पाँच तारे होटलको प्राथमिकतामा आन्तरिक पर्यटक, ‘न्यू इयर इभ’का लागि यस्ता प्याकेज

वसन्तराज उप्रेती
२०८१ पुष १५ गते १२:१२ | Dec 30, 2024
पाँच तारे होटलको प्राथमिकतामा आन्तरिक पर्यटक, ‘न्यू इयर इभ’का लागि यस्ता प्याकेज


काठमाडौं। अफ सिजनले व्यवसाय घटेपछि पाँच तारे होटल अंग्रेजी नयाँ वर्ष अर्थात न्यू इयर इभमा केन्द्रित भएका छन्।

Tata
GBIME
NLIC

सोल्टी, ह्यात, होटल याक एण्ड यती, एभरेष्ट, मेरियोट, हिल्टन लगायत विभिन्न ५ तारे होटलले न्यू इयर लक्षित योजना सार्वजनिक गरेका छन्।

सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई विदेशी पर्यटक आगमनको प्रमुख सिजन मानिन्छ। डिसेम्बर लागेपछि विदेशीको संख्या घट्छ। अहिले अधिकांश होटलमा अकुपेन्सी ५० प्रतिशतभन्दा तल छ।

घट्दो अकुपेन्सीले व्यवसाय ओर्लिंदै गएपछि होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर ‘न्यू इयर इभ’को नाम दिँदै खानपिन र बसोबासका लागि आकर्षक प्याकेज ल्याए हुन्।

काठमाडौं मेरियोट होटलका सञ्चालक शशिकान्त अग्रवालले विदेशी पर्यटकको संख्या घटेर व्यापारमा कमी आएकाले आन्तरिक पर्यटकलाई लक्षित गरी न्यू इयर इभको प्याकेज ल्याएको बताए।

‘क्रिसमस मनाउन भनेर विदेशी पर्यटक आ आफ्नो देशमा फर्किएपछि अहिले होटलको अकुपेन्सी ५० प्रतिशत पनि छैन। डिसेम्बर २० देखि जनवरी १० सम्म विदेशीको संख्या निक्कै कम हुन्छ। त्यसैले हामी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्याकेजतिर लागेका हौं,’ अग्रवालले भने, ‘नेपालीहरुमा अंग्रेजी नयाँ वर्ष मनाउने ट्रेण्ड बढेकाले पनि प्याकेज ल्याएका हौं। पाँच तारे होटल विदेशी पर्यटकका लागि मात्र खुलेका होइनन्। आन्तरिक पर्यटकले पनि पाँच तारे होटलको सेवा लिन पाउन् भन्ने उद्देश्यले योजना सार्वजनिक गरेका हौं।’

काठमाडौं मेरियोट होटलले आन्तरिक पर्यटकका लागि अहिले बेड एण्ड ब्रेकफास्टसहित एउटा रुमको मूल्य १५ हजार रुपैयाँ तोकेको छ। होटलले सामान्य अवस्थामा न्यूनतम २५ हजार रुपैयाँ लिने गरेको थियो।

सोल्टी होटलले न्यू इयर लक्षित ४ वटा योजना सार्वजनिक गरेको छ। मेघा मल्हार हलमा बसाइसहित गला डिनरका लागि प्रति व्यक्ति २४ हजार र जोडीका लागि ३७ हजार रुपैयाँ तोकिएको छ। गला डिनरका लागि मात्र प्रति व्यक्ति १६ हजार र जोडीका लागि २८ हजार रुपैयाँ मूल्य छ।

सोल्टीको गार्डेन ट्रेसमा बसाइसहितको प्याकेज रुचाउनेले प्रति व्यक्ति १८ हजार र जोडीका लागि २५ हजार रुपैयाँ तिर्नुपर्छ।

यसमा पाहुनाले लाइभ म्युजिक पर्फर्मेन्स, ल्याभिस डिनर, अनलिमिटेड प्रिमियम ड्रिङ्क्स, नि:शुल्क हेल्थ क्लब, बच्चाका लागि प्ले जोन सेवा समावेश छन्।

होटल एभरेष्टले न्यू इयर इभका लागि लाइभ इन्टरटेनमेन्ट, ल्याभिस फुडसहितको प्याकेज ल्याएको छ। यो प्याकेजको मूल्य प्रति व्यक्ति ७ हजार र जोडीका लागि १४ हजार रुपैयाँ छ। यो दिन होटलमा बस्न चाहनेले थप ९ हजार रुपैयाँ तिर्नुपर्छ।

 

नक्सालस्थित हिल्टन काठमाडौंले प्रति व्यक्ति १६ हजार र जोडीका लागि ३० हजार रुपैयाँको प्याकेज ल्याएको छ। प्याकेजमा लाइभ ब्याण्ड प्रस्तुति, डिजे, ल्याभिस बफेट र बसाइ समावेश गरिएको छ। रात बस्न नचाहनेले सात हजार पाँच सय रुपैयाँमै खानपिन र मनोरञ्जन सेवा लिन सक्ने होटलले जनाएको छ।

यसबाहेक हिल्टन काठमाडौंले ३० जनाको बुकिङमा तीन लाख रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ। जसमा ग्राहकले न्यू इयर इभका दिन लाइभ डिजे, बफेट डिनर, स्न्याक्स र प्रिमियम ड्रिङ्क्स सेवा पाउनेछन्।

होटल हिमालयले न्यू इयर इभमा प्रति व्यक्ति १३ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ। जोडीका लागि यो प्याकेजको मूल्य १९ हजार रुपैयाँ तोकिएको छ। प्याकेजमा खानपिनदेखि बसाइ सुविधा समावेश छ।

लेमन ट्री प्रिमियम बुढानीलकण्ठले मदिरासहित र मदिरारहित अनलिमिटेड हाउस वेभरेज, बेली डान्स, ल्याभिस बफेट डिनरको प्याकेज ल्याएको छ। यो प्याकेजको मूल्य व्यक्तिका हकमा ६ हजार र जोडीका लागि १० हजार रुपैयाँ तोकिएको छ।

गोकर्ण फरेस्ट रिसोर्टले मंगलबारका लागि खानपिन र बसोबासको प्याकेजको मूल्य १७ हजार रुपैयाँ तोकेको छ। यसमा लाइभ ब्याण्ड, ल्याभिस डिनर, अनलिमिटेड स्न्याक्स, ककटेल, सफ्ट ड्रिङ्क्स लगायत सेवा समावेश रहेको रिसोर्टले जनाएको छ। रिसोर्टमा जोडीका लागि २४,००० र तीन जनाका लागि ३४,००० रुपैयाँ मूल्य तोकिएको छ।

दरबार मार्गस्थित होटल याक एण्ड यतीले बल्डी ब्रन्च योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत पाहुनाले दुई हजार २५ रुपैयाँमा वेलकम ड्रिङ्क्स, ल्याभिस बफेट र मल्टी लाइभ सेवा लिन सक्ने छन्।