द कास्क सिरिज् : खुकुरी रमको वैश्विक यात्रा, जहाँ परम्परा र लक्जरीले हात मिलाउँछन्

भावना शर्मा
२०८१ मंसिर २८ गते ०९:०४ | Dec 13, 2024
द कास्क सिरिज् : खुकुरी रमको वैश्विक यात्रा, जहाँ परम्परा र लक्जरीले हात मिलाउँछन्
  • सबै बेहोसी नशा पिएर
  • बिना पिएरै बेहोस छु म

दिनहरु विस्तारै चिसिदैँछन्। माथिका हरफहरु गाउँदा शायद भक्तराज आचार्यले यस्तै कुनै ठण्डी याममा मदिरा पिएको कल्पना गर्दै गाएका पो थिए की!

Tata
GBIME
NLIC

मदिराका पारखीहरुका लागि १२ महिनामध्ये सबैभन्दा बढी ‘च्यालेन्जिङ’ भनिन्छ यो जाडो मौसम।

धेरै पुरानो समय पनि होइन ३/४ दशक अघिको नेपाली समाजको अध्ययन गर्ने हो भने पनि मदिरालाई ‘वर्जित पेय’ का रुपमा हेरिन्थ्यो भने मदिरा पिउनेहरुलाई हेर्ने दृष्टि हेयको थियो। कुनै जाति विशेषले मात्र पिउने पेय भनेर ‘लेबल’ लगाइएको थियो त्यस बखत।

तर, जति जति विश्व साँघुरिदै गयो, नेपाली समाज पनि मदिराको उपभोगप्रति उदार हुँदै गयो। त्यसताका केही दशकमै नेपाली समाजमा यसको परिभाषा र उपभोगको संस्कृति फेरिइसकेको छ। मदिरा अब समारोह वा उत्सवमा अनिवार्य पेय मानिन थालेको छ। दु:ख बिर्साउने मेसो, खुशी बाँड्ने मेलो हुँदै ‘सोसल ड्रिंक’ का रुपमा पनि यसका विविध मानक बनिसकेका छन्।

अझ भनौं मदिराको उपभोगलाई यसको ‘ब्राण्ड’, पिउने सर्कल र वर्गका आधारमा परिभाषित गर्न थालिएको छ। यसको बजार उपभोक्ताको आयको हिसाबले बनेको श्रेणीले तय गरेको छ। अब नेपाली समाजले मदिरा र मदिरा पिउनेहरुलाई पुरानो आँखाले हेर्दैन। स्वास्थ्यका हिसाबले ‘कन्सस भएर पिउने’, ‘ग्लोबल ट्रेन्ड’ पछ्याउने अनि ‘सोसल’ हुने जुनकुनै बाहनामा पनि घरेलु, स्वदेशी वा आयातित मदिरा पिउनेहरुले निस्फिक्री रमाउने माहौल नेपाली बजारमा स्थापित भइसकेको छ।  

मदिरा पारखीहरुमाझ विगत ६ दशकदेखि नबदलिएको उपभोगको एउटा ‘प्याट्रन’ पनि छ, त्यो हो रम। विविध उमेर समूह, विभिन्न आयस्तरका उपभोक्ता वा कुनै पनि मदिरा पारखीले रम भन्ने बित्तिकै ‘खुकुरी रम’ भन्ने नै बुझ्छन्।

खुकुरी रमको सुरुवातदेखि वर्तमानसम्म बुझाउन डिस्टिलरिजमा तयार पारिएको कोठा।

नेपाली बजारमा मात्र होइन आफ्नो विशिष्ठ पहिचान र गुणस्तरका कारण विदेशी बजारमा पनि उत्तिकै स्थापित ‘खुकुरी’ रमले अब ‘लग्जरी सेक्टर’मा पनि आफ्नो उपस्थिती जनाएको छ। हालै कम्पनीले बजारमा ल्याएको लिमिटेड सिरिजको कास्क रम त्यसैको पहिलो पाइला हो।

