काठमाडौं। काठमाडौं गुर्खाजले जनकपुर रोयल्ससामू १०२ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको हो।
इनिङ्सको तेस्रो ओभरबाट जनकपुरले सफलता हात पारेको थियो। २.३ ओभरमा ८ रन बनाएका माइकल लेभिटलाई किशोर महतोले मोहम्मद मोसिनबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए।
दोस्रो विकेट मोहम्मद मोसिनले लिए। उनले ५.५ ओभरमा ४ रन बनाएका भीम सार्कीलाई अनिल कुमार साहबाट क्याचआउट गराए।
तेस्रो विकेटका रुपमा १७ रन बनाएका ओपनर स्टेफेन एसकिनाजीलाई ललितपुर एलबीडब्लु आउट गराए।
चौथो नम्बरमा ब्याटिङमा आएका नामिबियन कप्तान गेहर्राड इरासम्सले इनिङ्स उकास्न संघर्ष गरिरहँदा सुमित महर्जन शुन्य, राशिद खान ७, डन डाउटवेथ १ र प्रतीक श्रेष्ठ ६ रन बनाएर आउट भए।
१५.३ ओभरमा सर्वाधिक २० रन बनाएर इरास्मस आउट हुँदा काठमाडौं ७४-८ को अफ्ठ्यारो अवस्थामा पुगिसकेको थियो।
काठमाडौंको स्कोर माथि लैजान दोस्रो ठूलो योगदान करण केसीको रह्यो। उनले १३ बलमा १९ रन बनाउँदै शेर मल्लको बलमा आउट भए। त्यस्तै शहाब आलम ८ रनमा अविजित रहे।
बलिङतर्फ ३ विकेट लिँदै जनकपुरमा ललितनारायण राजवंशी सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा उक्लिएका छन्। उनले काठमाडौंसहित पोखरा एभेन्जर्स र विराटनगर किंग्सविरुद्ध समान ३ विकेट लिँदा लुम्बिनी लायन्स र कर्णाली याक्सविरुद्ध सामान १ विकेट लिएका थिए।
राजवंशीले सर्वाधिक ३ विकेट लिँदा शेर मल्लले पनि ३ विकेट लिए।
त्यस्तै मोहम्मद मोसिनले २ तथा अरनिको यादव र किशोर महतोले समान १ विकेट लिए।
जनकपुर जवाफी ब्याटिङमा उत्रिएको छ।