
काठमाडौं। तीन दिनको गिरावटपछि सेयर बजार परिसूचक २८.९१ अंकले बढेको छ। नेप्से परिसूचक सोमबार बढेर २६१२.२० विन्दुमा पुगेको छ।
नेप्से पुस ३ यता तीन कारोबार दिनमा ५० अंकले घटेको थियो। सोमबार म्युचुअल फण्डबाहेकका सबै उपसमूहले बजार बढाएका हुन्। जलविद्युत उपमूहको सूचक सबैभन्दा धेरै २.६५ प्रतिशतले उकालो लागेको छ।
बजारमा ४१ कम्पनीका लगानीकर्ताले गुमाउँदा १९४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सपोर्ट माइक्रोफाइनान्स, सुपरमादी हाइड्रोपावर र बाराही हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ४ अर्ब ४३ करोडको सेयर किनबेच भएको छ। सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स छ। यो कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको हो।