एक बोतलकै १० हजार रुपैयाँ पर्ने कास्क रम स्थानीय बजारमा सार्वजनिक हुनु अघि नै विदेशी बजारबाट पाएको प्रतिक्रियाबाट उत्पादक कम्पनी नेपाल डिस्टिलरिज् उत्साहित छ।

कास्क रमको पृथक विशेषता भनेकै यसमा कुनै कृत्रिम स्वाद मिसाउनुपर्दैन। काठकै प्राकृतिक स्वाद र त्यसलाई म्याचुअर गर्न अपनाइने प्रक्रियाका कारण कास्क रम यतिबेला विश्वभर नै ट्रेन्डिङमा छ।

ग्लोबल ट्रेन्डिङमा कास्क रम

एक महिनाअघि न्यूयोर्कमा भएको वर्ल्ड स्पिरिट कम्पिटिसनमा रमतर्फको विजेता बन्यो – मरिससमा उत्पादित सिंगल कास्क रम। योसँगै ग्लोबल लिकर इन्डस्ट्रीमा ‘कास्क’ रमले खास चर्चा बटुल्यो।

कास्क रम उसको विशेष एजिङ प्रोसेस र काठको प्राकृतिक स्वाद र त्यसमा निहित विशेष गुणका कारण लग्जरी रमको श्रेणीमा पर्दछ। वार्म भेनिला, क्यारामेल अनि स्मोकी तथा स्पाइसी स्वादहरुमा पाइने कास्क रम यसको सोफेस्टिकेटेड स्वादका लागि नै खास मानिन्छ।

कास्क रमको पृथक विशेषता भनेकै यसमा कुनै कृत्रिम स्वाद मिसाउनुपर्दैन। काठकै प्राकृतिक स्वाद र त्यसलाई म्याचुअर गर्न अपनाइने प्रक्रियाका कारण कास्क रम यतिबेला विश्वभर नै ट्रेन्डिङमा छ।

पुरानो अर्थात ‘एजिङ’ गरेको रम तथा प्रिमियम र लग्जरी रमप्रति ग्लोबल कन्ज्युमरको माग बढ्नुमा यसको पृथक स्वाद र कायम गरिएको गुणस्तर नै हो।

विश्वमा कास्क रम ट्रेन्डिङमा रहेकै बेला खुकुरी रम उत्पादन गर्दै आएको नेपाल डिस्टिलरिज्ले पनि कास्क सिरिजमा स्मोकी फ्लेवरको लिमिटेड एडिसन सार्वजनिक गरेको छ।

खुकुरी रमलाई वर्ष अनुसार छुटाएर राखिएको काठको भाँडा (कास्क)

कुनै पनि अल्कोहललाई म्याचुअर गर्नुपर्दा विशेष प्रजातिको र खास अल्टिच्यूडमा मात्र पाइने काठको भाँडा (कास्क)मा त्यसलाई लामो समयसम्म राखिन्छ। यो काठको भाँडा पनि दुई प्रकारको हुन्छ। एउटा काठको भाँडा जसमा ५०० लिटरसम्म अल्कोहल राखिन्छ त्यसलाई ‘ब्यारल’ भनिन्छ। अर्को त्यो भन्दा ठूलो ‘भ्याट’ हुन्छ। त्यसमा १२ हजार देखि २०-३० हजार लिटरसम्म मदिरा हुन्छ। 

रमलाई एजिङ गर्दा त्यस्तै प्रकारको विशेष भाँडामा राखेर तयार हुन्छ। रम बनाउँदा फरमेन्टेसन, डिस्टिलेसन, एजिङका विविध प्यारामिटर, काठको छनौट अनि सिजनिङ सबैमा उच्च गुणस्तर सुनिश्चित गरिएको हुन्छ। तापक्रम तथा आद्रता मिलाएर राख्ने अनि निरन्तर मोनिटरिङ गर्ने र बीच बीचमा यसको क्वालिटी टेस्टिङ भइरहन्छ। यसरी उत्पादित रमलाई अझ अपिलिङ र लग्जरी बनाउनका लागि लामो समय एक्सपेरिमेन्ट गर्दै त्यसमध्येबाट उच्च गुणस्तर मापन गरि छानिने रमहरु लग्जरी श्रेणीमा पर्दछन्।

