
काठमाडौं। लगातार तीन दिन उकालो लागेको कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।मंगलबार कारोबार खुलेदेखि नै ओरालो लागेको कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो।
सेलिङ प्रेसरका कारण महँगो मूल्यमा किनेका लगानीकर्ताले चाहेर पनि बेच्न नपाउने अवस्था देखिएको छ। मंसिर २५ गते प्रति कित्ता २५६६ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य तीन कारोबार दिनमा ७३४ रुपैयाँले बढाएर प्रति कित्ता ३३०० रुपैयाँसम्म पुर्याइएको थियो।
सोमबार कायम कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च हो। विनाकारण उचालिएको सेयर मूल्यमा मंगलबार बजार खुलेदेखि नै गिरावट सुरु भएको हो।
कम्पनीले मंसिर दोस्रो साता आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो।