
काठमाडौं। बैंकहरुमा फालाफाल तरलता, ब्याजदर साढे तीन वर्षयताकै तल्लो विन्दुमा। सेयर बजारका लागि आवश्यक मानिने सूचकहरु ठिकठाक हुँदा पनि नेप्सेले रातो झण्डा देखाइरहेको छ।
विगतमा जस्तो तरलता धेरै भएर ब्याजदर घटेको रिफ्लेक्सन सेयर बजारमा देखिन छोडेको छ। बजार बुलिस गराउने यी सूचकहरुले यसपटक फेल खाएका छन्।
ती सूचकले बजार बढाउनका लागि अहिले किन काम गर्न छोडे?
तीन वर्षअघि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लगानीमा कसिलो नीति लियो।
राष्ट्र बैंकको नीतिगत कडाइपछि सेयर बजारमा बैंकिङ क्षेत्रबाट ऋण प्रवाह घट्दै गयो। त्यसपछि ब्याजदर बढ्दै जाँदा अरु सूचक प्रतिकूल बन्दै गए। २०७८ भदौमा ३१९८ विन्दुमा पुगेको सेयर बजार तिनै प्रतिकूल सूचकका कारण १८०६ अंकसम्म ओर्लियो।
लगातार तीन वर्ष ‘बियरिस ट्रेन्ड’मा लागेको बजारमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी केन्द्रमा रहे। मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा लगाउनुका साथै जोखिम भार बढाएर बजारलाई ‘पेनिक’ बनाएको भन्दै उनको आलोचना भयो।
अहिले सेयर बजारका लागि अधिकारीले लिएका नीति र सूचक उल्टिएका छन्। कार्यकाल सकिने अवधि नजिंकिदै जाँदा गभर्नर अधिकारी बजारप्रति नरम हुन थाले।
गत वर्षको मौद्रिक समीक्षादेखि उनले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा ऋण लगानी सहज हुनेगरी कर्जाको सीमा र जोखिम भार घटाउँदै ल्याए। तैपनि, बजारमा त्यसको कुनै प्रभाव देखिएको छैन।
अधिकारीको कार्यकाल आगामी चैत अन्तिम साता सकिंदैछ। उनका लागि यस वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अन्तिम हुनेछ। सेयर बजारप्रति कार्यकालको अन्तिमतिर अधिकारीले देखाएको लचकतालाई लगानीकर्ताले विश्वास नगरेको जानकारहरु बताउँछन्।
‘कोभिडको बेला सबैतिर खुकुलो नीति बनाउनुपर्छ भन्ने थियो। त्यही अनुसार सहज हुने व्यवस्था गरिए। तर, स्पिडमा गइरहेको अर्थतन्त्रको गाडीमा गभर्नरले झ्याप्पै ब्रेक लगाइदिए। यसले लगानीकर्तालाई त्रसित बनायो,’ एक विश्लेषकले भने, ‘तीव्र गतिमा कुदेको गाडीको गति विस्तारै कम गर्दै लैजानुपर्थ्यो। यसमा ध्यान दिइएन। नियामकीय नीतिको कुदाइ अनिश्चित भइदिएपछि लगानीकर्ता र निजी क्षेत्रमा कन्फिडेन्स नै आएन। अनुमानयोग्य नीति नै भएन। अहिले उनले खुकुलो बनाउन खोजेपनि लगानीकर्ताले पत्याएनन्।’
तीन वर्षअघि सेयरमा कर्जा लगानी गर्न लगानीमा कडाइ गरेको राष्ट्र बैंकले अहिले एकपछि अर्को नीतिगत लचकता मात्रै अपनाएको छैन, अर्थ मन्त्रालयको नेतृत्वमै सेयर बजारमैत्री अर्थमन्त्रीको छवि बनाएका विष्णु पौडेल छन्। पौडेल र गभर्नरको ट्युनिङ मिलेको छ।
पौडेल एमाले उपमहासचिव हुन। अधिकारीलाई एमाले नेतृ्त्व सरकारले गभर्नर नियुक्त गरेको हो। अधिकारीमाथि फरक दलबाट अर्थमन्त्री बनेकाहरुलाई असहयोग गरेको आरोप छ। यसपटक पौडेलको छविले बजारको सेन्टिमेन्टलाई टिकाइ राख्न सकेन।
सबै अस्त्र लगाउँदा समेत केही नलागेपछि बजारको वृद्धिलाई देखाएर लोकरिझ्याँइमा रमाउने पौडेललाई पनि चिन्तित बनाएको छ। गत साउन मसान्तमा ३००० विन्दु पुगेको नेप्सेमा भदौपछि बियरिस ट्रेन्ड सुरु भएपछि पौडेलको टाउको दुख्यो बन्यो। उनले असोजमा नेप्सेको कार्यालय पुगेर बजार किन घटिरहेको छ? भन्दै जवाफ मागे।
गत असारमा कांग्रेस र एमालेले सत्ता समीकरण गरेपछि सेयर बजार डेढ महिनामा ४६ प्रतिशतले बढेकामा वृद्धि टिकरहन सकेन। नेप्से केही महिनादेखि २४००-२७०० विन्दु वरिपरि घुमिरहेको छ। बुधबारको ५२ अंकको वृद्धि बिहिबार टिकेन। बिहिबार बजार ११.१० अंकले घट्यो।
सरकारले अर्थतन्त्र सुधारका लागि भन्दै एकैपटक ५ वटा अध्यादेश ल्याएको छ। निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश ल्याएको भनिएको छ। निजी क्षेत्रले पनि अध्यादेशमा कल्पनै नगरिएका सुधारका कदम चालिएको भनेर सरकारको प्रशंसा गरिरहेको छ। तर बजारमा त्यसको रिफ्लेक्सन देखिन सकेको छैन।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएको छ। आईएमएफ कार्यकारी बोर्डले २०७८ मा नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेकामा पाँचौं समीक्षाको लागि सहमति जनाएको छ।
‘बजारले जहिले पनि सकारात्मक र स्थिर नीति खोज्छ। तर, यहाँ कर र मौद्रिक नीतिले लगानीकर्तालाई तर्साउने काम मात्रै गर्यो। सेलेक्टिभ हिसाबले अध्ययन र त्यसले पार्ने प्रभावविना नै नीतिहरु बनाएका कारण सामान्य लगानीकर्ताहरुले सकारात्मक रुपमा लिने वातावरण भएन,’ एक ब्रोकरले भने, ‘त्यसैले गभर्नर अधिकारीप्रति लगानीकर्ताको बुझाइ राम्रो छैन। नयाँ गभर्नर आएपछि करेक्सन गरेर स्थिर हिसाबले लैजान्छन् कि भन्ने छ।’
सत्ता समीकरण फेरिएपछि सेयर बजारमा देखिएको वृद्धिलाई आफूहरुप्रतिको भरोसाका रुपमा प्रचार गरेका अर्थमन्त्री पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले बजार रातो हुन थालेपछि सार्वजनिक मञ्चहरुमा यस विषयमा बोल्न नै बन्द गरेका छन्।