नेपाल डिस्टिलरिजले पनि हाल कास्क सिरिजका लागि उच्चकोटीको रमको उत्पादन गरिरहेको कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए। हालैमात्र बजारमा आएको स्मोकी फ्लेबरको कास्क रम यो श्रृंखलाको सुरुवातमात्र भएको उनको भनाई छ। कम्पनीले हाल कास्क सिरिजकै विविध फ्लेबरहरुमा ‘एक्सपेरिमेन्ट’ गरिरहेको उनले बताए। 

एउटै किसिमको प्रिमियम रममात्र उत्पादन भइरहँदा र निर्यात गर्दा नयाँपन भएन भने एक समयमा त्यो स्याचुरेसनमा पुग्छ भन्ने लागेर नै हामीले लग्जरीतर्फ केही फरक गरेका हौं

नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछाने

खुकुरीको विरासतसँगै नयाँ सेग्मेन्टमा एग्रेसन

कोभिड-१९ महामारीपछिको सुस्त बजार ब्युताउँदै ‘एग्रेसिभ रि-इन्ट्री’ गरेको खुकुरी रमले समग्र घरेलु बजारमा बितेका दुई वर्षको खुम्चिएको व्यापारलाई फेरि तरंगित बनाउँदै कास्क सिरिज ल्याएको हो।

स्मोकी फिनिसिङको यो सिरिज लामो समयको एक्सपेरिमेन्टपछि आएको हो। लग्जरी सिरिजका रुपमा यो संस्करणलाई उत्पादक कम्पनी नेपाल डिस्टिलरीजले यसरी बजारमा उतारेको छ जसको ‘टेस्टिङ’ जो कोहीका लागि सहज देखिँदैन। किनकी ५ हजार २०० बोटलमात्र उत्पादन भएको यो रमका १ हजार ६०० वटा बोतलमात्र नेपालमा रहन्छ। बाँकी अन्तर्राष्ट्रिय बजारका लागि हो।

अन्तर्राष्ट्रिय बजारमा प्रिमियम र लग्जरी रमहरुप्रति उपभोक्ताको रुची बढ्दै गएकोले ग्लोबल ट्रेन्ड पछ्याउँदै कम्पनीले लग्जरी सिरिजका रुपमा कास्क संस्करण ल्याएको कम्पनीका महाप्रबन्धक लामिछाने बताउँछन्।

कास्क सिरिजलाई कम आंक्न मिल्दैन भन्ने त यसको मूल्य ले नै दर्शाउँछ। स्मोकी फिनिसिङको एक बोतल रमलाई १० हजार रुपैयाँ खर्चिनुपर्छ त्यो पनि सहजै किन्न पाइन्न। विदेशी बजारमा यसको ९० देखि १०० डलरसम्म पर्छ।

खुकुरीको लिमिटेड इडिसन कास्क रम

‘नेपाली बजारबाट लग्जरी रमका रुपमा हालसम्म निर्यात नभएको अवस्थामा हामीले यो सेक्टरमा पहिले हात हाल्यौं। एउटै किसिमको प्रिमियम रममात्र उत्पादन भइरहँदा र निर्यात गर्दा नयाँपन भएन भने एक समयमा त्यो स्याचुरेसनमा पुग्छ भन्ने लागेर नै हामीले लग्जरीतर्फ केही फरक गरेका हौं,’ उनले भने। 

कास्क सिरिजलाई कम आंक्न मिल्दैन भन्ने त यसको मूल्य ले नै दर्शाउँछ। स्मोकी फिनिसिङको एक बोतल रमलाई १० हजार रुपैयाँ खर्चिनुपर्छ त्यो पनि सहजै किन्न पाइन्न। बिदेशी बजारमा यसको ९० देखि १०० डलरसम्म पर्छ।

नेपालमा कम्पनीले यसको प्राइभेट सेल्सलाई नै प्राथमिकता दिएको छ। केही स्टार प्रोपर्टीहरु तथा १०/१२ वटा प्रिमियम आउटलेटमा मात्र यसको ‘डिस्प्ले’को तयारी गरिएको छ।

कास्क रम किन भयो खास?

