नेपाली इभी बजारमा बीवाइडी नम्बर वान, व्यापार ३८ प्रतिशतले बढाएर टाटालाई पार्‍यो पछाडि

शुक्र गिरी
२०८१ पुष २८ गते १२:३३ | Jan 12, 2025
नेपाली इभी बजारमा बीवाइडी नम्बर वान, व्यापार ३८ प्रतिशतले बढाएर टाटालाई पार्‍यो पछाडि

काठमाडौं। विद्युतीय गाडी (इभी) बिक्रीमा टाटालाई बीवाइडीले पछि पारेको छ। सन् २०२४ मा नेपाली बजारमा टाटालाई पछि पार्दै बीवाइडी नम्बर वान बन्न सफल भएको हो। यसअघिका दुई वर्ष नेपालमा इभी बिक्रीमा टाटा पहिलो नम्बरमा थियो।

Tata
GBIME
NLIC

सन् २०२४ मा इभी बिक्रीमा बीवाइडीले टाटालाई २२ प्रतिशतले उछिनेको छ। भन्सार र यातायात कार्यालयबाट प्राप्त तथ्यांक अनुसार बीवाइडीले एक वर्षमा ३ हजार ५३० युनिट इभी बिक्री गरेको छ। बीवाइडीले नेपालमा आफ्नो बजार ३८ प्रतिशतले बढाएको हो।

टाटाले पनि इभी बिक्री बढाएकामा त्यो संख्या बीवाइडीलाई भेट्टाउन पर्याप्त भएन। एक वर्षमा नेपाली बजारमा टाटाका इभी २ हजार ७५० युनिट बिक्री भएका छन्।

यो संख्या अघिल्लो वर्षभन्दा करिब २०० बढी हो। टाटाले २०२३ मा नेपाली बजारमा २ हजार ५५७ युनिट बिक्री गरेको थियो। त्यो वर्ष बीवाइडी संख्याका आधारमा टाटाभन्दा करिब ४०० युनिटले पछि परेको थियो। बीवाइडीले त्यो वर्ष २ हजार १७७ युनिट गाडी बिक्री गरेको थियो।

टाटाले आफ्नो इभी बजार ७ प्रतिशतले बढाउँदा बीवाइडीले आक्रामक रुपमा विस्तार गरेको छ। बीवाइडीले इभी बिक्री एकै वर्षमा ३८ प्रतिशत अर्थात करिब १४०० युनिट बढाएको हो।

नेपालमा बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक हो जसले डल्फिन, एटो थ्री, सिल र एम-६ बिक्री गर्दै आएको छ। कम्पनीका अनुसार डल्फिन र एटो थ्रीको बिक्री धेरै छ।

यस्तै टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो, एक्सप्रेस टी, नेक्सन र पन्च इभी बिक्री गर्दै आएको छ।

बीवाइडी र टाटा दुवै ठूला ब्रान्ड हुन्। उनीहरूबीचको प्रतिस्पर्धाले नेपाली उपभोक्ताले विकल्प पाइरहेका छन्। कम्पनीहरुले अहिले धेरै मोडलका गाडी बजारमा ल्याउने तयारी गरिरहेका छन्।

बीवाइडी र टाटापछि तेस्रो नम्बरमा मोरिस ग्यारेज(एमजी) छ। तेस्रो स्थानमा कायम रहेपनि एमजीको इभी बजार भने खस्किन पुगेको छ। उसको बजार २१ प्रतिशतले ओरालो लागेको हो।

एमजीको गाडी बिक्रेता कम्पनी पारामाउन्ट मोटर्सले सन् २०२४ मा ८९३ युनिट इभी बिक्री गरेको छ। जबकि यो संख्या सन् २०२३ मा १ हजार १२७ युनिट थियो। पारामाउन्ट मोटर्सले अहिले एमजी फोर, एमजी जेडएस इभी, कोमेट इभी र साइबरस्टर बिक्री गर्दै आएको छ।

