नेपाली चिया रोक्न कडाइ गर्दै भारत, अनिवार्य अक्सनको व्यवस्था गरे उद्योग नै संकटमा पर्ने

अनन्तराज न्यौपाने
२०८१ माघ ६ गते १६:१० | Jan 19, 2025
नेपाली चिया रोक्न कडाइ गर्दै भारत, अनिवार्य अक्सनको व्यवस्था गरे उद्योग नै संकटमा पर्ने

विराटनगर। नेपाल र भारतबीच वाणिज्य सचिवस्तरमा अन्तर सरकारी बैठक भएको हप्ता दिनमै चिया निर्यातमा संकटको बादल मडारिन थालेको छ। भारतले नेपालमा उत्पादित चियामाथि कडा निगरानी गर्न अनिवार्य अक्सनको प्रावधान ल्याउन खोजेको छ।

Tata
GBIME
NLIC

भारतले सबै प्रकारका आयातित चिया अक्सनबाटै भित्र्याउने गरी कानुन निर्माणको तयारी थालेको हो।

भारतीय चिया बोर्डले देशभित्रका सरोकारवालालाई पत्र पठाउँदै नेपाली चियालाई अक्सन प्रणालीबाट मात्र भित्र्याउँदा के असर पर्छ भनेर राय मागेको छ।

भारत सरकारले उचित वितरण र भारतीय चिया उद्योगलाई सेफगार्ड प्रदान गर्नु यसको उद्देश्य भएको बताएको टेलिग्राफले जनाएको छ।

भारत सरकारले आफूकहाँ आयात हुने चियालाई अनिवार्यरूपमा अक्सनमा राख्न गृहकार्य सुरु गरेपछि नेपाली चिया उद्योगीले यसलाई संकटका रुपमा लिएका हुन्।

अर्थोडक्स (ग्रिन टी) र सीटीसी दुवै प्रकारका चियाको निर्यातका लागि अक्सनकै प्रक्रिया अपनाउनु पर्ने स्थितिमा निर्यात नराम्ररी प्रभावित हुने उद्योगीहरुको बुझाइ छ।

नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष सुरेश मित्तलका अनुसार भारतले अनिवार्य अक्सनको व्यवस्था गरे नेपालको समग्र चिया उद्योग संकटमा पर्नेछ। नेपाली चियाको भारतमा अत्यधिक माग छ।

नेपाली व्यवसायीले भारतमा अक्सनमा चिया बिक्री गर्न सबैभन्दा पहिले आफ्नो चिया त्यहाँको अक्सन बोर्डको गोदाममा लगेर राख्नुपर्छ। अक्सन बोर्डका चिया गोदाम कोलकाता, सिलिगुडी र गुवाहटीमा छन्।

बोर्डको प्रयोगशालामा चियाको गुणस्तर परीक्षण गरिन्छ। नेपालको गुणस्तर कार्यालयले दिएको प्रमाणपत्र उसले मान्नेछैन। अक्सन बोर्डले चियामा विषादी छ/छैन, कुन गुणस्तरको हो? परीक्षण गरेर रिपोर्ट दिन्छ। यो प्रक्रिया पूरा गर्न एक महिना लाग्छ।

बोर्डको परीक्षणमा पास भए भारतका ब्रोकरले क्रेता खोजिदिन्छन् र बिक्री गर्न पाइन्छ।

बोर्डको परीक्षणमा पास नभए नेपाली व्यवसायीले चिया नेपालमा फिर्ता ल्याउन पाउने छैनन्। बोर्डले अखाद्य भन्दै नष्ट गरिदिन्छ।

दार्जीलिङका चिया उद्योगले नेपालको गुणस्तरहीन चियाका कारण आफ्नो व्यवसायमा असर परिरहेको बताउँदै आएका छन्। त्यही कारण त्यहाँको केन्द्र सरकारले नेपाली चिया अक्सनबाट बिक्री गर्नु नै एक मात्र उपाय हो भन्ने प्रस्ताव गरेको हो।

भारतीय चिया संघले गत मंगलबार श्वेतपत्र जारी गर्दै केन्द्र सरकारको प्रस्तावमा समर्थन जनाएको छ। संघले श्वेतपत्रमा तत्काल केन्द्र र पश्चिम बंगाल सरकारले नेपालको चियामा वित्तीय र गैरवित्तीय हस्तक्षेप गर्नुपर्ने माग गरेको छ।

नेपालले गत आर्थिक वर्षमा भारततर्फ ३ अर्ब ८ करोड १४ लाख ८७ हजार रुपैयाँको १ करोड ३३ लाख ५५ हजार ७२९ किलो सीटीसी चिया निर्यात गरेको थियो। औसतमा प्रति किलो २३०.७२ रुपैयाँका दरले निर्यात गरिएको हो।

