नागार्जुनका मेयर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा, साढे २२ करोड बिगो

बिजमाण्डू
२०८१ पुष १४ गते १८:०९ | Dec 29, 2024
नागार्जुनका मेयर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा, साढे २२ करोड बिगो


काठमाडौं। नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।

Tata
GBIME
NLIC

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल तथा पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार मेयर बस्नेतले ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गा पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा पास गराएका थिए। यसबापत बस्नेतले कँडेलसँग ९ करोड २२ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ।

मेयर बस्नेतले आफ्नो श्रीमती उर्मिला बस्नेतसँगको मिलोमतो तथा योजनामा नगर प्रमुखको पद दुरुपयोग गरी कँडेलसँग बैंक खातामार्फत २ करोड १५ लाख, ६ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा र शंकर होटलमा बैबाहिक भोज गर्दाको खर्च २४ लाख ७२ हजार तिर्न लगाएर ९ करोड २२ लाख रुपैयाँबराबर घुस लिएको आरोप अख्तियारले लगाएको हो।

मेयर बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालिका अध्यक्ष कँडेलबाट गैरकानूनीरुपमा जग्गा तथा रकम प्राप्त गरी जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप अख्तियारको छ।

घुसमार्फत आर्जन गरेको पैसा लुकाउन मेयर बस्नेत र उनकी पत्नीले ऋण भुक्तानी, पत्नीको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेर सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, रुपान्तरण तथा हस्तान्तरण गर्ने काम गरेको आरोप अख्तियारको छ।

अख्तियारले मेयर बस्नेतलाई भ्रष्टाचार मुद्दामा ९ करोड २२ लाख ४६ हजार र सम्पत्ति शुद्धीकरण मुद्दामा १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो भराउन माग गरेको छ।