यो पटक नेटालाई पछि पार्दै एक वर्षअघि मात्रै नेपाली बजारमा इन्ट्री गरेको ओमोडा एण्ड जेको ब्रान्ड चौथो स्थानमा आएको छ। सन् २०२४ मा ७५९ युनिट ओमोडा गाडी बिक्री भएका छन्।

यो गाडी सन् २०२३ मा भने नेपाली बजारमा थिएन। यसको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले अहिले ओमोडा ई-५ र जेको जे-६ गाडी बिक्री गर्दै आएको छ।

इभी बिक्री संख्याका आधारमा चांगनको डीपल पाँचौं स्थानमा छ। डीपलका एस०७ र एल०७ गाडी सन् २०२४ मा ७०२ वटा बिक्री भएका छन्।

सन् २०२३ मा १८७ युनिट बिक्री गरेर हुन्डाई पाँचौं स्थानमा थियो। तर यो पटक हुन्डाई इभी बिक्री गर्ने टप १० कम्पनीको सूचीमै छैन।

सन् २०२३ मा २६५ युनिट गाडी बिक्री गरेर चौथो स्थानमा रहेको नेटा यो पटक छैटौं स्थानमा धकेलिएको छ। सन् २०२४ मा बिक्री बढेपनि नेटा अरु ब्रान्डभन्दा कमजोर भएकाले पछाडि धकेलिएको हो। नेटा गाडी सन् २०२४ मा नेपाली बजारमा ३८१ युनिट बिक्री भएका छन्। नेटा भी र नेटा एक्स गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्स हो।

गत वर्ष छैटौंमा स्थानमा रहेको सेरेस आठौं स्थानमा धकेलिएको छ। सेरेस ब्रान्डका गाडी २०२३ मा १७४ युनिट बिक्री भएकामा २०२४ मा व्यापार बढेको छ।

२२९ युनिट गाडी बिक्री भएपनि सेरेसलाई पछि पारेर डङफेङको नामी ब्रान्डले सातौं स्थान लिएको छ। गत भदौदेखि मात्रै नेपाल बजारमा इन्ट्री गरेको नामी ब्रान्डका गाडी ३५४ युनिट बिक्री भएका छन्।

सन् २०२३ मा सातौं स्थानमा रहेको सिट्रोन १०औं स्थानमा झरेको छ। सिट्रोनको बिक्री अघिल्लो वर्षको तुलनामा ३२ युनिट बढेपनि इभी बजारमा उसको हिस्सा भने घट्न पुगेको हो। २०२४ मा नेपाली बजारमा १४६ युनिट सिट्रोन गाडी बिक्री भएका छन्।

जीएसीको आयोन १५७ युनिट बिक्रीका आधारमा नवौं स्थानमा छ। जीडब्लूएम, वुलिङ र टेस्ला यसपालित टप टेनको सूचीमा अटाउन सकेनन्।

समग्र गाडी बिक्रीमा टाटा पहिलो

सन् २०२४ को समग्र अटो बजार हेर्ने हो भने टाटा पहिलो नम्बरमा छ। प्यासेन्जर, कमर्सियल र इभी बिक्रीका आधारमा टाटा पहिलो नम्बरमा रहेको हो। एक वर्षमा टाटाले ५ हजार ७४१ युनिट गाडी बिक्री गरेको छ।

यो संख्या बीवाइडीको भन्दा करिब २२०० बढी हो। बीवाइडीसँग प्यासेन्जर सेग्मेन्टमा सीमित इभी मात्रै छ।

सबै किसिमिक गाडि बिक्रीमा हुन्डाई तेस्रो स्थानमा छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल सन् २०२४ मा १ हजार ५९२ युनिट गाडी बिक्री गरेको छ।

पछिल्लो समय इन्धन सवारीको समेत व्यापार बढ्न थालेकाले हुन्डाई तेस्रो स्थानमा आउन सफल भएको हो। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै एसेम्ब्ली प्लान्ट निर्माण गरेर भेन्यु एसयुभी बनाउँदै आएको छ। जसले गर्दा गाडीको मूल्य पहिलेको तुलनामा साढे ४ लाखसम्म सस्तो भएको छ।

