पावर हाउसको उत्पादन घट्न थालेसँगै लोड व्यवस्थापनमा प्राधिकरणलाई हम्मेहम्मे

जनक वली
२०८१ मंसिर २८ गते ०६:०७ | Dec 13, 2024
पावर हाउसको उत्पादन घट्न थालेसँगै लोड व्यवस्थापनमा प्राधिकरणलाई हम्मेहम्मे

काठमाडौं । जलविद्युत आयोजनाको उत्पादन घट्न थालेसँगै नेपाल विद्युत प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस परेको छ।

Tata
GBIME
NLIC

हिउँद लागेसँगै अघिकांश जलविद्युत आयोजनाको उत्पादन घट्न थालेको छ। मंसिरदेखि विद्युत उत्पादन घटेर अहिले १ हजार ४०० मेगावाटमा झरेको प्राधिकरणका लोड डिस्प्याचर सेन्टरका प्रमुख चन्दनकुमार घोषले बताए।

‘उत्पादन धेरै घटेको छ। पिक आवर माग बढिरहेको छ,’ घोषले भने, ‘माग धान्नका लागि अहिले नै भारतबाट आयात गर्नु परिरहेको छ। चैत बैशाखका बेला लोड व्यवस्थापन गर्न निक्कै समस्या पर्ने देखिन्छ।’

नेपालमा अघिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित छन्। जसका कारण हिउँदमा उत्पादन करिब एक तिहाइले घट्छ। अहिले आइपीपीको विद्युत उत्पादन करिब ८०० मेगावाटमा झरेको छ। प्राधिकरणका आयोजनाको ५०० मेगावाट र सहायक कम्पनीका आयोजनाबाट ८० मेगावाट हाराहारीमा बिजुली उत्पादन भइरहेको छ।

‘आइपीपीको बिजुली उत्पादन ८०० मेगावाटमा झरेको छ। अहिले प्राधिकरणका सहायक कम्पनीको उत्पादन ८० मेगावाटमा जति छ। त्यस बाहेक प्राधिकरणको पनि ५०० मेगावाट तल नै छ। कूल उत्पादन १४०० मा पुगेको छ,’ घोषले भने, ‘बिजुलीको माग पिक आवरमा १९०० मेगावाट पुगेको छ। यसपालि लोड व्यवस्थापन गर्न धेरै असहज छ।’  

यो वर्ष ढल्केबर-मुजफ्फपुर र महेन्द्रनगर- टनकपुरबा प्रसारण लाइनबाट ६५४ मेगावाट बिजुली आयातको भारतबाट अनुमति पाएको छ। बिहार र उत्तर प्रदेशबाट थप ६०० मेगावाट आयातको लागि अनुमति मागेको छ। तर, हालसम्म भारतले अनुमति दिएको छैन।

६५४ मेगावाट बिजुली आयातको अनुमति पाए पनि पिक आवरमा भने आयोत गर्न दिइएको छैन। प्राधिकरणले लोड व्यवस्थापन गर्ने दिउँसोको समयमा १५० देखि २०० मेगावाट बिजुली आयात गरिरहेको प्रवक्ता घोषले बताए।

यो वर्ष सुख्खायाममा उत्पादन १हजार १०० मेगावाटमा झर्ने अनुमान छ। जबकी त्यस समयको पिक आवरमा बिजुलीको माग २ हजार ४०० मेगावाट पुग्ने अनुमान छ। गत वर्ष पिक आवर डिमान्ड २ हजार २५० देखि २ हजार ३०० मेगावाटसम्म थियो।

तर, यस वर्ष असोज १० मा आएको बाढी पहिरोको कारण प्राधिकरणका सहायक कम्पनीको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी ठप्प छ। जसले गर्दा पनि प्राधिकरणलाई माग अनुसार बिजुली आपूर्तिमा गर्न अप्ठारो परेको हो।

गत वर्ष माथिल्लो तामाकोशी संचालनमा थियो। त्यस बेलामा यो आयोजनालाई पिकिङ गरेर पिक आवरमा चलाउने गरिन्थ्यो।

चिसो बढेसँगै बिजुलीको माग पनि बढ्छ। यद्यपि, अहिले पिक आवरमै करिब २५० देखि २८० मेगावाट बिजुली कटौती भइरहेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका एक कर्मचारीले बताए।

‘चिसो बढ्यो भने हाम्रो माग पनि बढ्छ। अहिलसम्मको पिक आवर डिमाण्ड २ हजार ४०० प्रक्षेपण गरिएको छ। माग बढेर कति पुग्छ भन्ने निश्चित छैन। तामाकोशी पीओआर आयोजना भएका कारण हाम्रा लागि महत्वपूर्ण आयोजना हो। अहिले ठप्प छ। पुसमै संचालनमा ल्याउन तयारी भइरहेको छ। उक्त समयमा संचालनमा आएन भने लोड व्यवस्थापन गर्न चुनौती हुन्छ,’ ती अधिकृतले भने।

चिसो बढेमा इलेक्ट्रिक सामानको प्रयोग बढ्ने भएकाले विद्युतको माग उच्च हुने र क्षमताभन्दा बढी माग हुँदा ट्रान्सफर्मर पड्किने जस्ता समस्या पनि देखिने गरेको ती अधिकृतले बताए। यो समस्या समाधान गर्न पनि प्राधिकरण लागिरहेको उनको दाबी छ।