स्वर्णलक्ष्मी सहकारीमा रविलाई दुईवटा कसुरमा कारबाही गर्न सिफारिस, १ अर्ब १९ करोड बिगो माग

बिजमाण्डू
२०८१ पुष १८ गते १४:५३ | Jan 2, 2025
स्वर्णलक्ष्मी सहकारीमा रविलाई दुईवटा कसुरमा कारबाही गर्न सिफारिस, १ अर्ब १९ करोड बिगो माग


काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाएको छ।

Tata
GBIME
NLIC

बिहीबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल बुझाइएको हो। प्रहरीले बुझाएको प्रतिवेदनमा ३८ जनालाई प्रतिवादी बनाएर कारबाही गर्न सिफारिस गरिएको छ।

प्रहरीले बुझाएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित ३८ जना रहेका छन्। सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनका दाजु देवेन्द्रबाबु राई, कुमार रम्तेल, पूर्व डीआइजी छविलाल जोशी, सविना आले मगर लगायतलाई मुद्दा चलाउन सिफारिस गरिएको छ।

सहकारी ठगीमा उनीहरुको संलग्नता देखिएको भन्दै १ अर्ब १९ करोड ४९ लाख २१ हजार रुपैयाँको बिगो दाबी समेत गरिएको छ। उनीहरुविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा समेत मुद्दा लगिएको छ।

रवि लामिछाने, छविलाल जोशीबाहेक अहिलेसम्म प्रहरीले स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा अन्य दुईजनालाई पक्राउ गरेको छ। गत कात्तिक २० गते सहकारीको लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवालाई प्रहरीले पक्राउ गरेको थियो। सहकारीले रकम ठगेको भन्दै ६९० जना बचतकर्ताको उजुरी परेको थियो।

लामिछाने, जोशी, रम्तेल लगायतको भने अहिले जिल्ला अदालत कास्कीमा थुनछेक बहस भइरहेको छ।

कास्कीमा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँको बिगो दाबी सहित सूर्यदर्शन सहकारी ठगीमा अभियोगपत्र दायर भएको छ। कास्कीमा उनीहरुविरुद्ध संगठित र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको हो।

अबको केही दिनमा नै थुनछेक बहसपछि कास्की जिल्ला अदालतले आदेश सुनाउनेछ।

त्यसपछि स्वर्णलक्ष्मीमा जोडिएका आरोपीलाई काठमाडौं अदालतमा अभियोग पत्र दायर भएपछि बयान र थुनछेक बहस हुनेछ।

सभापति लामिछानेसहित केहीविरुद्ध चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, पर्साको सानोपाइला सहकारीमा पनि अनुसन्धान भइरहेको छ।

उनीहरूको अनुसन्धान सकिएपछि यसरी नै सरकारी वकिलमार्फत मुद्दा चलाउने देखिएमा अदालतमा अभियोगपत्र दायर हुनेछ।