कास्क सिरिजमा जति पनि रम उत्पादन भइरहेको छ त्यसलाई स-साना ५०० लिटरका विशेष प्रकारका कास्कमा राखेर म्याचुअर गरिएको हो। यो काठका भाँडाहरुको पनि विविध फ्लेबरहरु छन्। कम्पनीले यसका लागि कुनै पनि आर्टिफिसियल क्यारामेल र फ्लेबर प्रयोग गरेको छैन।  

कास्कका कुनै भाँडा भित्रबाट जलाइएको छ भने कुनै भेनिला फ्लेवरको छ। चार्ड,अनचार्ड, ओक वा सोरया रोबोस्टा कुन किसिमका कास्कहरुमा राखिने हो त्यसै अनुसारको फ्लेबर आउने कम्पनीकी ब्लेन्डर अनुषा खत्रीले जानकारी दिइन्।

कास्क रमबारे जानकारी दिँदै ब्लेन्डर अनुषा खत्री

डिस्टिल भएको अल्कोहल सोझै खाँदा अलिक हार्स महसुस हुन्छ तर कास्कमा राख्दा समयक्रमसँगै रमलाई यसले ‘स्मुद’ बनाउँछ। विस्तारै यसबाट अन्य किसिमका ‘डिजायर्ड प्रोपर्टी’ आउन थाल्छ।  कुनै काठबाट भ्यानिला फ्लेवर आउँछ भने कुनै काठको स्पाइसी फ्लेवर। अनि कास्कलाई भित्रबाट जलाउने विधि (चारिङ) गर्दा काठको डढेको गन्ध र स्वाद रममा पस्न थाल्छ। 

कुनै पनि काठमा सेलुलोजको केही मात्रा हुने हुँदा कास्क जलेपछि त्यो क्यारामेल बन्छ जसले वर्षौं लगाएर रमलाई एक प्रकारको ‘स्विटनेस’ दिन्छ। समयक्रममा ‘स्मुद’ बनाउँदै रममा विभिन्न स्वादका लेयरहरु थपिँदै जान्छ। स्मोकी, स्पाइसी, स्विटनेस थपिँदै जाँदा रम अझ बढी स्पेसल र स्मुद बन्दै जान्छ। 

हाल कम्पनीले बजारमा ल्याएको स्मोकी फ्लेबरको रमलाई उत्पादन गर्दा भने सोरया रोबोस्टा काठबाट बनेको कास्कलाई पहिले भित्रबाट जलाएर त्यसमा रम राखेर म्याचुअर गरिएको हो त्यसैले यसको ‘सोफेस्टिकेटेड स्मोकी’ फ्लेवर रहेको उनले बताइन्।

सुस्त अर्थतन्त्रको मार मनोरञ्जन क्षेत्रमा पर्दा र होटल रेष्टुरेन्टमा फुटफल कम हुँदै जाँदा समग्र मदिरा उद्योग प्रभावित भइरहेको छ। नेपाल डिस्टिलरिज्मा पनि यसको असर देखिएको महसुस भएपछि ब्यवस्थापनले आफ्नो रणनीति परिवर्तन गर्‍यो।

रमलाई म्याचुर बनाउन यस्तो कास्कमा राख्ने गरिन्छ।

उनका अनुसार यो सिपिङ रम हो। तातोपानीमा हालेर वा आइसमा राखेर वा थोरै पानी मिसाएर वा यसैपनि पिउन मिल्छ।

हाल कम्पनीले बिभिन्न प्रोफाइलहरुमा क्लाविटी र प्यारिमिटर राखेर बिबिध फ्लेवरका कास्क सिरिजहरु बनाइरहेको छ। यो श्रृंखला निरन्तर चलिरहने र आउने फ्लेवरहरु चाहीँ स्मोकी भन्दा फरक स्वादको हुने उनले जानकारी दिइन्। 

