धितोपत्र निष्कासन नियमावली संशोधन गरिने, सेबोनले बनायो अध्ययन समिति

बिजमाण्डू
२०८१ पुष २६ गते १६:५४ | Jan 10, 2025
धितोपत्र निष्कासन नियमावली संशोधन गरिने, सेबोनले बनायो अध्ययन समिति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्ने भएको छ। सेबोनले नियमावली संशोधन गर्न अध्ययन समिति गठन गरेको छ।

Tata
GBIME
NLIC

समितिले नियमावलीमा गर्नुपर्ने संशोधनको विषय सञ्चालक समितिमा पेस गर्नेछ। अध्ययन समितिले दिने सुझावका आधारमा नियमावली संशोधन हुने सेबोनका कर्मचारीहरु बताउँछन्।

‘धितोपत्र दर्ता तथा निष्कासन नियमावलीलाई अन्तर्राष्टिय अभ्यास अनुसार समसामयिक संशोधनका लागि अध्ययन गर्न समिति गठन गरिएको हो,’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले भने।

हाल धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ कार्यान्वयनमा छ। कम्पनीहरुले नियमावलीमा भएको प्रावधान अनुसार सार्वजनिक निष्कासन गर्दै आएका छन्।

कम्पनीले अंकित मूल्य, प्रिमियम मूल्य र बुक बिल्डिङ विधिमार्फत तय मूल्यमा आइपीओ निष्कासन गर्दै आएका छन्।

प्रिमियम मूल्य र बुक बिल्डिङमार्पत आइपीओ निष्कासनको अनुमति दिन सेबोनलाई अहिले सकस परिरहे‍को छ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रश्न उठाएकाले सेबोनले यसअघि नै प्रिमियम र बुकबल्डिङको आइपीओमा केही नीतिगत व्यवस्था परिमार्जन गर्न चाहेको थियो।

तर, ११ महिना पूर्णकालीन नेतृत्व नहुँदा सेबोनले नीतिगत कामकारबाही अघि बढाउन सकेन।

सेबोनको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुक बिल्डिङ र प्रिमियम मूल्यको आइपीओ निष्कासनको प्रावधान हेरफेर गर्ने उल्लेख छ।