर्चेन्ट बैंकरले अन्डरराइडरको काम गर्न पाउँछन्।

५ करोड चुक्ता पुँजी भएकाले लगानी व्यवस्थापक र निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्न पाउँछन्। सेयर रजिस्टारको र संस्थागत परामर्श दाताको लागि ३/३ करोड रुपैयाँ पुँजी तोकिएको छ।

चुक्ता पुँजी कम भएर सीमित कार्य गरिरहेका मर्चेन्ट बैैंकरका लागि सेबोनको लाइसेन्स दिने निर्णयले सहज बनाएको छ भने अहिले सञ्चालनमा रहेकाहरूलाई प्रतिस्पर्धामा टिकाउन मुस्किल हुनेछ।

त्यस्तै, सेबोनले मर्चेन्ट बैंकरलाई आइपीओ निष्कासनको बाटो समेत खुला गरिदिएको छ। व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरेको तथा कम्तीमा १ अर्ब चुक्ता पुँजी भए ३० प्रतिशत भन्दा कम नहुने गरी आइपीओ निष्कासन गर्न दिने निर्णय गरेको छ।

अहिले सेबोनबाट लाइसेन्स लिएका मर्चेन्ट बैंकरको संख्या ३१ छ। यसअघि लाइसेन्स लिएका कम्पनीहरूले नै व्यवसाय गर्न नसकिरहेको अवस्थामा सेबोनले अर्को कम्पनीलाई लाइसेन्स प्रक्रिया खुलाउने निर्णय गरेको हो।

मर्चेन्ट बैंकरले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, अण्डरराइटिङ सेयर रजिस्ट्रेसन, ग्राहकका लागि लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा दिने काम गर्छन्।