बजार झक्झक्याउने रणनीति

दुई वर्ष देखि नै नेपालमा मदिराको आन्तरिक बजारको व्यापार सुस्ताएको छ। सुस्त अर्थतन्त्रको मार मनोरञ्जन क्षेत्रमा पर्दा र होटल रेष्टुरेन्टमा फुटफल कम हुँदै जाँदा समग्र मदिरा उद्योग प्रभावित भइरहेको छ।  नेपाल डिस्टिलरिज्मा पनि यसको असर देखिएको महसुस भएपछि व्यवस्थापनले आफ्नो रणनीति परिवर्तन गर्‍यो।

महाप्रबन्धक लामिछाने भन्छन्, ‘इकोनोमी स्लो डाउन भएकाले बितेका दुई वर्ष समग्र रक्सीको उद्योग राम्रो भएन। आउटलेटहरुमा फुटफल कम छ रेष्टुरेन्टहरुमा जाने क्रम नै घटेको छ। रमकै बजारलाई नोटिसेबल घाटा भएन तर समग्र मदिरा उद्योग प्रभावित हुँदा असर त परिहाल्छ। पहिलो वर्ष २४/२५ प्रतिशत र पोहोर १०/१२ प्रतिशत नै बिक्री कम भएको आंकलन छ।’

आन्तरिक बजारमा माग घटेको समयमा कम्पनीले आफ्नो निर्यात बजारलाई एग्रेसिभ बनाउँदै लैजानै रणनीति लियो। घरेलु बजार सुस्ताएपछि निर्यातमा लक्षित कम्पनीले विगत दुई वर्षको यही समयमा निर्यात १० प्रतिशतले बढाइसकेको छ।

उसैपनि निर्यात बजारमा खुकुरी रमको ६ दशकको आफ्नै स्थापित वर्चश्व छ। नेपाली साँस्कृतिक चिनारी बोकेको खुकुरीको लोगो भएको यो रमलाई धेरै देशले प्रिमियम रमका रुपमा नै चिन्छन्। दायरा बढाउँदै नेपाल डिस्टिलरिजले यसलाई १३ देशहरुमा निर्यात विस्तार गर्‍यो।

जापान, यूरोप, अमेरिकामा त छँदै थियो नयाँ बजारका रुपमा यसले अन्य यूरोपेली देशहरु इटाली र नेदरल्याण्डलाई पनि समेट्यो। यूएइ र बहराइनको बजार थपिँदा मध्यपूर्वका अन्य धेरै उदाउँदा बजारहरुमा पनि यसले व्यापार बढायो। दुई महिनापछि यसले नयाँ बजारका रुपमा केही अफ्रिकी देशहरुमा पनि निर्यात गर्न लागेको महाप्रबन्धक लामिछानेले जानकारी दिए।

यो सिरिजलाई जापान लगायतका देशमा स-साना स्याम्पल लगेर टेस्टिङ गराइएको थियो। त्यसको उत्साहजनक फिडब्याक अनि रिसर्चले पनि विश्व बजारमा ‘माग छ’ भन्ने देखाएपछि कम्पनीले लग्जरी सेग्मेन्टमा हात हालेको हो।

सुभाष लामिछाने

‘रम इज द न्यू ह्विस्की

विश्भभर नै रमको बजार विस्तार भइरहेको छ। रमको बजारका सन्दर्भमा भएको एक अध्ययनका अनुसार सन् २०२३ मा रमको बजार १६.६४ अर्ब अमेरिकी डलर थियो भने सन् २०३२ सम्ममा यो २४.३२ अर्ब अमेरिकी डलर सम्म पुग्ने प्रक्षेपण गरिएको छ।

