काठमाडौं। सेयर बजार सूचक २७०० को आसपास घुमेको धेरै भइसक्यो। ३२०० अंकबाट तल ओर्लिएको बजारमा अर्को ‘बुल’ आउँछ भन्ने लगानीकर्ताले आशा गरेको धेरै भइसक्यो।
लगानीकर्ताको आशा आधारहीन भने छैन।
कुनै समय थियो, जब सेयर बजारको उतारचढावलाई बैंकिङ प्रणालीको तरलता र ब्याजदरले गहिरो प्रभाव पार्थ्यो। त्यही कारण लगानीकर्ता अर्को बुल आउँछ भन्ने आशामा छन्। तर, आज स्थिति फेरिएको छ। ब्याजदर निरन्तर घटिरहेको छ, बैंकिङ प्रणालीमा तरलता पनि प्रशस्त छ। तर सेयर बजार भने उँभो लाग्ने सुरसार कस्दैन।
दशकभन्दा बढी अवधिदेखि स्टक ब्रोकरका रुपमा काम गरिरहेका दिनेश सापकोटालाई पनि पहिले त्यस्तै लाग्थ्यो- ब्याज र तरलताले सेयर सूचकलाई प्रभावित पार्छ। उनको पुरानो मान्यता अहिले संशोधन भएको छ।
‘कम्पनीहरूको प्रदर्शन पनि महत्वपूर्ण हुने रहेछ,’ उनले बिजमाण्डूसँग भने, ‘अर्थतन्त्र सुस्त हुँदा कम्पनीहरूको नाफा घटिरहेको छ, लाभांश बाँड्ने क्षमता कमजोर भएको छ। यसले सेयर बजारमा लगानीकर्ताको उत्साहलाई घटाइदिएको छ।’
पछिल्लो दुई वर्षयता बैंकहरूमा ऋणको माग कमजोर छ। नयाँ लगानी प्रवाह हुन नसक्दा बैंकमा तरलता थुप्रिएको छ। ऋणसँगै आर्थिक गतिविधि पनि खुम्चिएको छ। त्यही कारण सेयर बजारले अपेक्षित गति लिन सकेको छैन।
‘लगानीकर्ताले अब कम्पनीहरूको परफर्मेन्सलाई मुख्य मानकका रूपमा हेर्न थालेका छन्। एउटा/दुईवटा कम्पनीको कुरा होइन, समग्र बजारको कुरा गर्दा कम्पनीको पर्फर्मेन्सले समग्र सूचक कता जाने भन्ने निर्धारण हुन थालेको छ,’ उनले भने।
पछिल्लो दुई वर्षमा आर्थिक गतिविधि उल्लेखनीय रूपमा घटेका छन्। देशको जीडीपी वृद्धिदर नै औसतभन्दा निक्कै तल छ। अर्थतन्त्रलाई गति दिने निर्माण क्षेत्रको वृद्धि ऋणात्मक भएको छ। धेरै उद्योग आफ्नो कुल क्षमताको केवल ४० प्रतिशतमा सीमित छन्।
आन्तरिक उत्पादन र माग दुवै कमजोर छन्। सरकारले बजेट खर्च बढाउन नसक्दा पूर्वाधार र विकासका गतिविधि ठप्पजस्तै भएका छन्।
यही परिस्थितिमा निजी क्षेत्र जोखिम लिन तयार छैन। उद्योगधन्दा र व्यापार व्यवसाय थुप्रै समस्यामा छन्। बैंकहरूले दिएको ऋण समयमै असुल गर्न नसक्दा ऋणीहरूको सम्पत्ति लिलामीमा चढ्ने क्रम बढेको छ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पङ्गेनीका अनुसार, आर्थिक पुनरुत्थानविना एउटा मात्र क्षेत्रको वृद्धि हुन्छ भन्ने ठान्नु नै गलत भएको बताउँछन्।
‘जबसम्म उद्योगहरू उत्पादन क्षमतामा फर्किंदैनन्, आन्तरिक माग बढ्दैन र नाफाको दर सुधार हुँदैन, तबसम्म सेयर बजारमा उत्साह आउन कठिन देखिन्छ,’ उनले भने।
राष्ट्र बैंकले ब्याजदर घटाएर आर्थिक चक्रलाई गति दिने प्रयास गरेको छ। उसले सेयर बजार उकालो लाग्दा त्यसलाई रोक्न चालेका नीतिगत कदमहरु उल्ट्याइसकेको छ। ती केहीले पनि अहिले काम गरेको छैन।
‘आर्थिक गतिविधिमा पुनः जागरण ल्याउन ठोस नीतिगत कदमहरू आवश्यक छन्। हामीले समग्र अर्थतन्त्र सुधार गर्यौं भने सेयर बजार त्यसैभित्रको एउटा अङ्ग हो। बढिहाल्छ,’ पङ्गेनीले भने।
सम्बन्धित सुचिकृत कम्पनीको पर्फर्मेन्सलाई अर्थतन्त्रका बाँकी सूचकले गाइड गर्छ। अर्थतन्त्र नै समस्यामा भएकाले कम्पनीहरुको वासलात बढ्न सकेको छैन। बैंकहरुले पहिले नै दिएको ऋण उठाउन पनि समस्या भइरहेको छ।
यसको अर्थ हो अर्थतन्त्रको साइकल घुमाउने धेरै क्षेत्र प्रभावित भएर सूचीकृत कम्पनीहरुको पर्फर्मेन्स कमजोर भएको छ।
‘ब्याज मात्र घटेर वा तरलता मात्र भएर मात्र सेयर बजार नबढ्ने रहेछ,’ सापकोटा भन्छन्, ‘पहिले कम्पनीहरुको पर्फर्मेन्स वा उनीहरुको लाभांश दरलाई गौण मानिन्थ्यो तर अहिले सेयर बजारका लागि त्यही महत्वपूर्ण रहेछ भन्ने देखिएको छ।’