कमजोर अवस्थाका आधा दर्जन विकास बैंक र फाइनान्समाथि सुधारात्मक कारबाही गरिँदै, निक्षेपको विवरण मागियो

बिजमाण्डू
२०८१ पुष २५ गते ०९:२३ | Jan 9, 2025
कमजोर अवस्थाका आधा दर्जन विकास बैंक र फाइनान्समाथि सुधारात्मक कारबाही गरिँदै, निक्षेपको विवरण मागियो

काठमाडौं। कारबाही प्रक्रियामा अगाडि बढ्नुअघि नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था निकै कमजोर रहेका आधा दर्जन संस्थाको तरलता अवस्था बुझ्न बाणिज्य बैंकहरूलाई पत्र लेखेको छ।

Tata
GBIME
NLIC

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले वित्तीय अवस्था निकै कमजोर रहेका अन्य आधा दर्जन संस्थामा निगरानी बढाइरहेको छ। ती संस्थाहरू सामान्य अवस्थामा टिक्न नसक्ने देखिएपछि राष्ट्र बैंकले उनीहरूले कुन-कुन बैंकमा कति-कति पैसा राखेका रहेछन् भनेर सबैलाई पत्राचार गरेको छ।

विकास बैंकतर्फ नारायणी डेभलपमेन्ट, एक्सेल डेभलपमेन्ट, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र फाइनान्सतर्फ जानकी र पोखराको निक्षेपको अवस्था के-कस्तो छ भनेर बाणिज्य बैंकहरूलाई सोधिएको हो।

विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेपका रुपमा बाणिज्य बैंकहरूमा राख्न पाउँछन्। त्यही भएर उनीहरूको ‘तरलता’को अवस्था बुझ्न राष्ट्र बैंकले पत्र लेखेको हो।

छिटपुटबाहेक अधिकांशले पत्रको जवाफ नदिइसकेको राष्ट्र बैंक स्रोतले जानकारी दियो। सार्वजनिक वित्तीय विवरण अनुसार अन्य केही संस्थाहरूको अवस्था पनि राम्रो छैन। तर राष्ट्र बैंकले २ फाइनान्स र ३ विकास बैंकको बारेमा सोधपुछ गरेको हो।

राष्ट्र बैंकले पोखरा फाइनान्सलाई त वास्तविक अवस्था के कस्तो हो, सुधार योजना के छन् भनेर पनि सोधिसकेको छ। बाँकीलाई भने सोधेको छैन।

‘निक्कै कमजोर देखिएका संस्थाहरूलाई सुधार प्रक्रियामा लैजानुअघि उसको निक्षेप फिर्ता गर्ने क्षमता के कस्तो छ भनेर बुझ्न खोजिएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सुधार प्रक्रियामा जाँदा शिघ्र सुधारात्मक कारबाहीदेखि व्यवस्थापननै जिम्मा लिनु पर्ने अवस्था पनि हुन सक्छ।’

राष्ट्र बैंकले गम्भीरता पूर्वक हेरिरहेका यी संस्थाहरूको सेयर मूल्य भने हरेक दिन बढिरहेको छ। तुलनात्मक रुपमा राम्रो अवस्थामा रहेका बाणिज्य बैंकको सेयर मूल्य घटिरहँदा वित्तीय अवस्था कमजोर भएका संस्थाहरूको भने बढिरहेको हो।

राष्ट्र बैंकले निक्षेपको विवरण मागेका संस्थाहरूमध्ये केहीको सार्वजनिक तथ्यांकमा वित्तीय अवस्था राम्रो देखिन्छ।

‘स्थलगत अनुगमनमा गएपछि राम्रो भनिएकाहरूको पनि अवस्था नराम्रो देखिएको छ,’ स्रोतले भन्यो।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले यी संस्थाहरूको तथ्यांक केलाउने काम अहिले गरिरहेको छ। सकभर व्यवस्थापन नियन्त्रण नलिई सुधारमा लैजाने प्रयास हुने स्रोतको दाबी छ।

यसका लागि विभागले सवल अवस्थामा रहेका संस्थाहरूलाई कमजोर संस्थाको ऋणहरू खरिद गरिदिन आग्रह गरिरहेको छ। राष्ट्र बैंकको अनुरोधमा केही संस्थाहरूले कमजोर संस्थाको ऋणको अवस्था बुझेका पनि थिए।

‘तर किन्न मिल्ने अवस्थाको ऋण नै छैन,’ एक बैंकरले सुनाए, ‘सोचेभन्दा खराब अवस्था देखिन्छ कतिपयमा त।’

राष्ट्र बैंकले यसपछि मर्जरमा लैजान पनि छलफल सुरु गरेको छ। बैंकका व्यवस्थापन प्रमुखहरूसँग अनौपचारिक रुपमा विभागले मर्जरमा लैजान आग्रह गरेका हुन्। यसका लागि पनि बैंकरहरू इच्छुक देखिएका छैनन्।