बेलायतमा भएको एक अध्ययन अनुसार सन् २०२१ मा बेलायतमा ह्विस्की भन्दा रमको बिक्री धेरै भएको रहेछ। भ्यालु टर्म्समै पहिलो पटक रमले ह्विस्कीको व्यापारलाई उछिनेपछि रमका उत्पादकहरु उत्साहित हुने नै भए। तुलनात्मक रुपमा ह्विस्की भन्दा सस्तो भनिने रमको बिक्री मूल्यकै आधारमा पनि ह्विस्की भन्दा बढी भएपछि बिस्तारै रम इज न्यू ह्विस्की हाबी हुँदै गएको देखिन्छ।

छिमेकी देश भारतमै हेर्ने हो भने पनि प्रिमियम रमप्रति उपभोक्ताको पहुँच बढिरहेको तथ्यांकले देखाउँछ। 

भारतको डेटाइन्टेलोले प्रकाशन गरेको पछिल्लो प्रतिवेदन अनुसार प्रिमियम र सुपर प्रिमियम स्पिरिटतर्फ उपभोक्ताको माग बढ्दो छ। यो वर्गका उपभोक्ताको आम्दानीमा भइरहेको वृद्धि तथा विश्वभर विस्तार भइरहेको ककटेल कल्चरले रमको बजारलाई बढाउन सघाइरहेको अध्ययनको निचोड हो। यसमध्ये पनि उल्लेख्य रुपमा रमको बजार बढ्नुको कारण भनेको उपभोक्ताको प्रिमियम र अल्ट्रा प्रिमियम उत्पादनप्रतिको प्राथमिकता बढ्नुलाई प्रमुख भनिएको छ।  

तथ्यांकमा रमको बजार। स्रोत : डेटाइन्टेलो

उपभोक्ताहरु आर्थिक रुपमा क्षमतावान बन्दै जाँदा उनीहरुको उच्च गुणस्तरका पुराना रमहरुप्रति ‘नोटिसेबल सिफ्ट’ देखिएको अध्ययनले देखाएको छ।

यो ट्रेन्ड ‘मिलेनियल’सँगै ‘जेन जी’ तर्फ पनि उत्तिकै बलियो भइरहेको छ जो पृथक र प्रिमियम चीजहरुमा खर्च गर्न लालायित भइरहेका हुन्छन्। क्राफ्ट ककटेलहरुको बढ्दो लोकप्रियताले पनि प्रिमियम रमहरुको माग बढ्दो छ।

विश्व बजारमा भएको यो अध्ययनले एसिया प्यासेफिक तथा ल्याटिन अमेरिकाका उदाउँदा र बजारहरुमा भैरहेको तीव्र आर्थिक वृद्धिका कारण  मिडल क्लास जमात यसतर्फ आकर्षित भइरहेका छन्।

उत्तर अमेरिका र युरोपका मानिसको स्थापित पिउने संस्कृति तथा उच्च आय वर्गका कारण रमको परम्परागत रुपमै बलियो बजार हो। यस्तै तीव्र रुपमा विकास भइरहेको एसिया प्यासेफिक क्षेत्रमा पनि बढ्दो शहरीकरण र मध्यम वर्गको विस्तारका कारण रमको बजार तीव्र विस्तार भइरहेको छ।

यस्तै, रमको ऐतिहासिक ‘ओरिजिन’ मानिने ल्याटिन अमेरिकामा पनि यसको माग बढ्दो छ। विशेष गरि ब्राजिल तथा मेक्सिकोमा यसको माग बढिरहेको देखिन्छ। मध्यपूर्व र अफ्रिकी देशहरुमा बजारको आकास सानो भएपनि बढ्दो पर्यटकीय गन्तब्यका कारण बिस्तारै यो ट्रेन्ड बढ्दै गरेको छ।

रम बजारको विश्लेषण। स्रोत : मोरडोर इन्टेलिजेन्स

नेपालले पनि त्यही चीजलाई ध्यानमा राखी लग्जरी र प्रिमियम उत्पादनहरु कसरी बनाउन सकिन्छ भनेर लाग्दा नयाँ प्रोडक्ट आएको नेपाल डिस्टिलरिजका महाप्रबन्धक लामिछाने बताउँछन्। 