त्यस्तै गत आवमै १ करोड १९ लाख २० हजार रुपैयाँ बराबरको २९ हजार ९७७ किलो ग्रिन टी भारततर्फ निर्यात गरिएको छ। एक किलो ग्रिन टी ३९७.६४ रुपैयाँका दरले भारतमा बिक्री गरिएको हो।

भारतीय चिया संघले दार्जिलिङको चियालाई समान अवसर प्रदान गर्न भन्दै नेपाली चियाको न्यूनतम आयात मूल्य प्रस्तावित गरेको छ। संघले उत्पादन लागत नै प्रति किलो औसत ६५० भारु हुने दाबी गरेको छ।

यस मूल्यलाई मानेर भारतले न्यूनतम आयात मूल्य तोकेमा नेपाली चियाको निर्यात ठप्प हुने उद्योगीहरुको भनाइ छ।

दुई देशबीच २००९ मा भएको वाणिज्य सन्धिले नेपालमा उत्पादित चियालाई भारतमा शून्य महसुलमा प्रवेश दिएको छ। तर भारत वा अन्य देशबाट नेपालमा चिया आयात गर्दा ग्रिन टीको महसुल ४० प्रतिशत छ। यसमा भ्याट छैन।

त्यस्तै अन्य ब्ल्याक टी र सीटीसी चियाको आयातमा भन्सार महसुल ४० प्रतिशत र भ्याटसमेत गर्दा कुल आयात शुल्क ५८.२ प्रतिशत पुग्छ।

ग्रिन टीमा भारतको टाउको दुखाइ

नेपाली चिया उद्योगीका अनुसार भारतमा सीटीसी चिया बर्सेनि १ अर्ब ४० करोडदेखि १ अर्ब ६० करोड किलोसम्म उत्पादन हुन्छ। त्यसैले नेपालबाट निर्यात हुने एक/डेढ करोड किलो सीटीसी चिया भारतका लागि खासै टाउको दुखाइको विषय होइन।

तर ग्रिन टीको कथा अर्कै छ। ग्रिन टीको उत्पादन पहाडी र उच्च पहाडी भेगमा मात्र हुन्छ। भारतमा ग्रिन टी उत्पादनको मुख्य थलो दार्जिलिङ हो। नेपालमा फिक्कल, कन्याम लगायत धेरै स्थानमा आक्रामकरूपमा ग्रिन टी उत्पादन गरिंदै आएको छ।

स्वाद, सुगन्ध र गुणस्तरका हिसाबले दार्जिलिङको तुलनामा नेपालमा उत्पादित ग्रिन टी राम्रो मानिन्छ। त्यस्तै त्यहाँको जमिनको मूल्य, न्यूनतम ज्यालादर र अन्य कारणले दार्जिलिङको ग्रिन टीको लागत उच्च छ, प्रति किलो ६५० भारु।

तर नेपालमा लागत किलोको ३०० रुपैयाँ भन्दा छैन। त्यसैले नेपालका उद्योगीले प्रति किलो ३५० मा पनि दार्जिलिङको भन्दा राम्रो गुणस्तरको ग्रिन टी बिक्री गर्न सकेका हुन्।

इलामको यही ग्रिन टीलाई भारतमा प्याकेजिङ गर्नेहरूले वैध–अवैध दुवै ढंगबाट लगिरहेका छन्। दार्जिलिङको ग्रिन टीमा नेपालको ग्रिन टी मिसाएर प्याकिङ गरिरहेका छन्।

मिसाइएको चियालाई उनीहरूले दार्जिलिङको ग्रिन टीका नामले बिक्री गर्दै आएका छन्। यसले गर्दा भारतका प्याकेजिङ उद्योगमा नेपालमा उत्पादित ग्रिन टीको ठूलो माग छ। यही कारण नेपालमा ग्रिन टीको खेती बढ्दै जाँदा दार्जिलिङको खेती संकटमा परिरहेको छ।

‘त्यहाँको केन्द्र सरकारसँगसँगै भारतीय चिया उत्पादक संघले पनि दार्जिलिङका ग्रिन टी उद्योगलाई बचाउन नै नेपालबाट भित्रने चियालाई अक्सन प्रणालीमा लैजानु पर्छ भनेका हुन्। यो प्रणाली लागू भयो भने ग्रिन टीको कहानीको मारमा नेपालको सीटीसी चियाको निर्यात पनि पर्नेछ,’ उद्योगी मित्तलले भने ।