ज्ञानेन्द्रलालविरुद्ध सम्पति शुद्धीकरण मुद्दा : मुख्य आधार सेयरको जालसाजीयुक्त कारोबार

सविन ढकाल
२०८१ पुष १ गते १९:५२ | Dec 16, 2024
ज्ञानेन्द्रलालविरुद्ध सम्पति शुद्धीकरण मुद्दा : मुख्य आधार सेयरको जालसाजीयुक्त कारोबार


काठमाडौं। नेपाल हाइड्रो डेभलपर्स लिमिटेड (एनएचडीएल)का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पति शुद्धीकरणको मुद्दा दायर गर्दा सेयरको जालसाजीयुक्त कारोबारलाई मुख्य आधार बनाएको पाइएको छ।

Tata
GBIME
NLIC

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंसिर २८ गते प्रधानविरुद्ध सम्पति शुद्धीकरणको मुद्दा दायर गरेकामा अभियोगपत्रमा सेयरको जालसाजीयुक्त कारोबारलाई मुख्य आधार बनाएको पाइएको हो।

नेपाल धितोपत्र बोर्डको तहकिकात प्रतिवेदनमा उल्लेखित तथ्य, कसूरको विश्लेषणबाट प्राप्त तथ्य र अनुसन्धानका क्रममा लिएको बयानबाट प्रधानले सेयरको जालसाजीयुक्त कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको प्रमाणित भएको सरकारी वकिल कार्यालयले अभियोगपत्रमा उल्लेख गरेको छ। ज्ञानेन्द्रलालविरुद्ध सेयरको जालसाजीयुक्त कारोबारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

अभियोगपत्रमा भनिएको छ, ‘ज्ञानेन्द्रलाल प्रधानले आफू अध्यक्ष रहँदाकै अवस्थामा २०७८ साउन १४ मा र अध्यक्षबाट हटिसकेपछि २०७८ असोज ५ मा कम्पनीको सेयर श्रीमती, छोरा र छोरी समेतको नाममा घरायसी नामसारी गरिदिएकोमा नेपाल धितोपत्र बोर्डबाट तहकिकात भई धितोपत्रको जालसाजीयुक्त कारोबार गरेको कसूरमा अदालतमा मुद्दा विचाराधीन रहँदा सम्पति शुद्धीकरण निवारण प्रयोजनार्थ सम्बद्ध कसूर भएको उजुरी उपर अनुसन्धान गर्दा प्रतिवादीले सो कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानीजानी सम्पत्ति शुद्धीकरणको कसूर गरेको वारदात स्थापित हुन आयो।’

ज्ञानेन्द्रलालविरुद्ध २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ बिगो कायम गरिएको छ। सम्पति शुद्धीकरण अनुसन्धान विभागले ज्ञानेन्द्रलालकी पत्नी तथा छोराछोरीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो।

सरकारी वकिल कार्यालयले ज्ञानेन्द्रलालकी पत्नी तथा छोराछोरीसँग बयान लिए पनि मुद्दा नचलाउने निर्णय गरेको थियो। उनीहरुले आफूहरुलाई केही जानकारी नभएको र बिक्री भएको सेयर अंशको रुपमा आएको बयान दिएका छन्।

ज्ञानेन्द्रलालले पनि परिवारका सदस्यलाई प्रयोग गरी लाभ लिने मनसायले सेयर बिक्री गरेको नभई अंश दिएको बताएका छन्। मालपोत कार्यालयबाट बण्डापत्र पास गरेको उनको दाबी छ।

ज्ञानेन्द्रलालले बयानमा भनेका छन्, ‘सेयर बिक्रीमा म प्रत्यक्षतः संलग्न भएको होइन। सेयर मबाट अंश लिएपछि मेरो श्रीमती, छोरा र छोरीले बिक्री गरेका हुन्। बिक्रीबाट मैले लाभ लिएको होइन। सो रकम मैले व्यक्तिगत रुपमा थप लाभका लागि प्रयोग गरेको छैन। त्यसैले मैले सेयरको जालसाजीयुक्त कारोबार गरी सोबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको भन्न मिल्दैन। मेरो नाममा अन्य कम्पनीको समेत सेयर रहेकाले मैले सेयर बिक्री नै गर्नुपर्ने अवस्था भएमा अन्य कम्पनीको बिक्री गर्न सक्थें। कारोबार गरेको नभई अंशबण्डा दिएको हुँ।’

सरकारी वकिल कार्यालयले ज्ञानेन्द्रलालकी पत्नी विमला श्रेष्ठ तथा छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको हकमा अनुसन्धानबाट सम्पत्ति शुद्धीकरणको कसूरमा संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरेको उल्लेख गरेको छ।

बयानपश्चात् खोजी भएका बखत हाजिर हुन आउने कागज गराई छाडिएका ज्ञानेन्द्रलाल खोज तलास गर्दा फेला नपरेको भन्ने प्रहरी प्रतिवेदनबाट खुल्न आएकोले निज प्रतिवादीलाई अदालतबाटै म्याद जारी हुनुपर्ने भनिएको छ।

अभियोगपत्र अनुसार चेतनले २०७७ असोज १४ देखि मिति २०७८ मंसिर १० सम्म श्रीकृष्ण सेक्युरिटीजबाट नेपाल हाइड्रो डेभलपरको ७० हजार ३४४ कित्ता सेयर ५७०.७३ रुपैयाँका दरले ४ करोड रुपैयाँमा बिक्री गरेको देखिन्छ।

यस्तै निभिताले २०७८ साउन ३ देखि असोज २० सम्म श्रीकृष्ण सेक्युरिटिजबाटै ६३ हजार ५२१ कित्ता सेयर औसतमा ५९७.९८ रुपैयाँका दरले ३ करोड ७९ लाख रुपैयाँमा बिक्री गरेको देखिन्छ।

साथै २०७७ माघ २१ मा कम्पनीको १०० कित्ता सेयर औसत मूल्य २५१.६० को दरले र २०७८ असोज २५ मा १०० कित्ता सेयर औसत मूल्य ४७४ रुपैयाँका दरले खरिद गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्र अनुसार ज्ञानेन्द्रलालले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट दिएको राजीनामा २०७८ भदौ १४ मा स्वीकृत भएको थियो भने २०७८ पुसमा बसेको संचालक समिति बैठकले निभितालाई संचालकमा नियुक्त गरेको निर्णय अनुमोदन गरेको थियो। कृष्ण सेक्युरिटिजमा निभिताको ग्राहक पहिचान फाराममा निजको पेशा विद्यार्थी उल्लेख गरिएको थियो।

सरकारी वकिल कार्यालयले ज्ञानेन्द्रलालको नाममा रहेको जग्गा, सवारीसाधन र सेयर जफत गर्न माग गरेको छ। उनको नाममा काभ्रेमा मात्रै २९ रोपनी १४ आना जग्गा देखिएको छ।

उनको नाममा मोदी इनर्जी लिमिटेडमा रहेको ७ लाख ५५ हजार र सुपर खुदी हाइड्रोपावरमा रहेको १६ लाख ४९ हजार २८३ कित्ता सेयर जफत गर्न माग गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एनएचडीएलमा भएको ‘इन्साइडर ट्रेडिङ’बारे अनुसन्धान गरी ज्ञानेन्द्रलाल तथा उनकी पत्नी र छोराछोरीविरुद्ध मुद्दा चलाउन रायसहित गत भदौ तेस्रो साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।