खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान नरोकिने, क्यानले भन्यो- निकुञ्ज कार्यालयलाई रोक लगाउने अधिकार छैन

वसन्तराज उप्रेती
२०८१ मंसिर २७ गते १८:२४ | Dec 12, 2024
खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान नरोकिने, क्यानले भन्यो- निकुञ्ज कार्यालयलाई रोक लगाउने अधिकार छैन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाउँदै हेलिकोप्टर कम्पनीलाई नियमित रुपमा उडान गर्न निर्देशन दिएको छ।

Tata
GBIME
NLIC

क्यानका महानिर्देशक प्रदीप अधिकारीले निकुञ्ज कार्यालयले क्षेत्राधिकार बाहिर गएर निर्णय गरेको भन्दै हेलिकोप्टर कम्पनी सञ्चालकहरुलाई निर्वाधरुपमा सेवा सञ्चालन गर्न भनेका हुन्।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले वन, वातावरण तथा वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको, मानव वस्तीमा ध्वनि प्रदूषण भएको, आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेको र खुम्बु क्षेत्रको व्यापार व्यवसायमा नकारात्मक असर परेको कारण देखाएर निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकोप्टर उडानमा रोक लगाउने निर्णय गरेको थियो।

निकुञ्ज कार्यालयको यो निर्णयपछि हेलिकोप्टर कम्पनीका सञ्चालक बिहिबार अपराह्न क्यानका महानिर्देशक अधिकारीलाई भेट्न पुगेका थिए।

अधिकारीले हेलिकोप्टर कम्पनी सञ्चालकलाई उडान गर्ने दिने/नदिने निर्णय गर्ने अधिकार क्यानमा मात्र निहित रहेको भन्दै निकुञ्ज कार्यालयको निर्देशन कार्यान्वयन नहुने बताए।

‘उडानमा रोक लगाउने अधिकार क्यानसँग मात्र छ। अरु निकायले यस सम्बन्धी निर्णय गर्न पाउँदैनन्। त्यसैले निर्धक्क भएर उडान सेवालाई निरन्तरता दिए हुन्छ,’ उनले भने, ‘उडानमा कहिंकतैबाट अवरोध भयो भने क्यानले कारबाही प्रक्रिया अगाडि बढाउँछ।’

निकुञ्ज कार्यालयको निर्णय कार्यान्वयन हुँदा हेलिकोप्टर कम्पनीहरुको व्यवसायमा असर गर्छ। उनीहरुले पर्यटक ओसार्ने मुख्य थलो नै सगरमाथा क्षेत्र हो।

क्यानका महानिर्देशक अधिकारीले हेलिकोप्टरको उडान अवतरण क्यानको क्षेत्राधिकारभित्र पर्ने भएकाले निकुञ्ज कार्यालयको निर्णय मान्नुपर्ने कारण नै नरहेको बताए।

‘हेलिकोप्टर उडानको मामिला केन्द्र सरकार त्यसमा पनि क्यान अन्तर्गत पर्छ। यहाँ कुनै गाउँपालिका, राष्ट्रिय निकुञ्ज कार्यालय वा व्यक्तिको निर्देशनमा उडान बन्द हुँदैन,’ उनले हेलिकोप्टर सञ्चालकहरुलाई भने, ‘तपाईँहरु हवाई सुरक्षा मापदण्डमा रहेर उडान गर्नुहोस्। कुनै वाधा अवरोध भए हामीलाई भन्नुहोला। ‘

अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पाले निकुञ्ज कार्यालयको निर्णयबाट आफूहरु चकित भएको बताए।

‘सगरमाथा क्षेत्रमा जाने मुख्य साधन भनेकै हेलिकोप्‍टर हो। पर्यटकलाई हामीले हेलिकोप्टरमा घुमाउने भनेकै सगरमाथा निकञ्ज क्षेत्र हो। तर त्यो क्षेत्रमा उडानमा रोक लगाउने निर्णयबाट हामी चकित भएका छौं। त्यही कारण हामी उडानमा रोक लगाउने निर्णय गलत भयो भन्न क्यानमा आएका हौं,’ शेर्पाले भने, ‘हेलिकोप्टरका कारण वन, वातावरण तथा वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको, आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेको कुरा सबै गलत हुन्।’

हेलिकोप्टर उडानबापत राष्ट्रिय निकुञ्ज कार्यालय र त्यस क्षेत्रलाई समेट्ने स्थानीय तहले रोयल्टी पाउँदै आएका छन्।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णय कार्यान्वयन हुने अवस्थामा हेलिकोप्टर कम्पनी नै बन्द गर्नुपर्ने अर्का सञ्चालकले बताए।

‘पर्यटकहरुलाई हामीले घुमाउने भनेकै हिमालका साथै निकुञ्ज र आरक्ष क्षेत्र हो। हिमाल भएको ठाउँ निकुञ्ज र आरक्षमै पर्छ। त्यस्तो क्षेत्रले देशको २० प्रतिशभन्दा बढी भाग ओगटेको छ,’ ती व्यवसायीले भने, ‘सगरमाथा निकुञ्ज कार्यालयले जस्ती निर्णय अरु कार्यालयले पनि गरे हेलिकोप्टर व्यवसाय के होला? त्यसैले अन्धाधुन्धरुपमा निर्णय गरिनुभएन।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा हाल १२ वटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र शिकार आरक्ष १/१, सरंक्षण क्षेत्र ६ वटा तथा मध्यवर्ती  क्षेत्र १३ वटा छन् र तिनले २३.३९ प्रतिशत भूभाग ओगटेका छन्।