उनका अनुसार पहिले यो सिरिजलाई जापान लगायतका देशमा स-साना स्याम्पल लगेर टेस्टिङ गराइएको थियो। त्यसको उत्साहजनक फिडब्याक अनि रिसर्चले पनि विश्व बजारमा ‘माग छ’ भन्ने देखाएपछि कम्पनीले लग्जरी सेग्मेन्टमा हात हालेको हो।

खुकुरी रमको विशेषता भनेकै यसको ब्लेन्डिङमा चाहिने ‘ह्युमन इन्टरभेन्सन’ हो।

नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछाने

उनका अनुसार कम्पनीले अरु  संस्करणहरु  पनि वर्षैपिच्छे वा डेढ वर्षमा आउने गरी तयारी गरिरहेको छ। 

लग्जरी लिकरमा ग्लोबल बन्दै खुकुरी

‘यो सिरिजलाई हामीले यति गुणस्तरीय बनाएका छौं कि ३० ब्यारल बनाउन ट्राइ गरेकोमा यसका प्यारामिटरहरु मिट गर्दा जम्मा १० वटा ब्यारल मात्र क्वालिफाइ भयो। सुरुवाती प्रक्रियादेखि नै यति धेरै सेलेक्सन र मापदण्ड तोकिएका हुन्छन् कि भनेजति उत्पादन हुनै सक्दैन,’ कास्क लिमिटेड एडिसन निकाल्दाका अनुभव महाप्रबन्धक लामिछानेले उत्साहित हुँदै सुनाए।

खुकुरी रमको विशेषता भनेकै यसको ब्लेन्डिङमा चाहिने ‘ह्युमन इन्टरभेन्सन’ हो।

कम्पनीको रम उत्पादन गर्ने कारखानामा आज पनि आगोको भट्टीमै क्यारामेल पकाइन्छ र ‘जर्किन’हरुमा  स्टोर गरिन्छ। दाउराको आगोमा ठूला भाँडाहरुमा दिनभर लगाएर पकाइने क्यारामेल र यसका अन्य धेरै समिश्रणहरु मानिसले नै तयार गर्ने हुँदा यसको ६ दशकदेखिको गुणस्तर एकनासको छ।

तर यो विधिबाट रम उत्पादन गर्दा पूर्ण रुपमा अटोमेसनमा जान नसकिने भएकाले उत्पादन कम हुन्छ। त्यसमाथि लिमिटेड एडिसनको त कुरै बेग्लै!

यसका लागि लामो समयदेखिको एक्सपेरिमेन्ट र विगत ३ वर्षदेखिको तयारी लाग्यो। बेला बेला बेलायतबाट आएर मास्टर ब्लेन्डरले यसमा एक्सपेरिमेन्ट गरिरहे। यहाँ रहेका अन्य ब्लेन्डरहरुले यसलाई नियमित रुपमा गुणस्तरका प्यारामिटरहरुलाई कायम राख्न काम गरिरहे।

कास्क सिरिजको यो रम उपभोक्ताको हातमा पुग्दा यो रमको प्याकेजिङ र प्रिजेन्टेसन साँच्चै नै लोभलाग्दो बनेको छ। ५२ सय बोटल रमको हरेक बोटलमा नम्बरिङ गरिएको छ। आकर्षक प्याकेजिङ र यसमा दिइएको डिटेलिङबाटै यो लग्जरियस फिल हुन्छ।

यो सिरिज कस्का लागि त?

‘जो इम्पोर्टेड सिंगल मल्ट खाइरहेको छ। त्यो वर्गले एडमायर गर्ने प्रोडक्ट भनेर निकालेको हौं हामीले यो सिरिज!,’ महाप्रबन्धक लामिछानेले भने, ‘यो हाम्रो लागि विदेशी बजारको परीक्षण पनि हो जहाँबाट निर्यातमा लग्जरी सेक्टरमा हाम्रो उपस्थिती सुरु भएको छ।’

खुकुरी रमको यात्राबारे बुझ्न चाहनेका लागि यो कोठा जहिलै खुल्ला छ।
खुकुरी रमको यात्राबारे बुझाउँदै लामिछाने