वर्षदिन गोप्य राखेर कार्यान्वयन गर्न लागिएको योजना, जसले खराब मौसममा पनि चल्नेछ भैरहवा विमानस्थल

वसन्तराज उप्रेती
२०८१ मंसिर २८ गते २१:३४ | Dec 13, 2024
वर्षदिन गोप्य राखेर कार्यान्वयन गर्न लागिएको योजना, जसले खराब मौसममा पनि चल्नेछ भैरहवा विमानस्थल

काठमाडौं। २०८० जेठ तेस्रो साता तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) सञ्चालनसम्बन्धी सहमति भयो।

Tata
GBIME
NLIC

सहमतिसँगै भैरहवा विमानस्थलमा खराब मौसमको समयमा पनि अन्तर्राष्ट्रिय उडान र अवतरण सम्भव हुने भन्दै नेपाल उत्साहित पनि बन्यो। तर, प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमति समेत लामो समयसम्म कार्यान्वयन आउन सकेन।

प्रधानमन्त्रीस्तरमा भएको सहमति कार्यान्वयनमा आउन दुई देशबीच प्राविधिक तहमा सम्झौता हुनुपर्ने थियो। तर, भारतीय पक्षले बेवास्ता गर्‍यो।

लामो गृहकार्यपछि भएको सहमति समेत कार्यान्वयनमा आउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ योजना तयार पार्‍यो। तर, त्यो योजनालाई ज्यादै गोप्य राखेर काम अघि बढाइयो। स्रोतका अनुसार योजनाबारे क्यानका महानिर्देशक प्रदीप अधिकारी र केही उच्च अधिकारी मात्र जानकार थिए।

आईएलएसलाई पनि धेरै हल्लाखल्ला गरेर विवादमा पारी कार्यान्वयनमा आउन नदिएको बुझेको क्यानले नयाँ योजना सार्वजनिक गर्न चाहेन। क्यानले अघि बढाएको योजना थियो-‘ भू-उपग्रह प्रणाली आरएनपीए-आर।’

यो प्रणालीलाई भैरहवा विमानस्थलमा जडान गर्न क्यानले केही रणनीतिक मुभ पनि गरेको थियो।

स्रोतका अनुसार हल्लाखल्ला कम होस् भनेर क्यानको हवाई व्यवस्थापन विभागका उपनिर्देशक राजेन्द्र सिंह नायकलाई फ्रान्समा एक महिनाका लागि तालिममा पठाइयो। तालिममा पठाउने विषय पनि अत्यन्तै गोप्य राखियो।

विदेशी कम्पनीलाई यो प्रविधि जडानका लागि आह्वान गर्दा हल्ला भएर कार्यान्वयनमा ल्याउन फेरि समस्या आउन सक्ने निष्कर्षमा क्यानभित्रबाटै जनशक्ति तयार पारेको स्रोतले बतायो।

फ्रान्सबाट फर्किएपछि नायकलाई नै भैरहवामा आरएनपीए-आरका लागि सबै प्रक्रिया अघि बढाउन महानिर्देशक अधिकारीले जिम्मा दिए। यो सबै योजनाले बिहीबार मूर्तरुप पायो। र, क्यानले यो प्रणाली जडानका लागि सूचना निकालेको छ।

अन्तर्राष्ट्रियस्तरमा सूचना जारी भएकाले जनवरी २३ अर्थात माघ १० बाट आरएनपीए-आर प्रणाली कार्यान्वयनमा आउने अधिकारीले बताए।

‘भैरहवामा भिजिबिलिटी कम भएको समस्या समाधान गर्न हामीले आरएनपीए-आर कार्यान्वयनमा ल्याउँदैछौं,’ उनले भने, ‘हवाई यातायात व्यवस्थापन विस्तारका लागि विदेशी कम्पनीलाई नै जिम्मा दिनुपर्छ भन्ने भाष्यको अन्त्य भएको छ। यो नेपालकै लागि कोशेढुंगा बनेको छ।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आईकाओ)ले प्रभावकारी हुने र कम लागत लाग्ने जनाउँदै विमानस्थलमा भू-उपग्रह प्रणालीलाई जोड दिँदै आएको छ।

उपनिर्देशक नायकका अनुसार आरनपीए-आर प्रणाली लागू हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मुलकको दोस्रो विमानस्थल हो। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपीए-आर जडान भइसकेको छ। जसअन्तर्गत अन्तर्राष्ट्रिय उडान गर्ने जहाजले ११०० मिटर भिजिबिलिटीमै जहाज अवतरण गर्न सक्छन्।   

सन् २००९ देखि नै क्यानले हवाई यातायात व्यवस्थापनका लागि विभिन्न योजना अगाडि बढाउँदै आएको थियो। त्यसबेला काठमाडौंमा कतार एयरवेजको अनुरोधमा एयरबसको तात्कालीन कोभार्डिस हालको ‘नेभभ्लु’ले आरएनपी-एआर कायम गरिदिएको थियो।

‘भैरहवामा आईएलएस विभिन्न कारणवस् लागू हुन सकेन। विकल्पका लागि आरएनपीए-आरलाई प्राथमिकता दिइएको हो,’ उपनिर्देशक नायकले भने।

यसअघि क्यानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणलाई फ्लाइट प्रोसिड्योर बनाउन दिएको थियो। तर आईकाओले बनाएको प्रोसिड्योर अनुसार जहाज उडान/अवतरण गर्दा भारतमा पर्ने भन्ने चर्चा चलेको थियो। पछि आईकाओलाई रिभाइज्ड गरिदिन अनुरोध गर्दा उसले मानेको थिएन।

क्यानका महानिर्देशक अधिकारीका अनुसार आरएनपीए-आर जडानमा प्राधिकरणकै कर्मचारी उपयोग गर्दा समय र पैसाको बचत हुन्छ। आफ्नै जनशक्ति परिचालन गर्दा कम्पनी छनोटका लागि लाग्ने महिनौं समय र प्रणाली जडानका लागि हुने दुईदेखि तीन करोड बच्ने उनको दाबी छ।