यस्तै महिन्द्रा चौथो स्थानमा आएको छ। यसको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले एक वर्षमा १ हजार ४०१ युनिट गाडी बिक्री गरेको छ।

एमजी ८९६ युनिट गाडी बिक्रीसहित पाचौं स्थानमा छ। कम्पनीले प्यासेन्जर सेग्मेन्टमा इभी धेरै बिक्री गरेको छ।

सुजुकी सन् २०२४ मा ८४१ युनिट बिक्री गर्दै छैटौं स्थानमा छ। यसको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सले अहिले हाइब्रिड र इन्धन गाडी मात्रै बिक्री गर्दै आएको छ। कुनै समय नेपालको नम्बर वान गाडी बिक्रेता कम्पनी अहिले आफूसँग इभी मोडल नहुँदा छैटौं स्थानमा पुगेको हो।

ओमोडा एण्ड जेको ७५९ युनिट गाडी बिक्रीसहित नेपाली बजारमा इन्ट्री गरेकै वर्ष सातौं स्थानमा परेको छ। कम्पनीले बजारमा स्थापित आइचर, अशोक लेल्यान्ड, निसान, टोयोटा, फक्सवागन, किया लगायत एक दर्जन ब्रान्डलाई पछाडि पारेको छ। कम्पनीसँग अहिले प्यासेन्जर इभी मात्रै छ।

अशोक लेल्यान्ड आठौं स्थानमा छ। यसको आधिकारिक बिक्रेता कम्पनी आईएमई मोटर्सले एक वर्षमा ७५० युनिट गाडी बिक्री गरेको छ। यो कम्पनीले इन्धन कमर्सियल सेग्मेन्टका गाडी मात्र बिक्री गर्दै आएको छ।

सन् २०२४ मा बजारमा आएको डीपल नवौं र ५०४ युनिट गाडी बिक्री गर्दै किया १०औं स्थानमा छन्।

इन्धन प्यासेन्जरमा हुन्डाई पहिलो स्थानमा

इन्धन प्यासेन्जर गाडी बिक्रीमा हुन्डाई पहिलो स्थानमा छ। हुन्डाईले १५३० युनिट गाडी बिक्री गर्दै पहिलो स्थान लिएको हो। इन्धन प्यासेन्जर गाडी बिक्रीमा सुजुकी दोस्रो स्थानमा छ। कुनै समय पहिलो स्थानमा रहेको सुजुकीलाई हुन्डाईले पछाडि पारेको हो।

तेस्रो स्थानमा महिन्द्राले लिएको छ। एक वर्षमा यव ब्रान्डका ६४७ युनिट इन्धन प्यासेन्जर गाडी बिक्री भएका छन्। किया ४८३ युनिट गाडी बिक्रीका आधारमा चौथो तथा निसान २०३ युनिट गाडी बिक्री भएपछि पाँचौं स्थानमा छन्। टोयोटा छैटौं, टाटा सातौं, फक्सवागन आठौं, स्कोडा नवौं र रेनो १०औं स्थानमा छन्।

इन्धन कमर्सियलमा टाटा सबैभन्दा धेरै गाडी बिक्री गर्ने ब्रान्ड बनेको छ। टाटा सन् २०२४ मा २ हजार ९०५ युनिट कमर्सियल गाडी बिक्री गरेर पहिलो स्थानमा रहन सफल भएको हो। दोस्रो स्थानमा अशोक लेल्यान्ड छ।

७१२ युनिट कमर्सियल गाडी बिक्री गरेको महिन्द्रा तेस्रो स्थानमा छ। ५६० युनिट बिक्री गर्दै साथै आइचर चौथो स्थानमा रहन सफल भएको छ।

फोर्स पाँचौं, एसएमएल छैटौं, इसुजु सातौं, मारुती आठौं, सिनो ट्रक नवौं र टोयोटा दसौं स्थानमा छन्।